कसैका लागि रामराज्य त कसैका लागि कुकुर सुत्केरी

विगत वर्षहरुझैं यस वर्ष पनि चालु आर्थिक वर्षको बजेट कार्यान्वयनले गति लिएको छैन । केन्द्र, प्रदेश र स्थानीय सरकारमध्ये सबैतिर ढिलासुस्ती देखिन्छ । अपवादबाहेक सवै तहको बजेट कार्यान्वयनको अवस्था समान देखिन्छ । चालु बजेटजति खर्च गरिसक्ने र विकास बजेट खर्च गर्न नसक्ने रोगले अहिले पनि सताईरहेकै देखिन्छ ।

फागुनको महिना आगामी वर्षका लागि योजना बनाउने समय हो । सोहि बमोजिम गाउँसभा, नगरसभा र प्रदेश सभाहरु पनि भएका छन् । यसरी केवल औपचारिकता निभाउने काम अहिले पनि भएको छ र हुँदैछ । तर आ.ब.को दुई तिहाई समयावधि सकिनै लाग्दा कामको समिक्षा समेत पनि गरिएको अवस्था छैन । अपवादका स्थानीय सरकारहरुले समीक्षा गरेको देखिएता पनि अधिकांश स्थानीय सरकारहरुले भए गरेका कामको समिक्षा समेत पनि गरेका छैनन् । यदि गरेका भएपनि कागजीरुपमै गरेका होलान्, तर आम सरोकारवालाहरुबीच समिक्षा भएको देखिदैन ।

यसरी निर्वाचित जनप्रतिनिधि हुँदा पनि समयमा काम गर्न नसक्नु, अनियमितता रोक्नुको साटो कतै न कतै जनप्रतिनिधि समेत संलग्न रहनु, विनियोजन गरिएबमोजिम शीर्षकमा बजेट खर्च नगर्नु र अनेक बहाना गरेर समयमै काम नगर्ने परिपाटी अँझ पनि हटेन । चालु आ.ब.मा के कति काम भयो भनेर थाहै नपाई फेरी आगामी वर्षका लागि नीति, कार्यक्रम र बजेट तर्जुमा गर्नुपर्ने पुरानो परम्परा केवल परम्परा जोगाउने कार्यविधि मात्रै बन्दै गएका छन् । समयमै काम गर्नुपर्छ भन्ने धारणा र सोहि बमोजिमको तत्परता अहिले पनि देख्न सकिएन ।

यसरी हरेक वर्ष नयाँ बजेट, नीति र कार्यक्रमले जनतामा केहि उत्शाह थपेता पनि कार्यान्वयनको दृष्टिकोणबाट निराशाजनक अवस्था नै छ । सर्वसाधारण जनताले लाभ लिन सकिरहेको अवस्था छैन । घोषणा नयाँ नयाँ गर्ने तर काम नगर्ने परिपाटीले जनतामा नैराश्यता बढेको छ । विकासले गति नलिएका कारण युवाशक्ति पलायन पनि रोकिएको छैन भने कालापहाड भनौं या भारत भनौं, त्यता जाने जनशक्ति पनि रोकिएको छैन ।

स्वदेशमा उत्शाहजनक वातावरण नहुदा र भनेजस्तो काम र पैंसा नहुँदा अहिले पनि नेपाली जनता परनिर्भर हुन बाद्य भएका छन् । आफ्ना सन्तानको रेखदेख गर्न पाएका छैनन्, युवाहरु जन्मभूमिमा रमाउन पाएका छैनन् । राजनैतिक र प्रशासनिक बृत्तको आशा गर्दा गर्दा नागरिकहरु थकित भएका छन् । आँफै केहि गरौं भन्दा पनि लगानी गर्न नसक्ने अवस्था र राज्यबाट पाउनुपर्ने सहयोग केहि नपाउदा जनता दिक्क र थकित छन् ।

यसरी हरेक वर्ष देश र जनताका लागि भनेर सुनाईने बजेटको केहि अंश सर्वसाधारण नागरिकसम्म पनि आईपुग्छ कि भन्ने मान्दा मान्दै वर्ष वित्छ, एउटा अवधि वित्छ, दशक वित्छ र त्यति मात्रै होईन एउटा पुस्ता नै वित्छ र पनि मुलुकले आशा अनुरुप गति लिन सकेको छैन, जनताको अपेक्षाबमोजिम पटक्कै काम हुन सकेको छैन । चाकडी, चाप्लुसी गर्नेहरु, टाँठाबाठाहरु, जो शक्ति र पहुँचमा छन्, तिनैका लागि मात्रै देश भएको छ, सरकार भएको छ अभिभावकहरु भएका छन् । तर जसको पहुँच छैन, शक्तिमा छैनन्, असक्त र कमजोर छन्, तिनीहरुको लागि सून्य जस्तै छ । सरकार के हो थाहा छैन, राज्य के हो थाहा छैन र अवसर के हो त्यो पनि थाहा छैन । खेतीपाती र दशैतिहारको बेला घर आउने र अरुबेला काम खोज्न भारत जाने वा विदेशतिरै भविष्य खोज्ने बाहेक अरु सम्भावनाहरु अँझै पनि भेटिएका छैनन् ।

एकातिर सर्वसाधारणहरुको हितमा नीति र कार्यक्रम नै नबन्ने र अर्कोतिर भएका नीति, कार्यक्रम र बजेट टाँठाबाठाहरुले कागज मिलाउदै झ्वाम पार्ने परिपाटीले जनतामा निराशा मात्र छाएको छ । सरकार र सत्ताधारीहरु यसैलाई रामराज्य भएको घोषणा गरिरहेका छन्, तर आम सर्वसाधारणहरुका लागि भने गाउँका कुकुर सुत्केरी भएसरह मात्रै छ, जसले जनतामा खासै खुसी दिन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस

<