मुुलुक शान्ति र समृद्धिका बाटोमा


यतिवेला कोरोना महामारीको प्रभाव कमजोर बन्दैछ ।

विभिन्न शसस्त्र तथा भूमिगत समूूहहरु पनि शान्ति प्रक्रियामा आईसकेका छन् । भर्खरै मात्र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी राजनीतिक मूलधारमा फर्किएको छ । विशेष गरी विप्लव समूह सम्पूर्ण राजनीतिक विषयको समाधान संवादका माध्यमबाट गर्न तयार भएपछि नेपाली जनतामा खुुसिको सञ्चार भएको छ ।

सरकारले पनि उक्त पार्टीमाथि लगाएको प्रतिबन्ध हटाउने र सम्पूर्ण बन्दी रिहाइ एवं मुद्दा खारेजी गर्ने प्रतिबद्धता जनाएको छ । त्यसअनुसार बिहीबारै प्रतिबन्ध फुकुवा गरिसकेको छ । थुनामा रहेका कम्तीमा १ सय ४१ जनालाई विधि पु¥याएर अब छाड्नुपर्ने छ । प्रधानमन्त्री केपी शर्मा ओली र नेता चन्दले आज संयुक्त सभालाई सम्बोधन गरेपछि देशको अशान्ति विधिवत् विसर्जन हुनेछ ।

अशान्तिबाट शान्तिमा रूपान्तरणकै चरणमा देश पुनः अशान्तितर्फ होमिँदा सर्वसाधारण चिन्तित थिए । पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वमा भएको माओवादीको १० वर्षे सशस्त्र युद्धका क्रममा करिब १८ हजारको ज्यान गएको थियो।

सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा ६५ हजारभन्दा बढी उजुरी परेका छन् । तिनको छिनोफानो हुन सकेको छैन। अर्थात्, द्वन्द्वले पारेका घाउ अझै चह¥याइरहेका छन् ।

लामो समय युुद्धरत माओवादी शान्ति प्रक्रियामा आएर अहिले मूलधारको राजनीतिमा समाहित छ । नेकपा (एमाले) सँग पार्टी एकीकरण भए पनि पुनः उक्त दल विभाजन उन्मुख छ । त्यही माओवादी युद्धका एक अग्र(योद्धा विप्लवको नेतृत्वमा उक्त दल केही मागसहित हिंसात्मक राजनीतिमा पुनः होमिएको थियो।

त्यसले सर्वसाधारणलाई युद्धको ठूलै त्रास दिलाएको थियो । यस अवधिमा तीन जना विप्लवबाट र एक जना राज्यपक्षबाट मारिएका थिए। दुई वर्षअघि प्रतिबन्ध लगाएको उक्त दललाई पुनः राजनीतिक मूलबाटोमा ल्याउन सरकारले चार महिनायता घनीभूत पहल गरेको थियो । त्यो सफल भएको छ ।

राजनीतिक मुद्दाको किनारा राजनीतिक विधि र पद्धतिबाट लगाइनुपर्छ । हिंसा र अशान्तिको बाटो अवलम्बन गर्नुहुन्न। वर्तमान सरकारले कार्यभार सम्हाल्दा करिब ३ वर्षअघि देशमा ४४ सशस्त्र समूह सक्रिय थिए ।

तीमध्ये गोइत समूहबाहेक सबै मूलधारमा आइसकेका छन् । सरकारको शान्तिको यो पहल प्रशंसनीय छ । हुन पनि नेपालमा युद्ध र अशान्ति अटुट समस्या हुन् । वर्तमान सरकारले त्यसको समुल विश्राम गराएको छ । यी विविध कारणले मुुलुुक शान्ति र समृद्धितिर अगाडि बढ्ने आशा नेपाली जनतामा बढेको छ ।

शान्ति र अहिंसाका अग्रदूत गौतम बुद्धको देश नेपाल विश्व–शान्तिको अनुपम थलो हो भन्दा अत्युक्ति हुँदैन । यो देशलाई हामीले हिंसात्मक स्थलका रूपमा बिटुल्याउने होइन, शान्तिको नमुनाका रूपमा उजिल्याउनु जरुरी छ ।

जनता सदा शान्ति चाहन्छन् । त्यसैले अशान्तिको हरेक संस्करण बन्द गरिनुपर्छ । त्यस क्रममा विप्लव नेतृत्वको दलको मूलप्रवाहीकरणलाई स्वागत छ। र, त्यसलाई सम्भव तुल्याएकामा सरकारलाई बधाई छ ।

प्रतिक्रिया दिनुहोस