सुनौलो हजार दिनका आमाहरुलाई कालिमाटीमा उपाध्यक्षको पोषण कोसेली


सल्यान, २४ फागुन ।

सल्यानको कालिमाटी गाउँपालिकाले सुनौलो हजार दिनका आमाहरुलाई उपाध्यक्षको पोषण कोसेली वितरण शुरु गरेको छ । गाउँपालिकाको वार्षिक स्वीकृत कार्यक्रम अनुसार सोमबार वडा नं ६ का ८६ जना हजार दिने आमाहरुलाई गाउँपालिका उपाध्यक्ष सनशिलता ओली डिसीले पोषण कोलेली वितरण गरेकी हुन् ।

गाउँपालिकाभरीका एक हजार आमाहरुलाई पोषण कोसेली प्रदान गर्ने लक्ष्य रहेको उपाध्यक्ष डिसीले जनाइन् । हजार दिनका आमा र बच्चाको स्वास्थ्य र पोषणप्रति घरपरिवारलाई जागरुक गराउनका लागि यस्तो कार्यक्तम सञ्चालन गरिएको उनले जनाइन् ।

पोषण कोसेलीमा एक क्यारेट अण्डा संगै सरसफाइको लागि साबुन, ब्रस, मञ्जन, नङकट पनि वितरण गरिएको छ । हजार दिनको अवधिमा आमा र बच्चाको ख्याल गर्नुपर्ने भएकाले यस तर्फ गाउँपालिकावासीलाइ सचेत गराउन उपाध्यक्षको कोसेली कार्यक्रम अघि सारिएको हो ।

वडा नं ६ का वडा अध्यक्ष टेकराज पुलामीको अध्यक्षतामा भएको कार्यक्रममा पोषण युक्त खानेकुराको फाइदाबारे बताउँदै हजार दिनका आमालाई कोसेली वितरण गरिएको गाउँपालिकाका स्वास्थ्य संयोजक गोरख थापाले जानकारी दिए । पोषक तत्व तथा सरसपफाई सामग्री सहितको कोसेली पाएपछी हजार दिने आमाहरु खुसी भएका छन् ।

गर्भवती भएको नौ महिना देखि बच्चा जन्मेदेखि दुई वर्षसम्मको अवधिलाई हजार दिन भनिन्छ । यो अवधिमा बच्चाको ८० प्रतिशत दिमागको विकास हुने भएकाले यसलाई ‘सुनौला हजार दिन’ भन्ने गरिन्छ ।

गर्भ रहेदेखि नौ महिनासम्म लगतार चार पटक गर्भजाँच गर्न, आइरन चक्की खान, स्वास्थ्य संस्थामा सुरक्षित सुत्केरी हुन र विभिन्न खोप लगाउनेबारे पनि गाउँपालिकाले बुझाउदै आएको छ ।

त्यतिमात्र नभएर गरिब घर परिवारका गर्भवती महिलालाई घरमा उपलब्ध स्थानीय अन्न गेँडागुडी, सागपात र अन्य चीज मिलाएर खान सुझाव दिने जस्ता कार्यक्रम पनि कालिमाटी गाउँपालिकामा सञ्चालन भइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस

<