अवस्था सहज भएपछि करदाता शिक्षा कार्यक्रम सञ्चालन गर्नेछौं: कर अधिकृत खडानन्द खरेल


सल्यान, २४ साउन ।
सल्यानमा करदाता सेवा कार्यालय सञ्चालन भएको छ । यसले कुन कुन सेवाहरु कसरी प्रवाह गरिरहेको छ भन्ने लगायतका कुराहरु यस अंकमा प्रस्तुत गरेका छौं ।

कर अधिकृत खडानन्द खरेल संगको कुराकानी
(प्रश्नोत्तर) यस्तो छ ।

प्रश्नः सल्यानमा कार्यालय र कामकाजहरु कहिलेदेखि सञ्चालनमा आयो ?

उत्तरः सल्यानमा २०७६ साल फागुन २२ गते कार्यालयका लागि घरभाडा सम्झौता गरिएको थियो । तर सञ्चालनका लागि आवश्यक सामग्रीहरु व्यवस्थापन गर्ने क्रममै कोरोना महामारीले ठूलो रुप लिन थालेपछि कामकाज अगाडि बढ्न सकेन । चैत्र ११ देखि लकडाउन नै सुरु भएपछि त झन केही काम हुन सकेन र सेवा प्रवाहमा ढिलाई भएको हो ।

प्रश्नः अनि कहिलेदेखि नियमित कामकाज सुरु भयो त ?

उत्तरः नयाँ आर्थिक वर्ष सुरु भएपछि भनौं, यहि श्रावन १ देखि कामकाज शुरु गरियो ।

प्रश्नः यस कार्यालयबाट कुन कुन जिल्लाका सेवाग्राहीले सेवा लिन सक्नेछन् ?

उत्तरः यस कार्यालयबाट पूर्वि रुकुम, पश्चिम रुकुम र सल्यानका सेवाग्राहीले सेवा लिन सक्नेछन् ।

प्रश्नः रुकुमबाट पनि आउनथाले सेवाग्राहीहरु ?

उत्तरः हो रुकुमबाट पनि आईरहेका छन् ।

प्रश्नः यहाँबाट के के सेवाहरु प्रवाह भईरहेको छ ?

उत्तरः यहाँबाट प्रवाह हुने सेवाहरुमा स्थायी लेखा नम्बर प्रदान गर्ने, आयविवरण दर्ता गर्ने, मूल्य अभिबृद्धि करमा दर्ता गर्ने, मूल्य अभिबृद्धि कर विवरण दर्ता गर्ने, अन्तःशुल्क इजाजत पत्र प्रदान गर्ने, अन्तःशुल्क इजाजत पत्र नविकरण गर्ने, कर जम्मा गर्ने, कर चुक्त प्रमाणपत्र दिने, पान कार्डमा भएका विवरणहरु संसोधन गर्ने लगायतका रहेका छन् ।

प्रश्नः सर्वसाधारणहरुलाई भ्याट विवरण, पान नं. लगायतका कुराहरुबारे स्पष्ट जानकारी हुने गरेको पाईदैन । केही स्पष्ट पारिदिनुहुन्छ कि ?

उत्तरः व्यबसाय गर्नेहरुले पान नं. अनिवार्य लिनुपर्ने हुन्छ । सवै व्यवसायीहरु करमा आवद्ध हुुुनुपर्छ । तर फर्मको प्रकृति र कारोबारोको आधारमा भ्याट वा मूल्य अभिबृद्धि करमा जानुपर्ने वा नपर्ने हुन सक्छ ।

जस्तै निर्माण व्यबसायीहरु, इलेक्ट्रोनिक कारोवार गर्नेहरु लगायतका केहि व्यबसायीहरु अनिवार्यरुपमा मुल्यअभिबृद्धिकरमा जानुुपर्ने हुन्छ । तर कृषि तथा पशुपालनमा आधारित फर्महरुलाई ठुलै कारोबार भएपनि मूल्यअभिबृद्धिकरमा जानुनपर्ने व्यवस्था छ ।

प्रश्नः जिल्लामा कर सम्बन्धिको अनुगमन गर्ने निकाय कुन हो ?

उत्तरः करसम्बन्धिको वारेमा करदाता सेवा कार्यालयको मुख्य जिम्मेवारी हुन आउछ भने कतिपय करहरु स्थानीय सरकारको जिम्मामा हुन्छ । जस्तो कि घरभाडा कर स्थानीय सरकारकै जिम्मामा पर्छ ।

प्रश्नः सल्यानमा करदाता सेवा कार्यालय स्थापना भएपछि अब सवै प्रकारको कर यहिबाटै असुली हुने हो ?

उत्तरः माथि उल्लेखित सेवाहरुको लागि अब अन्यत्र जानुपर्दैन ।

प्रश्नः यसको मतलब यी सेवाहरुको लागि रुकुमका जनता पनि दाङ जानुपर्दैन ?

उत्तरः हो अव पूर्वी र पश्चिम दुवै रुकुम जिल्लाका लागि समेत उल्लेखित सेवाहरु यहिबाटै उपलब्ध गराईने छ ।

प्रश्नः दिनहु सरदर कतिले सेवा लिईरहेका छन् ?

उत्तरः सुरुका दिनहरुमा खासै सेवाग्राहीहरु आएनन्, तर केहि दिनयता सेवाग्राहीहरुको चाप बढेको छ । अहिलेसम्म १५०० बढिले सेवा लिईसकेका छन् । पछिल्लो समय दिनमै सयभन्दा बढीले सेवा लिने गरेका छन् ।

प्रश्नः रुकुमसमेतबाट आउनुपर्ने भन्दाखेरी त त्यहाँका सेवाग्राहीहरुलाई कठिन नै रहेछ । तपाईको कार्यालयबाट घुम्तिसेवा पनि दिनसक्ने अवस्था हो कि ?

उत्तरः अहिले यहाँको जनशक्तिले धान्न सक्ने अवस्था छैन । ६ जनाको दरबन्दी भएकोमा अहिले जम्मा ३ जनाले काम गरिरहेका छौं । स्थायी कर्मचारी म मात्रै हु, करारमा २ जना कर्मचारी हुनुुहुन्छ ।

त्यसैले जनशक्तिले भ्याएपछि घुम्तिसेवा दिन सकिन्थ्यो तर अहिलेको अवस्थामा सम्भव छैन । हामी फिल्डमा गएपछि कार्यालयमा काम गर्ने कर्मचारी नै हुदैन ।

त्यसैले अहिले घुम्तिसेवा दिन सकिदैन । केन्द्रले नै थप जनशक्ति खटायो भने हुन सक्छ ।

प्रश्नः अहिले पनि कर सम्बन्धी धेरै कुराहरुको बारेमा नागरिकलाई जानकारी छैन । करदाता शिक्षा वा कार्यक्रमहरु केही गर्न सक्ने अवस्था छ कि छैन ?
उत्तरः करदाता शिक्षा दिने वा करसम्बन्धीका कुराहरुबारे जानकारी दिनेबारेमा हामीले सोचिरहेका छौं, तर अहिले अँझै पनि कोरोनाको प्रभावका कारण कार्यक्रमकै रुपमा अगाडि बढाउन सक्ने अवस्था बनिसकेको छैन ।

बरु कर कार्यालयमा आएकै सेवाग्राहीहरुलाई केहि जानकारी दिदै पठाउने सोच समेत राखेका छौं, के कति सम्भव हुन्छ, हामी गर्नेछौं ।

प्रश्नः अहिले राजश्वमा छुटको कुरा छ, कोरोनाको प्रभावकै कारण हो कि ?

उत्तरः हो, एउटा मूख्य कारण त्यही नै हो, तर अर्को कुरा करको दायरा विस्तार गर्न पनि हो । आ.ब.२०७३÷०७४ देखि कर नतिरेकालाई छुटसहित करमा समावेश गराउने उदेश्य हो ।

तर त्यसभन्दा पहिले दर्ता भएकाहरुलाई आ.ब.०७३÷०७४ भन्दा पहिलेको कर छुट गरेको अवस्था पनि हो । यसरी लामो समयदेखि करको दायरामा नआएकाहरुलाई समेटना पनि यो कुरा आएको हो ।

प्रश्नः अहिले राजश्व के कति छुट गरिएको छ ?

उत्तरः अहिले सेवाग्राहीहरुलाई राजश्वमा धेरै छुट गरिएको छ । फर्मको प्रकृति अनुसार र दर्ता भएको स्थान अनुसार र कारोबारोको मात्रा अनुसार यसको निर्धारण हुन्छ । ७५ प्रतिशत सम्म पनि छुट गरिएको छ ।

बार्षिक २० लाख भन्दा कम कारोवार हुने र २ लाख भन्दा कम आम्दानी हुनेहरुलाई ७५ प्रतिशत छुट गरेको छ । त्यस्तै वार्षिक २० देखि ५० लाखबीचको कारोबार हुनेहरुलाई राजश्वमा ५० प्रतिशत छुट गरेको छ । त्यस्तै ५० लाखदेखि करोडसम्मको कारोबारमा २५ प्रतिशत छुट गरेको छ ।

प्रश्नः राजश्वको लक्ष्य निर्धारण गर्नुुभएको छ कि ?

उत्तरः लक्ष्य निर्धारण हामीले गर्दैनौं, विभागले गरेको हुन्छ र नै विभिन्न करदाता सेवा कार्यालयहरुलाई सोहि प्रकारले बाँडफाँट गरिएको हुन्छ ।

प्रश्नः करदाता सेवा कार्यालय स्थापना भएपछि कोलेनिकाले गर्ने राजश्व संकलनको काम अव सवै यहिबाटै हुने हो ?

उत्तरः हो अब करदाता सेवा कार्यालय भएको जिल्लामा कोलेनिकाले राजश्व संकलन गर्दैन । तर अन्यत्रको भने गर्नुपर्ने अवस्था छ । जस्तो सल्यानको हकमा अब कर संकलनको काम करदातासेवा कार्यालयले नै गर्दछ ।

प्रश्नः कहिलेकाँही सेवाग्राहीहरुले आषाढको अन्तिममा फर्म दर्ता गर्न पुग्छन्, यस्तो अवस्थामा सिंगै आ.ब.को कर तिर्नुुपर्ने अवस्था देखिन्छ ? यसमा के भन्नुुहुन्छ ?

उत्तरः हो, यसमा त्यहि नै हुन्छ । आ.ब.को अन्तिममा फर्म दर्ता गरेपनि सिंगै आ.ब.को कर तिनुपर्छ । बरु फर्म दर्ता गर्नेले त्यसरी दर्ता गर्नुहुदैन । सवै कुरा बुझेर गर्न उचित हुन्छ ।

प्रश्नः अन्तिममा सेवा ग्राहीलाई केही सुझाव दिनुहुन्छ कि ?

उत्तरः सेवाग्राहीहरुले कोरोनाको जोखिमबाट बच्न पर्याप्त सावधानी अपनाएको देखिदैन । सकेसम्म मास्क, सेनीटाईजर लगायतको उचित प्रयोग गर्न र सामाजिक दुरी कायम गर्न अनुरोध गर्दछौं ।

प्रतिक्रिया दिनुहोस

<