देशभर बाढी–परिरोमा परेका घर पुनर्निमाण गर्न ५० करोड दिने निर्णय


काठमाडौं, २६ चैत ।

गत वर्ष सिन्धुपाल्चोक, बाग्लुङसहितका जिल्लामा गएको बाढी र पहिरोका कारण क्षति पुगेका घरको पुनःनिर्माणका लागि पहिलो किस्ताको रकम दिने निर्णय भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बिहीबार सबेको विपद् जोखिम न्यूनीकरणको राष्ट्रिय परिषद् बैठकले पहिलो किस्ताको रकम दिने निर्णय गरेको हो ।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलका अनुसार विपद् व्यवस्थापन कोषमा रहेको रकममध्ये ५० करोड रुपैयाँबाट तीन हजार घर पुनःनिर्माणका लागि रकम दिने निर्णय भएको छ ।

विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले तयार गरेको कार्यविधि अनुसार घर पुनःनिर्माणका लागि हिमाली जिल्लामा ५ लाख, पहाडमा ४ लाख र तराईमा ३ लाख रुपैयाँ प्रति घर दिने उल्लेख छ ।

बैठकमा यस वर्ष आगलागीबाट क्षति पुगेका घरको पुनःनिर्माणमा सहयोग गर्ने सम्बन्धमा पनि तयारी थाल्न प्रधानमन्त्री ओलीले निर्देशन दिएका छन् ।

गत २१ चैतमा बाँकेको नरैनापुर गाउँपालिका–४, खोदवा गाउँमा भएको आगलागीमा परेर १२० वटा घर टहरा जलेका थिए, जुम्लाको तिला गाउँपालिकामा पनि ३५ घर नष्ट भएका छन् ।

प्रतिक्रिया दिनुहोस

<