सङ्कटमा पर्दै सिद्धकुमाखको पत्थर शिल्पी

सल्यान, २० मंसिर ।
कुटानी पिसानीका लागि आधुनिक मिलको प्रयोग हुन थालेपछि पानी घट्टका लागि आवश्यक पर्ने पत्थरको मागमा कम भएको छ । पानी घट्ट हराउँदै जान थालेपछि घट्ट बनाएर जीविका चलाउनेहरु अहिले सङ्कटमा परेका छन् ।

कुनै बेला घट्ट बनाउने पेसा अँगांलेका घट्ट व्यवसायीहरु अहिले फुर्सदिला बनेका छन् । सिद्धकुमाख गाउँपालिका–३, फलाटेका पुने रेउलेले पानी घट्ट बनाउने काम गर्न थालेको ४३ वर्ष भयो । उनी आजभोलि फुर्सदिला भएका छन् ।

उनका अनुसार सोह्र वर्षको उमेरदेखि पानी घट्ट बनाउन थालेको भएपनि अहिले फुर्सद छ । एउटै घट्ट खानीबाट लाखभन्दा बढीका पानीघट्ट बिक्री गरेर परिवारको खर्च टारे उनलाई अहिले जीविका चलाउन मुस्किल परेको छ । फलाटेकै विक्रम रेउलेले पनि घट्ट बनाएरै घर खर्च जुटाउने गथ्र्ये ।

फलाटेकासबै परिवार घट्ट पेशामा आबद्ध थिए । घर नजिकैको ढुङ्गेखानीबाट पानीघट्ट र जाँतो बनाउन बिहानैदेखि व्यस्त हुने गर्दथे तर अहिले महिनामा एउटा पनि घट्टको माग आउँदैन ।

पहिले एक परिवारले पत्थरबाट बन्ने सिलौटा, जाँतो र घट्ट पात्थर निर्माण गरेर मासिक ५० हजार रुपियाँभन्दा बढी कमाइ गर्थे । यहाँका २५ परिवारले घट्ट बनाउने पेशा सङ्कटमा परेको बताएका छन् ।

गाउँघरमा विद्युतीय मिलबाटै कुटानी पिसानीको काम हुन थालेपछि पानीघट्ट लोप हुन थालेपछि घट्ट निर्माण पेशा पनि सङ्कटमा परेको हो । यहाँ बन्ने घट्ट सल्यानलगायत रोल्पा, रुकुम र जाजरकोटसमेत जाने निर्यात हुने गरेको थियो । एक जोडा घट्ट २० हजारदेखि ६० हजार रुपियाँमा बिक्री हुने गरेको छ ।

सल्यानको फलाटेमा तीन ठाउँमा पानीघट्ट बनाउने ढुङ्गा खानी छ । यहाँको ढुङ्गा निकै बलियो भएकोले घट्टको पत्थरको रुपमा प्रयोग हुने गरेको छ । सिद्धकुमाख गाउँपालिका अध्यक्ष चित्रबहादुर चलाउनेले पानीघट्ट व्यवसायीले माग गर्न आएमा सहयोग गर्न तयार रहेको र व्यवस्थित गर्नका लागि ठोस योजना बनाउने बताए ।

प्रतिक्रिया दिनुहोस

<