साउन भित्रै युवाको एकता टुंगो लाग्छ : अध्यक्ष दिपशिखा

काठमाडौं, २३ साउन  ।
नेपाल कम्युनिष्ट पार्टी नेकपाको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष रामप्रसाद सापकोटा ‘दिपशिखा’ले युवाको एकता साउन महिना भित्रै टुंगोमा पुग्ने खुलासा गरेका छन् । उनले केन्द्र, प्रदेश र जिल्लामा एकैपटक एकता टुंग्याउने तयारी पनि भईरहेको खुलाएका छन् ।

उदयपुर जाने सिलसिलामा विराटनगर विमानस्थल पुगेका अध्यक्ष दिपशिखाले विमानस्थलमा स्वागतका लागि आएका युवाहरुसँग कुराकानी गर्दै युवाको एकता साउन महिना भित्रै टुंगोमा पुर्याउने गरि गृहकार्य अगाडी बढेको खुलासा गरेका हुन् । उनले युवाको एकता देखेर मातृ पार्टीमा पनि छुट्टै एकताको सञ्चार भएकोसमेत बताए ।

युवा संगठनका एक नेताका अनुसार तत्कालीन वाइसिएलको पदाधिकारी टोली आफ्ना नेता तथा कार्यकर्ताहरुसँग राय सुझाव संकललनका लागि देशभर दौडाहा कार्यक्रममा छ । विराटनगर पुगेको टोली उदयपुर, झापा सुनसरी, मोरङ, इलाम लगायतका जिल्लामा पुगेर सुझाव संकलन गर्नेछ ।

सुझाव संकलनको लागि अध्यक्षसहित तत्कालीन वाइसिएल महासचिव सुवोधराज सेर्पाली, सचिवद्वय मिङ‍्मा डण्डु शेर्पा लगायतको टोली विराटनगर पुगेको हो ।

तत्कालीन वाइसिएल प्रदेश १ इन्चार्ज पूर्ण भुजेल, संयोजक कर्मा पुलामीसहित युवाको टोलीले विराटनगर विमानस्थलमा अध्यक्षसहितको टोलीलाई भव्य स्वागत गरेका थियो ।

यसअघि अध्यक्ष दिपशिखाको टोली गण्डकी प्रदेशमा समेत पुगेको थियो । पोखरामा पुगेको पूर्व वाइसिएलको पदाधिकारी टोलीले गण्डकी प्रदेशका नेता कार्यकर्ता सँग भेटघाट गरेको थियो ।

युवाको एकता प्रक्रियालाई छिट्टै टुंगोमा पुर्याउन अध्यक्ष दिपशिखाले देश दौडाह सुरु गरेका हुन् । उनले विभिन्न जिल्लामा पुगेर एकता प्रक्रियाबारे सल्लाह सुझाव तथा राय संकलन गर्दै आएका छन् ।

पार्टी एकता पश्चात नेकपाको युवा संगठनको जिम्मेवारी पूर्वमाओवादीले पाएको थियो । माओवादीमा युवा संगठन महत्वपूर्ण फौजी संगठनको रुपमा समेत परिचित थियो । भने, वाइसिएल अध्यक्ष दिपशिखा एकता पश्चात युवाको संयोजक बनेका हुन् ।

प्रतिक्रिया दिनुहोस

<