सल्यानमा पहिलो पटक समुदायमा देखियो कोरोना, वडा सिल


सल्यान, २० भदौँ ।
सल्यानमा पहिलो पटक समुदाय स्तरमा कोरोना भाइरस देखिएको छ । जिल्लाको छत्रेश्वरी गाउँपालिका वडा नं. ५ मा पहिलो पटक ट्राभल हिस्ट्रि नभएका एक जनामा कोरोना पुष्टि भएको हो ।

समुदायमा कोरोना संक्रमण देखिएपछि छत्रेश्वरी गाउँपालिकाले वडा नं. ५ सिल गरेको छ ।

शनिबार बिहान ५ बजेदेखि भदौ २७ गते राती १२ बजेसम्मको लागि वडा सिल गरिएको जनाएको छ । संक्रमित व्यक्तिको सम्पर्कका आएका व्यक्तिहरुको खोज पड्ताल गर्न वडा सिल गरिएको गाउँपालिका अध्यक्ष सन्तोष केसीले जानकारी दिए ।

वडा नं. ५ अन्र्तगत पर्ने सम्पूर्ण क्षेत्रहरुमा अत्यावश्यक सेवा र साधनहरु बाहेकका सम्पूर्ण सवारी साधन, पसल व्यवासाय सञ्चालन तथा हिडडुलमा समेत पूर्ण निषेध गरिएको गाउँपालिकाद्धारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

सल्यानमा हालसम्म कोरोना संक्रमितको संख्या ३ सय पुगेको छ । संक्रमित मध्ये २ सय ५७ जना निको भएर घर फर्कि सकेका छन् ।

प्रतिक्रिया दिनुहोस

<