देशभर ६८० पत्रकारलाई कोरोना संक्रमण, ५ जना आइसीयूमा

काठमाडौं : 25 baishakh

देशभर ६८० पत्रकारलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

नेपाल पत्रकार महासंघले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार देशभर अहिलेसम्म ६८० पत्रकार कोरोना भाइरसबाट संक्रमित भएका छन् । ती मध्ये २६० जना अहिले सक्रिय संक्रमित हुन् ।

प्रदेश नम्बर १ मा १८, प्रदेश २ मा ९, बागमतीमा १४, गण्डकीमा ७, लुम्बिनीमा २७, कर्णालीमा ३० र सुदूरपश्चिममा ३० जना पत्रकार सक्रिय संक्रमित अवस्थामा छन्‌ । बाँकी उपत्यका, प्रतिष्ठान र एसोसिएट प्रदेशका हुन् ।

संक्रमितमध्ये अस्पतालमा ४० जनाको उपचार भइरहेको छ । ५ जना आइसीयूमा उपचाररत छन् भने हालसम्म ७ जना पत्रकारको निधन भएको महासंघका महासचिव रोशन पुरीले जानकारी दिए ।

पुरीका अनुसार कोरोनाको पहिलो लहरमा देशभर ३०० पत्रकार संक्रमित रहेका थिए । जसमध्ये ५ जनाको मृत्यु भएको थियो। दोस्रो लहरमा २ जना पत्रकारको मृत्यु भइसकेको छ ।

दोस्रो लहरमा कोरोनाबाट पत्रकार थप जोखिममा रहेको उनले बताए।

पत्रकार महासंघमा होल्डिङ सेन्टर

महासंघले कोभिड-१९ को जोखिममा रहेका पत्रकारहरूका लागि ९ शय्याको होल्डिङ सेन्टर सञ्चालनमा ल्याएको छ ।

महासंघको केन्द्रीय कार्यालय सञ्चारग्रामस्थित अतिथि गृहलाई अक्सिजनसहितको होल्डिङ सेन्टरमा रुपान्तरण गरिएको पुरीले बताए ।

‘फ्रन्टलाइनमा खटिएका पत्रकारलाई कोरोना संक्रमण भएमा वा जोखिममा रहेमा उपचारका लागि विशेष व्यवस्था नहुँदासम्मको लागि ९ शय्याको होल्डिङ सेन्टर सञ्चालनमा ल्याइएको हो,’ उनले भने ।

कोभिड संक्रमण पुष्टि भएर अस्पतालमा बेड नपाएका वा जोखिममा रहेका पत्रकारहरूलाई होल्डिङ सेन्टरले सुविधा उपलब्ध गराइने पुरीले जानकारी दिए। उनका अनुसार सेन्टरमा ज्वरो र अक्सिजन मापन गर्ने सुविधाका साथै स्वस्थ खानेपानी र खानाको समेत व्यवस्था गरिएको छ ।​

अग्रभागमा रहेर पेशागत जिम्मेवारी बहन गर्ने क्रममा पत्रकारहरू संक्रमित हुने दर वृद्धि भएसँगै महासंघले केन्द्रीय कार्यालयमा सञ्चालन गर्ने १० बेडमध्ये ५ बेडको अक्सिजनसहितको आइसोलेसन सेन्टरको निर्माणकार्य अन्तिम चरणमा पुगेको छ । थप ५ बेड निर्माण प्रक्रिया अगाडि बढेको छ ।

‘महासंघले देशभर रहेका सबै प्रदेश र शाखाहरूलाई कोरोना संक्रमित पत्रकार तथा सञ्चारकर्मीको उद्दार तथा उपचारमा सक्रिय सहभागिताका लागि आग्रह गरिरहेको छ । सो क्रममा अहिलेसम्म रोल्पा, दाङ, कपिलवस्तु, अर्घाखाँची, गुल्मी, पर्वत र बाग्लुङमा अक्सिजनसहितको आइसोलेसन सेन्टरको व्यवस्था गरिएको छ,’ पुरीले जानकारी दिए ।​

कोरोनाबाट विश्वभर करिब १२ सय पत्रकारको मृत्यु

सन् २०२० पछि ७६ देशका ११ सय ८१ पत्रकारले कोरोना संक्रमणकै कारण ज्यान गुमाएका छन् ।​

अघिल्लो साता स्वीट्जरल्याण्डको प्रेस एम्बेलेम क्याम्पियन (पिइसी)ले एक प्रतिवेदन जारी गर्दै भारतलगायत विश्वका ७६ मुलुकमा पत्रकारले ज्यान गुमाएको जनाएको हो ।

भारतमा मात्र १०७ जनाले ज्यान गुमाएका छन् । कोरोना संक्रमणबाट सबैभन्दा बढी ब्राजिलका पत्रकारको मृत्यु भएको छ ।

उक्त प्रतिवेदनका अनुसार ब्राजिलमा कोरोना संक्रमणबाट हालसम्म १८१ र पेरुमा १४० पत्रकारले ज्यान गुमाएको बताइएको छ। यस्तै, भारत तेस्रो स्थानमा रहेको छ।

मेक्सिकोमा १०६, इटालीमा ५२, बंगलादेशमा ५१, कोलम्बियामा ४९ र अमेरिकामा ४७,  इक्वेडरमा ४६, बेलायतमा २८ पत्रकारले ज्यान गुमाएका छन् ।

यसैगरी डोमिनिकन रिपब्लिकमा २७, पाकिस्तानमा २५, टर्कीमा २४, इरान र रुसमा २१/२१, अर्जेन्टिना र भेनेजुएलामा १७/१७ पत्रकारले ज्यान गुमाएका छन् ।

पानामामा १६, स्पेनमा १५ र युक्रेनमा १४ पत्रकारको पनि कोरोना संक्रमणबाट ज्यान गएको छ ।

thahakhabar

प्रतिक्रिया दिनुहोस

<