दार्मा गाउँपालिका द्धारा सहजकर्ता शिक्षक तोकियो : अनलाइन कक्षाको नाममा कुनै शुल्क नलिन निर्देशन

वैसाख २४, सल्यान ।
दार्मा गाउँपालिकाले कोरोनाको कारण विद्यमान बन्दावन्दीको अवस्थामा एसइई लाई मध्यनजर गर्दै सूचना जारी गरेको छ । बुधबार जारी गरिएको सूचनामा लकडाउनको कारण सन्चालन हुन नसकेको एसइइ तथा अन्य शैक्षिक क्रियाकलापका सन्दर्भमा विद्यालय, विद्यार्थी तथा अभिभावकहरुमा अन्यौलता रहेकोले गाउँपालिकाले आवश्यक निर्देशन गरेको  छ । सूचना मार्फत एसईइ दिनको लागि तयारी अवस्थामा रहेका विद्यार्थीहरु बाट अनलाइन कक्षाको नाममा कुनै शुल्क नलिन वा बैंकखातामा रकम जम्मा गर्ने कार्य नगराउन निर्देशन गरिएको छ । साथै नेपाल सरकारको अर्को निर्णय नहुंदा सम्मको कुनै पनि विद्यालयले विद्यार्थी भर्ना नगर्न अनुरोध गरेको छ ।
लकडाउनको कारण विद्यार्थीहरुको अध्ययनमा प्रतिकुल असर परेको प्रति केन्द्रित हुंदै गाउँपालिकाले अभिभावकहरुले नै अध्ययन गराउन तथा विद्यार्थी स्वयम्ले स्वअध्ययन गर्नुपर्नेमा जोड दिएको छ । लकडाउनको समयावधी समेत अनिश्चत देखिएको वर्तमान अवस्थामा घरमा नै अभिभावकहरुले बालबालिकाको अध्ययनलाई निरन्तरता दिन आग्रह गरिएको छ । यदि कुनै विद्यालयले नतिजा प्रकाशन नगरेको भए अनावश्यक भिडभाड नगरी नतिजा प्रकाशन गरी सम्वन्धित अभिभावकलाई जानकारी गराउन गाउँपालिकाले अनुरोध गरेको छ ।

डिस होमको पहुंचमा रहेका विद्यार्थीहरुको लागि डिसहोमबाट कक्षा लिन जानकारी गराउँदै डिसहोमको समयतालिका उल्लेख गरिएका छ भने इन्टरनेटको पहुँचमा रहेकाहरुको सहजताको लागि वेबसाइटहरु उल्लेख गरिएको छ । विद्यार्थीहरु उपलव्ध सूचना प्रविधि लाई उच्चतम सदुपयोग गर्न समेत आग्रह गरिएको छ ।

गाउँपालिकाले विशेष गरी एसइइ दिनको लािग पर्खिरहेका विद्यार्थीहरुको अध्ययनलाई प्राथमिकता दिएको पाईएको छ । उनीहरुको लागि गाउँपालिका स्तरीय सहजकर्ता शिक्षक समेत तोकेको बताईएको छ । विषयगत दक्षता भएका शिक्षकहरुलाई सम्पर्क गरी विद्यार्थीहरुले आफ्नो अध्ययनलाई सहज बनाउन सक्ने र उनीहरुको लागि सहजकर्ता शिक्षकहरु तयारी अवस्थामा रहने गरी गाउँपालिकाले ९ जना शिक्षकहरुलाई सहजकर्ता शिक्षक भनी तोकेको छ । गाउँपालिका द्धारा जारी गरिएको सूचनामा सहजकर्ताको नाम र सम्पर्क नम्बर पनि उल्लेख गरिएको छ ।

यसका अलावा गाउँपालिकाले नेपाल सरकारबाट प्राप्त निर्देशनहरु पूर्ण पालना गर्न सबैमा अनुरोध गर्दै लकडाउन पछि सम्पूर्ण विद्यालयका प्रधानाध्यापकहरुलाई यस अवधीको पूर्ण प्रतिवेदन पेश गर्न निर्देशन गरेको छ ।

प्रतिक्रिया दिनुहोस

<