कर्णालीमा एमालेका तीन मन्त्रीले दिए सामूहिक राजीनामा


सुर्खेत, २३ चैत ।

कर्णाली प्रदेशका तीन मन्त्रीले सामूहिक राजीनामा दिएका छन् । नेकपा एमालेले माओवादी केन्द्रलाई दिएको समर्थन फिर्ता लिएपछि सरकारमा सहभागी एमालेका तीन मन्त्रीले सामूहिक राजीनामा दिएका हुन् ।

एमालेबाट सरकारमा सहभागी सामाजिक विकासमन्त्री दल रावल, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढा र आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले राजीनामा दिएका हुन् । राजीनामा दिनुअघि मन्त्रिपरिषद् बैठक बसेको थियो । तीनजना मन्त्रीले राजीनामा दिएर नेकपा एमाले संसदीय दलको बैठकमा सहभागी भएका छन् ।

नेकपा विभाजनपछि एमालेले यहीँ चैत ५ गते माओवादी केन्दलाई दिएको समर्थन फिर्ता लिने र सरकारमा सहभागी मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको थियो । कर्णाली प्रदेश सभामा ४० जना सांसदमध्ये माओवादी केन्द्रले दैलेखबाट निर्वाचित सांसद धर्मराज रेग्मीलाई कारवाही गरेको पत्र संसदलाई बुझाएको छ ।

अब प्रदेश सभामा ३९ जना सांसद छन् । यीमध्ये नेकपा एमालेका २०, माओवादी केन्द्रका १२, नेपाली कांग्रेसका ६ र राप्रपाका एकजना सांसद रहेका छन् ।

प्रतिक्रिया दिनुहोस