झारा टार्ने मात्र बन्नुहुदैन स्वरोजगार कार्यक्रम


बेरोजगारलाई स्वरोजगार बनाउने भनेर वर्षेनी राज्यले अरबौं रुपँया विनियोजन गर्छ । स्वरोजगार बनाउने भनेर युवाहरुलाई तालिम पनि दिन्छ । तर तालिम लिईसकेपछि कतिले काम गरे वा किन काम गरेनन् भनेर कसैले विश्लेषण र खोजिनीति गर्दैन । तालिम दिनेले भत्ता पचाउँछ । तालिम लिनेले केवल प्रमाणपत्र पाउँछ । तालिम लिएर पनि व्यवशाय गर्नलाई लगानि जुट्दैन वा गाउँमा सानोतिनो काम गर्न युवाहरुलाई मन लाग्दैन । लाखौं युवाहरुको अवस्था यस्तै छ ।

अहिले आएर बेरोजगारलाई भत्ता दिने कार्यक्रम पनि त्यस्तै हुने देखिएको छ । बेरोजगारीहरुले उद्योग व्यवशाय सञ्चालन गर्ने हो भने थोरै लगानिले गर्न नसक्ने अवस्था छ । धेरै लगानि गर्ने पैंसा बैंक वा साहु कसैले पनि दिदैन । न त्यो भत्ताले आत्मनिर्भर बनाउँछ, न त गतिलो काममा नै प्रवेश गर्ने बाटो दिन्छ । यसरी राज्यको लगानि बालुवामा पानी झैं हुने भएको छ र अँझै पनि त्यही दिशामा नै विभिन्न गतिविधिहरु अगाडि बढेको महशुस जनतालाई भईरहेको छ ।

तर राज्यले चाह्यो भने नागरिकलाई व्यवशायमा प्रोत्साहन गर्न सक्दथ्यो । भएका उद्योगहरुलाई निरन्तरता दिन आवश्यक सहयोग गर्न सक्दथ्यो वा सहुलियत व्याजदरमा ऋण दिन सक्दथ्यो । यदि भएका उद्योगी व्यवशायीले आत्मनिर्भर हुने अवस्थामा तिनै उद्योगी व्यवशायीले  बेरोजगारलाई रोजगारी दिन सक्दथे ।  यतातिर ध्यान कसैले दिएको देखिदैन ।

अँझ बेरोजगारका नाममा राजनैतिक दलका कार्यकर्ता र पहुचमा हुनेहरुले बजेट दुरुपयोग गर्ने सम्भावना बढेको छ । यस अघि पनि कृषकका नाममा ठक कृषकहरुले राहत पाएका छन् ।

पशुपालकका नाममा ठग पशुपालकले सरकारबाट अनुदान पाएका छन् । सरकारी अनुदानका लागि एकैदिन गाउँभरीका बाख्रा आफ्नो घरमा ल्याएर अनुगमन गराउने र उत्कृष्ट पशुपालकको रुपमा पुरस्कृत हुने वा अनुदान पाउने परिपाटी भएको गुनासो नागरिकहरुबाटै आउने गरेको छ ।

आजसम्म जति पनि स्वरोजगारका कार्यक्रमहरु आए, तिनीहरुमध्ये अपवादका केहि कार्यक्रमबाहेक अन्यबाट नागरिकहरुले खासै उपलब्धी पाएका छैनन् । यसो हुनको कारण नेतृत्वले पनि गम्भिर भएर सोच्न सकेको देखिदैन भने शक्तिमा हुनेहरुले नाताबाद्, कृपावाद् र कार्यकर्तामूखि कार्यक्रम बनाईदिनाले नै हो ।

अतः स्वरोजगारका कार्यक्रम प्रभावकारी बनाउन नागरिकहरुलेपनि आ–आफ्नो तह र ं तप्काबाट नेतृत्ववर्गलाई खवरदारी गरिरहनुपर्दछ । गलत क्रियाकलापको नागरिकस्तरबाट तत्काल प्रतिवाद गरिनुपर्दछ । सरकारले बेरोजगारलाई भत्ता होईन, नागरिकले सञ्चालन गरेका उद्योग व्यवशायलाई सपोर्ट गर्नुपर्छ । जनताले उत्पादन गरेका बस्तुको बजार खोजिदिनुपर्छ ।

स्वरोजगारका नाममा कार्यकर्तालाई रकम बाँड्ने परिपाटी बन्द गर्नुपर्छ, बेरोजगारी भत्ताका नाममा उनै आसेपासे र नातागोतालाई मात्र राहत दिने काम गरिनुहुदैन । झारा टाराई स्वरोजगारका कार्यक्रम बन्द गरिनुपर्छ । अब पनि त्यस्तै प्रकृतिका कार्यक्रम ल्याएर सर्वसाधारण नागरिकहरुलाई अलमलमा पारिनुहुदैन ।

प्रतिक्रिया दिनुहोस

<