मनपरी र दादागिरीमै चल्छ यातायात क्षेत्र

नियम कानूनहरु फितलो हुनु र भएका नियमकानूनहरु पनि शक्तिशाली वर्गले आफू अनुकूल प्रयोग गर्ने परिपाटी भएका कारण नेपालमा सर्वसाधारण नागरिकहरुले यातायात क्षेत्रमा पनि निरन्तर पीडा भोग्नुपरेको छ । शक्ति प्रयोग गर्नैपर्ने र नभए चल्नै नसक्ने क्षेत्र यातायात बनेको कुरा आज जोकसैलाई पनि स्पष्ट थाहा छ । देशभर जस्तै सल्यानको सन्दर्भमा पनि आज त्यस्तै छ । नागरिकहरु समेत पनि दुइधार भएको अवस्था छ । एकथरी मानिसहरु गलत काम र अन्याय कसैले पनि गर्नुहुदैन भन्नेमा सहमत छन् र अर्कोथरी मानिसहरु जे गरेर लाभ लिन सकिन्छ, वा पैंसा कमाउन सकिन्छ, त्यसै गर्नुपर्छ भन्ने बुझाइमा छन् ।

यात्रुहरु पनि सवै एकनासका हुँदैनन्, कतिपयले यातायातक्षेत्रमा लाग्नेहरुलाई हेपेरै बोल्ने र व्यवहार गर्ने गर्दछन् । त्यस प्रकारको पीडा यातायात क्षेत्रमा लाग्नेहरुको पनि छ । तर तुलनात्मकरुपमा यात्रुहरु नै बढि पीडित बनेका छन् । पैंसा कमाउने भन्दैमा सामानको भाडा मनपरी असुल्ने, अगाडि नै पुगेर यात्रुहरु बटुल्नको लागि गाडिमा चढेका यात्रुहरुलाई भनेको ठाउँमा नझारीदिने, दिशापिसावको लागि समयमा नरोकिदिने, फिर्ता दिनुपर्ने रकम समयमा फिर्ता नदिने र अन्तमा यात्रुले भुलेमा त्यो पैंसा नै पच बनाउने जस्ता घटनाहरु सामान्य भएका छन् । त्यसैगरी युवतीहरु भेटदा नजिकै बसाउन खोज्ने र अन्य बुढापाका वा समस्यामा रहेकाहरुलाई नरोकिदिने, मदिरा सेवन गर्ने र असुरक्षित तरिकाले हाँक्ने जस्ता कुराहरु पनि धेरैका लागि सामान्य हुन्छन् । कतिपय अवस्थामा एउटा चिठी बोक्नुपरेमा २ सय भन्दा बढि पैंसा माग्ने, बोल्दा मनपरी र अश्लिल शव्दहरु प्रयोग गर्ने जस्ता कारणले पनि यातायात क्षेत्रलाई कतिपयले सम्मानीत पेशा नभएको महशुस गर्छन् । त्यति मात्रै पनि होईन, क्षमता भन्दा बढि यात्रु कोच्ने, गाडि भरिएको भएता पनि निरन्तर बाहिरबाट खाँदेको खाँद्यै गर्ने, यात्रुले केहि गुनासो गरेमा नसुन्ने जस्ता समस्याहरु पटक पटक देखा परेका छन् । खानाको लागि यात्रुहरुलाई महंगो होटेलमा पु¥याईदिने, गाडिस्टाफको लागि फरक र यात्रुको लागि फरक खानाको व्यवस्था गर्ने गरेका कैयौं उदाहरण छन् । यसरी यात्रुहरुलाई खाए खाउ नखाए घिचको अवस्थामा पु¥याएपछि बाद्य भएर खान्छन् या भोकै बस्ने गरेका पनि कैयौं उदाहरण छन् । यात्रुलाई सुविधा दिनुपर्छ भन्ने सोच खासै देखिदैन ।

तर जम्मै त्यस्तै छन् भन्न पनि खोजिएको होईन ता पनि सवै कुराहरु विश्लेषण गर्दा बाहुल्यता त्यस्तैको देखिएको छ । कतिपयले मान्छे अनुसार भाडा असुल्ने गर्छन् । थाहा नपाउनेलाई बढि असुलेका पनि धेरै उदाहरण छन् । कुरा बसको मात्रै पनि होईन, हिजो आज भर्खर भर्खर चल्ने गरेको टेम्पोको समेत अवस्था त्यस्तै छ । श्रीनगर बजारबाट खलंगा जाँदा बसमा ३५ देखि ४० भाडा लिने गरेको भेटिन्छ भने टेम्पोको भाडा ६० रुपैंया लिने गरिएको छ । तर श्रीनगरबाट जिल्ला अस्पत्ताल पुग्दा टेम्पोमा रु. ५० लिने गरिन्छ र खलंगाबाट जिल्ला अस्पत्ताल झर्नुपर्दा रु.३० लिने गरिएको छ । जसरी भएपनि पैंसा कमाउनुपर्छ भन्ने सोचका कारण ६० रुपैंया भाडा पर्ने ठाउँमा ८० पर्ने गरेको छ । यो त एउटा उदाहरण मात्र हो । यस्ता अनगिन्ती उदाहरण छन्, जसलाई नागरिकहरुले सहन बाद्य छन् र सुन्ने निकायले पनि गुनासो गरेको वखत केहि कारबाही गर्ने प्रयत्न गरेपनि अरुवेला नदेखेझैं गर्नुको विकल्प छैन । कतिपय अवस्थामा त गाडिस्टाफबाट सर्वसाधारणहरु कुटिनुपर्ने अवस्थामा छ । गाडि मालिकहरु नै पैंसा खर्च गर्न सक्ने र सवै शक्तिलाई आफ्नो पक्षमा पार्न सक्ने भएका कारण नागरिकहरु निरीह बन्नुको विकल्प छैन । अतः नेपालको यातायात क्षेत्र अपवादबाहेक मनपरी र दादागिरीमै चलेको छ । यसको कमजोरी राज्य व्यवस्थाको नै हो । कमजोर राज्य व्यवस्थामा यसखालका गतिविधिहरु निकै मौलाउने गर्दछन् । यसप्रकारको गतिविधिप्रति असहमति वा असन्तुष्ट व्यक्त गर्नेहरुलाई समेत एक्ल्याउने अवस्था हाम्रो देशको रहेको छ । अतः आम नागरिकहरु गलत कुराहरुको प्रतिवाद गर्न नसक्ने हुँदासम्म यी र यस्ता विकृतिहरु चलिनैरहेने छन् । सर्वसाधारण नागरिकहरु सहेर बस्नुको विकल्प देखिदैन ।

प्रतिक्रिया दिनुहोस

<