ट्राफिक सचेतनासंगै दुर्घटना न्यूूनिकरण

सल्यान, १९ असोज ।

पछिल्लो समय सल्यानमा ट्राफिक प्रहरी सचेतना कार्यक्रमले दुर्घटना न्यूनिकरणमा टेवा पुग्न थालेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ ।

सकेसम्म सवारी साधन, यातायात व्यबशायी र चालकका कारण यात्रुहरुले दुख नपाउन र अप्रिय घटना नघटून भनेर विभिन्न सचेतनामूलक क्रियाकलाप गरिरहेको सल्यानका ट्राफिक प्रहरी प्रमुख सन्दिप वि.क.ले जानकारी दिएका छन् ।

एकातिर कोरोना महामारीबाट सवै बच्नुपर्छ भन्ने उदेश्यले विभिन्न सचेतनामूलक क्रियाकलाप गरेको र अर्कोतिर यात्रुहरुको सुरक्षाका लागि चालक र सवारीको नियमित चेकजाँच गर्ने गरिएको उनले जानकारी दिए ।

सवारी चालक अनुमति पत्र भए नभएको, बीलबुक भएनभएको, मादक पदार्थ सेवन गरेनगरेको, सवारी साधनको अवस्था ठिक भएनभएको चेकजाँचका लागि जिल्लाका मूख्य बजारक्षेत्रहरुमा आवश्यक जनशक्ति रहेको पनि उनले जानकारी दिए ।

‘जिल्लाका प्रमुख बजारक्षेत्र खलंगा, श्रीनगर, सल्लीबजार, थारमारे, लुहाम र कपुरकोटमा नियमित सवारी चेकजाँच र ट्राफिक सचेतनाका कार्यक्रमहरु भईरहेको, चालक तथा सवारीधनीले नियमानुसार नगरेको पाईएमा सचेत गराउने र आवश्यकता अनुसार कारबाही समेत गर्ने गरिएकोले अहिले सवैजना सचेत हुुँदै गरेको अवस्था छ,’ उनले भने । हाल दिनमा २ पटक सवै क्षेत्रमा चेकजाँच गरिरहेको र अब दशैं तिहारको समयमा दिनमा ३ पटक सम्म चेकजाँच गरिने पनि वि.क.ले जानकारी दिए ।

त्यस्तै भर्खरै मात्र सल्यान श्रीनगरबाट खलंगा हेर्ने गरी जिम्मेवारी पाएका ट्राफिक प्रहरी रमेश शर्माले जिल्ला प्रहरी कार्यालयसंगको समेत सहयोग र सहकार्यमा नियमित रुपमा गरेको चेकजाँचबाट चालक र सवारीधनीहरु सजग हुन थालेको बताए ।

‘अहिले ट्राफिक प्रहरीको कडाईले दुर्घटनामा न्यूनिकरण भएको छ,’ उनले भने । आफू खलंगामा आएपछि पनि खलंगा क्षेत्रमा कुनै प्रकारको दुर्घटना नभएको र अप्रिय घटना नभएको उनले बताए ।

त्यस्तै सल्यान श्रीनगरमा रहेको ‘टाइम्स कम्यूलोजि’ संगको सहकार्यमा ‘हजुरको मास्क खोइ’ भन्ने सन्देशमूलक स्टिकर सवारी साधनमा टाँस्ने गरिएको, मास्क नलगाएकाहरुलाई निशुल्क रुपमा छ सय जति मास्क वितरण गर्ने गरेको र विभिन्न चेकपोष्टहरु अगाडि  राखिएको हजुरको मास्क खोइ भन्ने सन्देशले पनि धेरैलाई सचेत बनाएको छ,’ ट्राफिक प्रमुख बि.क. ले भने ।

त्यस्तै लामो समयपछि खुलेका सार्वजनिक यातायातबाट नागरिकले दुख नपाउन भनेर गाडिको अवस्था चेकजाँच गर्ने र कतिपय व्यबसायीहरुबाट सर्वसाधारणहरु नठगिउन भनेर पनि गाडिको भिडभाड् हुने क्षेत्रमा अडियो सन्देशबाट यात्रुलाई सजग गराउने कार्य पनि शुरु गरेको वि.कले जानकारी दिएका छन् ।

यो कार्य देशकै नयाँ उदाहरण हुन सक्ने उनको भनाई रहेको छ । हजुरको मास्क खोई भन्ने कार्यक्रमको सन्देश सिंगो कर्णाली प्रदेशमै पुगेको वताउदै आफूले नागरिकहरुको सुरक्षाका लागि यस्तै अन्य श्रृजनशिल कार्यमा समेत जुटेको वि.क.ले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस

<