छत्रेश्वरी र शारदालाई खाद्यान्न तथा रकम सहयोग: शारदामा राहत वितरण कार्य सम्पन्न

sharethis sharing button
चैत्र २६, सल्यान ।

स्थानीय तहहरुले लकडाउनको बेला विपन्न परिवाहरुको लागि राहत वितरण कार्यमा सहयोग गर्न आव्हान गरेपछि इच्छुकहरुले रकम, खाद्यान्न तथा अन्य सामाग्रीहरु सहयोग गरिरहेका छन् ।
यसै क्रममा बुधबार मुक्तिनाथ विकास बैंकले शारदा नगरपालिका र छत्रेश्वरी गाउँपालिकालाई ५०÷५० हजार बराबरको खाद्यान्न सहयोग गरेको छ । लकडाउनको कारण अप्ठ्यारोमा परेका विपन्न परिवारहरुको दैनिकी सहज बनाउनको लागि बैंकले सहयोग गरेको बताईएको छ । बैंकका शाखा प्रवन्धक सुनिल रेग्मीले छत्रेश्वरी गाउँपालिकाका अध्यक्ष सन्तोष के.सी.को उपस्थितिमा ५० हजार बराबरको खाद्यान्न सहयोग हस्तान्तरण गरेका छन् । साथै शारदा नगरपालिकाका उप प्रमुख सावित्रा बस्नेत, वडा अध्यक्ष नवराज बुढाथोकीको उपस्थितिमा सोही बराबरको सहयोग हस्तान्तरण गरेका छन् । बैंकलाई सहयोगको लागि धन्यवाद दिंदै अध्यक्ष के.सी. ले राहत सहयोग विपन्न वर्गले मात्र पाउने कुरामा विश्वस्त गराएका छन ।

यस भन्दा अगाडी कुमारी बैंकले छत्रेश्वरी गाउँपालिकालाई नगद रु ५० हजार सहयोग गरेको छ ।


बुधबार नै शारदा नगरपालिकालाई थप रु ८५ हजार बराबरको आर्थिक सहयोग प्राप्त भएको छ । नगरपालिकालाई खलंगा स्थित ग्रामीण बचत सहकारी संस्था (सा.को.स.) ले रु. ५० हजार, निर्माण व्यवसायी पूर्ण भण्डारीले ३० हजार र स्थानीय व्यापारी सन्देश श्रेष्ठले ५ हजार आर्थिक सहयोग उपलव्ध गराएका छन् ।

नगरपालिकाले भने सबै वडाहरुमा राहत वितरण कार्य सम्पन्न भएको जनाएको छ । नगरपालिकाका १५ वटा वडामा राहत वितरण कार्यक्रम मंलबार सम्पन्न भएको नगर प्रमुख सुरेश अधिकारीले बताएका छन् । १५ वटा वडाका करिब ८०० घरधुरीलाई प्रति घरधुरी रु. २ हजारका दरले राहत वितरण गरिएको प्रमुख अधिकारीले बताए । राहत पाउनुपर्ने घरपरिवार ले राहत नपाएको गुनासो गरेको सन्दर्भमा उनले लगत संकलन गर्नको लागि वडालाई छनौट गर्न जिम्मा दिईएको र सोही लगतमा छुटेको हुंदा त्यस्तो भएको बताए । कही ठाउँमा पाउनुपर्ने हरु पनि छुटेको उनले स्वीकारेका छन् । प्राप्त थप सहयोग पनि राहत वितरणमा नै उपयोग हुने नगरपालिकाले बताएको छ ।

from tikhokhabar

प्रतिक्रिया दिनुहोस

<