लकडाउन डायरी

 

25 chaitra, 076

यो वर्ष अलिक धेरै वर्षा भयो । वर्षातका कारण चिसो मौसमको अवधि पनि लम्बियो । करिब–करीब फाल्गुन महिनाभर जाडो नै भयो । जब चैत्र लाग्न थाल्यो, कोरोना भाईरसको महामारी विश्वभर फैलिन थालेका समाचारहरु आउन थाले । त्यसअघि चीनमा मात्रै फैलिएको भनेर सुनिने महामारी सवैतिर फैलिन थालेको हल्ला चल्यो । नेपालको सन्दर्भमा भन्नुुपर्दा शैक्षिक सत्रको अन्त्य समय आएकोले विद्यालयहरुलाई चाँडै परीक्षा सक्न भनियो । सरकारी विद्यालयमा चैत्र ५ गतेभित्रै परीक्षा सकियो । निजी विद्यालयहरु मध्ये पनि अधिकांशले सोहि समयमै परीक्षा सिध्याय । तर कतिपयले भित्रभित्रै केही दिन पछि मात्र परीक्षा सके । चैत्र ६ गतेदेखि हुने भनिएको देशव्यापी एसइइको परीक्षा अनिश्चितकालका लागि सरेको खवर अघिल्लो दिन मात्र सार्वजनिक भयो । त्यसपछि एस.ई.ई. रोकियो । लकडाउनको संकेत पाईसकेका सरकारी संयन्त्रले अब केही दिनमै खाद्यबस्तुु महंगिन्छ र उपभोक्ता मारमा पर्छन् कि भनेर बजार अनुुगमन गर्न थाले, जनताले तुुरुन्तै थाहा पाईसके र जति सक्दो ग्याँस र खाद्य वस्तुु बजारबाट घरभित्र भित्र्याउन थाले ।

लगत्तै चैत्र ११ गतेदेखि लकडाउन शुुरु भयो । जब कि धेरै नेपालीहरुका लागि यो नयाँ कुरा रह्यो । १, २ दिन अधिकांश नेपालीहरुलाई लकडाउनबारे अन्योलता भयो । जनयुुद्धताका भएका नेपाल बन्दमा पनि अनेक पास बनाएर बाहिर निक्लन बानी परेका र दिनमा नभए रातमा भएपनि बजार निस्कना बानी परेका नेपालीहरुलाई लकडाउनको पालना गर्न शुुरुमा निकै गाह्रो भयो । उता लकडाउन अँझै लम्बिने संकेत भएसंगै देशभरका उद्योगधन्दा, व्यबशाय र शैक्षिक संस्थाका कामकाज रोकिए । अध्ययन र कामकाजले बजार छिरेकाहरु घरमा फर्किनथाले । यतातिर लकडाउन शुुरु भैसक्यो, तर देशविदेशमा मानिसहरु जताततै अलपत्र परेका खवर आएपछि विभिन्न प्रकारको पास बनाउदै नेपालीहरु गाउँ भित्रीय । तर सीमा क्षेत्रमा कडाई गरिएपछि धेरै नेपालीहरुको बिजोग पनि भयो । एकातिर नेपालले प्रवेश गर्न नदिने र अर्कोतिर भारतबाट विदावारी भई झोली झ्याम्टा बोकेर नेपाल प्रवेश गर्न भनि सिमामा आईपुुगेको अवस्थामा दुवै देशलाई सकस पर्यो । कोही विभिन्न किसिमले भागेर आए, नाकाबाट नभै खेतवारी, जंगलबाट भित्रीय । कोही महाकालीमा पौडि खेलेरै आए । कोही निकै दिन सिमानाकामै सास्ती भोगे र बल्ल पछि मात्र दुवै देशले व्यवस्थापन गर्दैछन् । उता हवाई यातायात पनि ठप्प हुनथाल्यो, कतिपय मानिसहरु शुुरु शूूरुमा नेपाल छिरे ता पनि पछि विदेशबाट खासै नेपालीहरु भित्रीएनन् । बरु नेपालमा आएका पर्यटक र आगन्तुुकहरुलाई पनि विभिन्न तरिकाबाट विस्तारै फर्काइयो ।

एकातिर यस्तो भयावह अवस्था छ भने अर्कोतिर झोलाभरी किताब बोकेर विद्यालय पुुग्ने केटाकेटीलाई भने हाइसन्चो भयो । केटाकेटीलाई मात्रै होइन, करीब हप्ता–दश दिन त घरभित्र छिरीसकेका अधिकांश नेपालीले लकडाउन राम्रैसित मनाए । घरमा एक दुुई हप्तालाई पुुग्ने राशन छदैछ । ग्याँस छदैछ, खानेकुुराहरु पनि छदैछ । जे होस् केही दिनको लकडाउन राम्रैसित वित्यो । यसै त चैत्रको महिना, खेतीपातीको चाप पनि नहुने, उता चैते दशै आएको, जे होस्, अधिकांशले लकडाउन राम्रैसित मनाए । नयाँ वर्ष आउन्जेल सम्म पनि अपवाद्बाहेक लकडाउनलाई नेपालीहरुले हर्षोल्लासपूर्वक मनाउने देखिएको छ ।
लकडाउन अधिकांश नेपालीहरुको नयाँ अनुुभव हो । हामी करीब २ विस वशन्त विताईसकेकाहरुले पनि पहिलोपटक लकडाउनको अनुुभव गर्दैछौं ।

यतिवेला विद्यालयहरुको परीक्षाको नतिजाहरु पनि रोकिएको छ । लकडाउन कडा बन्दै गएको छ । एक जिल्लाबाट अर्को जिल्ला, एक प्रदेशबाट अर्को प्रदेश र हुुदा हुुदा एक स्थानीय तहबाट अर्को स्थानीय तह र एक वडाबाट अर्को वडासम्म पनि आवतजावत गर्न नपाउने अवस्था बनेको छ । कतिपय नागरिकलाई खोला वारपार गराउने झोलुुंगे पुलहरुमा पनि ताला लगाईयको अवस्था छ ।

उता महामारी फैलिएर दिन दुुइगुना र रात चौगुना बढेका खवरहरु आईरहेका छन् । विश्वका शक्तिशाली देशहरुमा महामारीले मानिसहरुमा हाहाकार मच्चिएको छ । वि.सी.जि. खोपको प्रभाव भनौं, पशुुपतिनाथको कृपा भनौं, बनजंगलको प्रभाव भनौं, नेपालीहरुको खानपान र जीवनशैली भनौं या त महामारीको भेल नेपालतिर नसोझिएकाले भनौं, धन्न विश्वमा करीब ८० हजार मानिसहरु मर्नेबेलासम्म नेपालमा एक जना पनि महामारीले मरेको खवर छैन । २, ४ जना मरेकोमा कोही परीक्षणकै क्रममा मरेको बताईएको छ भने कसैको अन्य विभिन्न रोगले थला परेकोले मरेको बताइएको छ । संक्रमित ९ जना भन्ने खवर छ भने बाँकी क्वारेन्टाइन र परीक्षणकै क्रममा रहेका खवर आईरहेका छन् ।

जे भएता पनि आजका दिनसम्म नेपालमा कोरोनाले मान्छे मर्न पाएका छैनन् । तर भित्रभित्रै देश आर्थिक रुपमा भने टाट पल्टिदैछ । उद्योग धन्दा बन्द छन्, कलकारकाना बन्द छन्, निर्माणका कामहरु ठप्पै छन् । किसानका बारीमा तरकारी कुहिन थालेको छ । डेरी र सहकारीहरुले दुुध खोलामा बगाउन थालेका छन् । कुुखुुराको दाना नपाएर कुुखुुराहरु फर्ममै मरिरहेका छन् । शैक्षिक संस्थाहरु बन्द छन् । यातायात व्यबशाय चौपट भएको छ ।

यता हप्ता दशदिनमात्रको लागि जेनतेन राशनपानी भित्र्याएका नेपालीहरु अव चिन्तित बन्न थालेका छन् । निम्न मध्यम वर्ग यतिवेला अँझ बढि पीडित बन्दैछन् । खानेकुुरा सिद्धियो भनेर राहत माग्न पनि गाह्रो मानिरहेका छन् र भित्रभित्रै पुरै रित्तिसकेको छ । हामीसित केही छैन भन्न नसक्ने र भोके बस्नुुपर्ने अवस्था श्रृजना भएको छ । अब अँझै लकडाउन लम्बियो भने बाद्य भएर निम्न मध्यम वर्गलाई सडकमा सरकार गुहार्न जानुुपर्ने अवस्था बन्दैछ ।

साँच्चै भन्ने हो भने नेपालमा यतिवेला सम्म महामारी फैलिएकै छैन । तर पनि विभिन्न विकृति विसंगतिले भने सीमा नाघिसकेका छन् । कोरोना रोकथाम, परीक्षण र स्वास्थ्य सुरक्षा सामग्रीका लागि अरबौं घोटाला हुन थालेको भनेर सरकार आलोचित छ । देश संकटमा परिरहेको बेला पनि कमिसन र भ्रष्टाचारकै कमिसनमा लिप्त रहेको आरोप लाग्ने गरेको छ । आप्mनै आमाको लागि कात्रो किन्नुुपर्दा पनि कमिसन नै खोज्ने जस्ता मान्छेहरु सरकारमा भएको भनेर सरकार आलोचित छ । धन्न एउटा सम्झौता रद्ध गरेर सरकार केही हद्सम्म आलोचनाबाट मुक्त भयो ता पनि अपराधिहरुलाई जोगाएको भनेर सरकारको नेतृत्व गर्नेमाथि आलोचना रोकिएको छैन । उता दैनिक ज्याला मजदुुरी गरी परिवार पाल्नेहरुलाई राहत दिने नाममा आफ्ना कार्यकर्तालाई राहत बाँडेका खवर आईरहेका छन् ।

त्यस्तै कतिपय ठाउँमा राहतका नाममा २–२ किलो चामल दिएर राहत माग्नेकै बेइज्जत गरेका खवरहरु पनि आईरहेका छन् । कतिपय ठाउँमा काम नलाग्ने खाद्यवस्तुुहरु दिएर उद्धार गरेको बहाना गरेका खवर आएका छन् । कतिपय स्थानमा दशतिरबाट फोटो खिचेर राहत लिनेकै बद्नाम गरेका खवर आईरहेका छन् । राहतका अन्य दृष्यहरु पनि देखिएका छन् । कतिपय केन्द्र सरकारमा पुुगेका संसद्हरु जनतासम्म पुुग्ने केही निउ पाएका छैनन्, जसले गर्दा अरुले गरेको उद्धारका काममा पनि खोट देख्ने र आफूूले केह गर्न नसक्ने अवस्था बनेको छ ।

बरु प्रदेशका सांसद् र मन्त्रिहरु केही न केही बहाना बनाएर पुुगेका छन् । प्रदेशबाट प्राप्त राहतमा केही आफ्नो पनि मिसाएर आफूूले राहत दिएको भन्न सक्ने अवस्था श्रृजना गरेका छन् ।

त्यस्तै यतिवेला स्थानीय सरकारमा प्रतिनिधित्व गर्नेहरु आफैले राहत दिन भ्याएका छन् । कतिपयले आफुुले सरकारबाट पाउने सेवा सुविधा राहत कोषमा दिएर समाजसेवा गर्ने अवसर पनि पाएका छन् । तर नागरिकहरुमा एउटा आशंका भने हटेको छैन । एकतिर दिएको जस्तो गर्ने र अर्कोतिरबाट लिनुुुपर्ने जति सेवा लिइहाल्ने प्रवृत्ति भएको पनि सुुनिन्छ । जे जस्तो भएता पनि जनतामा छिटो पुुग्ने सरकारको रुपमा अहिले स्थानीय सरकार बनेको छ । तर आफ्नै कार्यकर्तामूूखि बने भन्ने आरोपबाट भने मुक्त हुुन सकेका छैनन् ।

यसरी अहिले कतिपय ठाउँमा लोकप्रियता कमाउन राहत बाँडेको र कतिपय स्थानमा सरकारकै पैंसा दुुरुपयोग गरी सरकारी रकम व्यक्तिगतमा परिणत गरी सहयोग गरेको भनेर पनि नेताहरु आलोचित छन् । आलोचना नेतृत्वको मात्रै छैन, अन्यत्र पनि त्यस्तै छ । निजी अस्पतालले विरामीको उपचार नगरेको भनेर आलोचित छन् । जसले गर्दा भोलिका दिनमा सवै अस्पताल सरकारीकरण गर्नुुपर्ने दवाव पनि श्रृजना हुन सक्ने देखिन्छ । महामारीको अवस्थामा नागरिकहरुलाई छिछि थूूथूू गर्ने अस्पताल र डाक्टरको व्यबहारले धेरै नागरिक पीडित छन् ।

यतिवेला कोरोना संक्रमित भनिएका व्यक्तिहरुलाई अस्पत्तालमा निकै निच व्यबहार गरिएको, समयमा परिक्षण नगर्ने, विरामीलाई खानपानमा वास्तै नगर्ने, समयमा सम्बन्धित ठाउँमा नपठाउने जस्ता विभिन्न समस्या भोग्न बाद्य पारिएको खवर आईरहेका छन् । यसरी अस्पतालप्रति पनि नागरिकको गुुनासो बढेको छ ।

समस्या सवैतिर बल्झिदैछन् । अहिले सवारी साधन कम प्रयोग गरेका कारण इन्धन सस्तो भएको छ । उपभोक्ताले चाँडै लकडाउन सकिने आशा गरेर सरकारले उपलब्ध गराउने भनेको आधा सिलिन्डर ग्याँस भर्न मानेका छैनन् । यसले गर्दा नियमित आउनुुपर्ने ग्याँस इन्धन कम खपत हुने र एक्कासी लकडाउन लम्बिने अवस्थामा ग्याँस इन्धनको ठूूलो हाहाकार मच्चिने अवस्था छ । गाउँमा ग्याँसको विकल्प दाउरा छ, तर बजारमा दाउरा पनि पाउन सकिदैन र घरका भित्तामा कालो लाग्ने भएकोले दाउरा बाल्न घरवेटिले दिदैनन् । यस्तो अवस्थामा ठुलै संकट आउने देखिन्छ ।

लकडाउनका दृष्यहरु अरु पनि अचम्मका देखिएका छन् । सुुदुुरपश्चिममा यस्तो अवस्थामा पनि मेलाजात्रा रोकिएका छैनन् , जव की नेपालको सवैभन्दा महामारीको जोखिमयुक्त क्षेत्र पनि त्यतै हो । शहरमा कतिपय सवारी साधनले दुुध बोक्ने पास बनाएर रक्सीका जर्किन ओसार्ने गरेको देखिन्छ । कतिपयले आफन्त मरेको भन्दै घरजाने पास बनाएर यात्रुु ओसार्ने गरेका खवर आईरहेका छन् । त्यस्तै लकडाउनको बेला पनि विभिन्न पास बनाउदै भारतबाट फलफूल ल्याउदै नेपाली बजारमा बेच्दै गरेको भनेर सटर ताला लगाईएका खवर पनि आईरहेका छन् ।

उता उद्योग व्यबशाय, व्यापार चौपट भएको भन्दै सरकारले चैत्र महिनाको घरभाडा नलिन घरवेटिलाई आग्रह गरेको छ । अपवाद्का घरवेटिले यस कुुरालाई स्वीकार गरेका छन् र बाँकीले यस कुुरालाई स्वीकार गरेका छैनन् । ऋण लिएर घर बनाएको, सवै सम्पत्ति बेचेर घर बनाएको, आफ्नो अरु आम्दानीको श्रोत नभएको, बैंक किस्ता तिर्नुुपर्ने लगायतका कारण देखाउदै घरवेटिले भाडा छुुट नगर्ने बताएका छन् । यता चैत्र महिनाको शिक्षण शुुल्क नलिन भनेर गरेको अनुुरोध निजी विद्यालयले मानिरहेका छैनन् । चैत्र महिनाको शुुल्क अधिकांशले लिईसकेको अवस्थामा अब फिर्ता गर्ने या आगामी शैक्षिक सत्रमा मिलान गर्नेभन्नेबारेमा केही छलफल चलेको भएता पनि कतिपयले छुुट दिनै नसक्ने वताईरहेका छन् । विद्यालय भाडामा चलाएको, बैंकबाट ऋण लिएर चलाईरहेको, कर्मचारीहरुलाई चैत्र महिनामा पनि तलब दिनुुपर्ने र बचेको पैंसाले शैक्षिक व्यवस्थापन गर्नुुपर्ने भन्दै विद्यालयहरु शुुल्क छुुुट गर्ने अवस्थामा छैनन् ।

सरकारले राष्ट्रसेवक कर्मचारीको तलबबाट केही रकम कटौती गरेर राहत कोषमा जम्मा गर्ने निर्णय गरेको छ र यसमा भने कर्मचारीले आपत्ति जनाएका छैनन् । त्यस्तै यतिवेलाको कर, बैंक किस्ता र सहकारीहरुमा तिर्नुुपर्ने किस्ता पनि केहि ढिला तिर्दा हुने व्यवस्था गर्न सरकार लागि परेको छ ता पनि सम्बन्धित बैंक, वित्तीय संस्था र सहकारीहरुले आनाकानी गरिरहेका छन् । लिखितरुपमा कडा भन्दा कडा निर्देशन दिएन भने सरकारले अनुुरोध गरेका भरमा ति कुुराहर लागू गर्न सक्ने अवस्था छैन ।

तर यतिबेलासम्म पनि नेपालमा महामारीले मान्छे मरेकै छैनन् । साँच्चै अव एक महिना पुुग्नेवेलाबाट मान्छे मर्ने क्रम बढ्यो भने नेपालको अवस्था के होला ? के तीन चार महिना सरकारले लकडाउन गरेर जनता पाल्न सक्छ ? यहाँ लाखौं जनताका घरभित्र एक सातामै खाद्यान्न रित्तिएको छ । प्रश्न अरु पनि छन् के साँच्चीकै विदेशमा जस्तो दिनमै हजारौं मान्छे मर्ने अवस्थामा नेपालका अस्पत्ताल र डाँक्टरले नागरिकको जीउ बचाउलान् ? रोगी हो कि भन्दै पर पर भाग्ने डाक्टरले साँच्चै नागरिकलाई बचाउलान त ? आज लाखौं नेपालीका मनमा यस्तै प्रश्न उब्जीएका छन् । अतः जे जति उपाय हो, नेपालीहरुले रोग लाग्नै नदिने देखि अरु उपाय छैन । यदि साँच्चै नेपालमा महामारी फैलियो भने भुुतुुउभुुतुु किरा फट्यांग्रा मरेजसरी मर्नेबाहेक अरु कुुनै उपाय नै छैन ।

महामारी समयमा केही अरु पनि विकृति विसंगति देखिएका छन् । सधैंभरी सत्ता, सत्ता र सत्ताकै सपना देख्नेहरु यतिवेला सरकार असफल भयो भन्दै मध्यावधि चुुनाब हुुुनुुपर्छ र यो सरकारको ठाउँमा आफूूहरु आउनुुपर्छ भन्न थालेका छन् । तर लामो समय सत्तामा बसेर माखो समेत मार्न नसक्नेले फेरी यस प्रकारका कुरा गर्नुुलाई जनताले आचि खाने हैसियतभन्दा माथि राखेका छैनन् र राख्दैनन् पनि । बरु यस्तो अवस्थामा सरकारलाई कसरी सहयोग पुुर्याउन सकिन्छ, नागरिकलाई कसरी सेवा सुविधा सहज तरिकाले पुुर्याउन सकिन्छ भनेर पो सल्लाह, सुुझाव र सहयोग गर्नुपर्छ । राम्रो काम गरेपछि त सत्ता एकदिन फेरी पनि आउनसक्छ । अतः कुन समयमा के बोल्ने र के गर्ने भन्ने थाहा नपाउने व्यक्तिहरुले विभिन्न्न प्रकारका डा. उपाधि पाएका छन् । नेपालीहरुको विडम्बना यहि नै हो ।

त्यस्तै अरुवेला देशै हाँक्ने एनजिओ आइएनजिओहरु यतिवेला मौन छन् । या त सरकारले साथ लिन सकेन, यात अब एनजिओ आइएनजीओ मुुक्त देश भैसकेको हो, नागरिकहरु अलमलमा छन् । प्रत्येक वर्ष अरबौंको काम गरेको प्रगति देखाउने एनजिओ आइएनजिओहरु महामारीको समयमा दुला पस्नुु मुलुुककै लागि विडम्बना हो । या त सरकारले सहिरुपमा परिचालन गर्न सकेन, यात एनजिओ आइएनजिओको काम कमाउधन्दा मात्रै हो, नागरिकहरु रणभुुल्लमा छन् ।

सञ्चारकर्मीहरुलाई भने प्रविधिले सजिलो बनाईदिएको छ । एक त नेताहरुले आफूनिकटका सञ्चारमाध्यम र सञ्चारकर्मी खोज्दै कार्यक्रम, अनुुगमन र घटनास्थलमा लैजाने गरेका छन् । अर्कोतिर सवैभन्दा पहिले आफूूले गरेका, समाजमा भए गरेका र उनीहरुले देखे सुुनेका कामकुुराहरु समेत सामाजिक सञ्जालमा राखिदिने गरेका छन् । यसो गर्ने गरेका कारण अधिकांश बजारमा राम्रै सन्देश पुुर्याउन पनि नेताहरु सफल भएका छन् । कतिपय स्थानीय सरकारहरुले राम्रो काम गरेर पनि केही नगरेझैं अवस्थामा छन् ।

त्यसकारण जसले एउटा गतिलो पत्रकार र मिडिया साथ लगाएका छन्, उनीहरुले गरेका सवै काम जनतालाई देखाउन पाएका छन् । आफूू निकट र आफ्नो पार्टी निकटका मिडियालाई विभिन्न निहु बनाएर सहयोग पनि गर्ने र अरुलाई विभिन्न बहाना बनाएर सूूचना, विज्ञापन लगायत कुुनैपनि प्रकारबाट सहयोग नगर्ने प्रवृत्तिले सञ्चार क्षेत्र पक्षपाती बन्दैजाने आशंका भने बढेको छ । तर यसरी स्वतन्त्र पत्रकार र स्वतन्त्र मिडियाहरुलाई यतिवेला ओझेल पार्ने काम भएको छ ता पनि यदि टिक्न र टिकाउन सकेभने आम जनताका नजरमा स्वतन्त्र मिडिया र सञ्चारकर्मीको अलग्गै महत्व रहने कुुरालाई पनि सवैले बुुझेका छन् ।

कोरोना माहामारीले करोडौं जनताको दैंनिकी बदलिदिएको छ । कवि, लेखक र साहित्यकारहरुले लामो समयदेखि थन्क्याएर राखेका पुुस्तक पल्टाउने अवसर पाएका छन् । कवि लेखक र साहित्यकारहरुले दिने भनेको सल्लाहसुुझाव नै हो, अरु त न हिजो गरे, न भोलि गर्नेछन् । किनकी उनीहरुको नियन्त्रणमा न बजेट छ, न सुुरक्षाफौज छ, न राष्ट्रसेवक कर्मचारी छन् । कवि, लेखक र साहित्यकारका न कार्यकर्ता छन्, न कुुनै प्रकारका ठूूलो ढुुकुुटी छ । अतः उनीहरुले राज्यले लगाएको नियम पालन गरेर बसेका छन् र समसामयीक विषयमा भनौं या कुुनै न कुुनै विषयमा सरकार, सत्ता या नेतृत्ववर्गलाई कुुनै न कुुनै माध्यमबाट आफ्नो राय दिइरहेका छन् । उनीहरुले गर्ने यति नै हो, धेरै अपेक्षा गर्ने ठाउँ देखिदैन ।

यतिवेला सवैको दैंनिकी बदलिएको छ । शैक्षिक क्यालेन्डर, बार्षिक क्यालेन्डर, सरकारको बार्षिक लक्ष र योजनाअनुुसारका कुुनै पनि काम नियमित रुपमा अगाडि बढ्ने सम्भावना छैन । नेपालले घोषणा गरेको भ्रमण वर्ष रद्ध भयो । नेपालका संस्कृति र चाडपर्वहरु पनि समयअनुुसार चल्न सकेनन् । कुुनै न कुुनै प्रकारले विश्वभरका जनतको दैंनिकी बदलिएको छ । अँझ नेपाल जस्ता देशहरुलाई त झनै सजिलो भयो, महामारीका कारण हामी लक्ष्यमा पुुग्न सकेनौं भनेर । वार्षिक राजश्व संकलन र वार्षिक बजेट खर्चको अब यस आ.ब.मा त्यति धेरै प्रश्न उठ्ने छैनन् । नेपाल सरकारका लागि यो सुखद क्षण बन्ने भएको छ ।

लकडाउनमा केही अरु पनि अनौठा दृष्यहरु देखिएका छन्, सीमाक्षेत्रका भारतीयहरु यतिवेला माईति र ससुराली भन्दै नेपाली भूूभागमा छिर्न थालेका छन् । अरुबेला नेपाललाई माग्नेको देश र नेपालीहरुलाई बाँदर र भेडा देख्ने सिमानाकाका भारतीयहरु यतिवेला नेपाललाई माइती देश, ससुुराली र माओली देश भन्दै सुरक्षित थलोको रुपमा लिएका छन् । हुन पनि भारतमा सयभन्दा बढिको ज्यान गईसक्दासम्म नेपालमा एक जना पनि मरेका छैनन् । नेपाललाई सुुरक्षित देखेर विभिन्न बहानामा सीमानाकाका भारतीयहरु नेपालमा आउन खोज्दैछन् । तर नेपालकै जनता सहजरुपमा नेपाल आउन नपाएकोमा भने खिन्न पनि छन् । कतिपय नेपालीहरुले नेपाल सरकारको सत्तोसराप गरेका छन् ।

यसरी कोही आफ्नै नागरिकलाई वेवास्ता गर्ने गरेको भन्दै नेपालप्रति नै विरक्त र वितृष्ण उत्पन्न गर्ने अवस्थामा छन् भने कोहीे जन्मभूमि नै प्यारो हुने भन्दै जसरी पनि नेपालमै जानापाउँ र नेपालकै भूमिमा मर्न पाउँ भनेर हारगुहार गर्दैछन् ।

यतिवेला संसारमा केही अद्भुुत दृष्यहरु पनि देखिएका छन् । संसारभर अहिले वातावरण स्वच्छ, सुन्दर र रमणीय देखिएको छ । जसबाट थाहा हुुन्छ, संसारमा हुने प्रदुुषणको ९० प्रतिशत कारक तत्व मानिस नै हो । कोलाहल र प्रदुुषण बढाउने भनेको मानिस नै रहेछ भनेर महशुस गर्ने वेला भएको छ ।

यो ममामारीले संसारलाई अर्को सिकाई पनि भएको छ । साँच्चै महामारी आयो भने संसारका शक्ति राष्ट्रहरुको पनि उपाय चल्दोरहेनछ । यतिवेला एसियाका चिन, जापानदेखि अमेरिका, यूूरोप, अष्ट्रेलिया, अफ्रिका लगायत सातै महादेशमा हाहाकार मच्चिएको छ । तुुलनात्मक रुपमा शक्तिराष्ट्रहरुमै बढी महामारी फैलिएको छ । यसले गर्दा महामारीले ठूूलो देश र सानो देश पनि भन्दो रहेनछ र त्यसैगरी ठूूलो मान्छे र सानो मान्छे पनि भन्दोरहेनछ भन्ने सिकाई सवैतिर भएको छ ।

प्रतिक्रिया दिनुहोस

<