(सम्पादकीय) स्वास्थ्य क्षेत्रमा छलाङ्

भर्खरै मात्र सबै स्थानीय तहमा अस्पताल निर्माणका काम सुरु गरिएको छ ।

जिल्ला, प्रदेश र केन्द्रमा मात्र सीमित स्वास्थ्य सेवा अब जनताका घरैसम्म पुग्ने भएपछि नागरिकमा उत्साह थपिएको छ । स्वास्थ्य क्षेत्रमा भएको यस कार्यलाई अग्रगामी छलाङ्कै रुपमा मान्नुपर्दछ ।

ताजा सिटामोल र जीवनजलसमेत खान नपाएर मृत्युवरण गर्नुपर्ने बाध्यतामा रहेका विकट ग्रामीण बस्तीका नागरिकका लागि यो सुखद समाचार भएको छ । राज्यबाट निःशुल्क आधारभूत स्वास्थ्य सेवा पाउनुपर्ने संवैधानिक व्यवस्था कार्यान्वयनका लागि सरकारले लिएको ठूलो पहलकदमीका रूपमा यसलाई लिन सकिन्छ ।

स्वास्थ्य क्षेत्रमा सबै नागरिकको समान पहुँच विस्तार गर्न संविधानले दिएको निर्देशन पालना गराउनसमेत यो कदमले मद्दत गर्ने देखिन्छ । साँच्चै नै तोकिएको दुई वर्षभित्रमै अस्पताल निर्माण सकेर जनतालाई स्वास्थ्य सेवा प्रवाह गराउन सकियो भने जनताले यस विषयमा भने सरकारको प्रशंसा पक्कै गर्नेछन् । तर यस महान अभियानमा सरोकारवाला सबैको निगरानी, खबरदारी र सहयोग भने निरन्तर आवश्यक रहन्छ ।

एकैपटक तीन सय ९६ वटा स्थानीय तहमा अस्पताल निर्माणको शिलान्यास गर्ने जमर्कोलाई सानो रुपमा लिनुुहुदैन । अपवाद्बाहेक सवैमा शिलान्यास भैसकेको छ । यी स्थानीय तहमा न्यूनतम ५ बेडदेखि १५ बेडसम्मका अस्पताल निर्माण हुने भएका छन् ।

त्यस्तै सातवटै प्रदेशमा सरुवा रोग अस्पताल निर्माणको शिलान्यास पनि गरिएको छ । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रमअनुसार अस्पताल निर्माणको थालनी गरिए पनि बाँकी तहमा पनि आउने वर्ष नै अस्पताल निर्माणका काम सुरु गरिने सरकारी लक्ष्य राखिएको छ ।

करीब तीन दशकअघि स्थापना गरिएका स्वास्थ्य चौकीका भरमा अल्झिरहेका गाउँपालिकामा अब दक्ष चिकित्सकसहितको टोली रहने गरी अस्पताल स्थापना हुनेछन् । तर शिलान्यास् हुदैमा समयमै काम सम्पन्न हुुन्छ भन्ने होइनु, तर नागरिकमा आशा भने देखिन्छ । साथसाथै नागरिकले निरन्तर खवरदारी र निगरानी गर्न जरुरी छ ।

सरकारी अस्पताल नभएका कतिपय स्थानीय तहमा निजी अस्पताल सञ्चालनमा छन् । त्यस्ता अस्पतालमा जाँदा सामान्य स्वास्थ्य समस्या पर्दा पनि प्रशस्तै पैसा खर्च गर्नुपर्ने अवस्था छ । केन्द्रबाट महँगो सेवासुविधा दिएर चिकित्सक लैजानुपर्ने भएका कारण बिरामीबाट चर्को रकम असुल्नुपर्ने बाध्यता निजी अस्पताल सञ्चालकमा छ ।

अस्पताल निर्माणमा सरकारले बजेट अभाव हुन दिनु हुँदैन । भौतिक संरचना निर्माणलाई मात्र उपलब्धि मानेर हुँदैन, पर्याप्त जनशक्ति र उपकरण उपलब्ध गराउनुपर्छ । भवन निर्माण कार्यमा पारदर्शिता कायम गरिनुपर्छ । सेवाको स्तरियतामा ध्यान दिनुपर्छ ।

सहरकेन्द्रित चिकित्सक तथा स्वास्थ्यकर्मीलाई अतिरिक्त सुविधा दिएर भए पनि गाउँका अस्पतालमा पु¥याउन सक्नुपर्छ । अस्पताल निर्माणसँगै जनताले सहजरूपमा स्वास्थ्य सेवा पाएको अनुभूति गर्न पाउनुपर्छ । नागरिकलाई आशा छ, सरकारले स्वास्थ्य क्षेत्रमा नागरिकहरुको आशा अपेक्षा केही पक्कै पुरा गर्नेछ ।

प्रतिक्रिया दिनुहोस

<