तलब बृद्धिको असर

आगामी आ.ब.देखि लागु हुने गरी सरकारी कर्मचारी र सार्वजनिक पदमा रहेका उच्च ओहदाका पदाधिकारीहरुको  तलब बृद्धिले बजारमा नकारात्मक असर पर्न थालिसकेको छ । अहिले नै बजार भाउ बढ्ने संकेत देखा परिसकेको छ । तलब बृद्धिले केहि सीमित नागरिकहरुमा खुसी र अधिकांश नागरिकहरुमा निराशा छाएको छ ।

तलब बृद्धि गर्नको लागि देशमा उद्योग धन्दा बढ्नुपर्ने हुन्छ । कलकारखाना थपिनुपर्ने हुन्छ । उत्पादन दर बढ्नुपर्ने हुन्छ । तर अहिले ति कुनै पनि कुराहरु भएको अवस्था होईन । केवल चालु आ.ब .सिद्धिन थालेको र नयाँ आ.ब. सुरु हुन थालेको मात्रै हो ।

नागरिकहरुमा निराशा यस अर्थमा भईरहेको छ कि अब सरकारले करको दर पनि बढाउन सक्छ । बजार भाउ अँझ बढि हुन्छ । बेरोजगारीहरुले अवसर पाउने सम्भावना कम रहन्छ । उनै कार्यरत कर्मचारी र पदाधिकारीहरुको मात्र सेवा सुविधा थपिन्छ । अहिले त अँझ देशभर तलबी जनप्रतिनिधि भएका छन् । जसले गर्दा आम्दानीको श्रोत केहि नहुने तर खर्चको श्रोत बढ्नुले सकारात्मक सन्देश दिनै सक्दैन ।

थप नागरिकहरुलाई रोजगारीका अवसर श्रृजना गर्नुपर्नेमा अहिले भएका उद्योगहरु टाट पल्टिने अवस्थामा छन् । देशको उत्पादनलाई छिमेकी देशको उत्पादनले विस्थापित गरिरहेको छ । नेपाली कृषकले ५० रुपँया किलो तरकारी उत्पादन गर्नेबेला छिमेकी देशबाट ४० रुपँया किलोमै पाईने भएपछि नेपालका कृषक पनि माथि उठ्न सकिरहेका छैनन् ।

 

उता उद्योग व्यवशायीहरु अब आफ्ना कामदारलाई सेवा सुविधा बढाउनुपर्ने दवावमा पर्दछन् । एक त पुरानै आधारमा समेत तोकिएको पारिश्रमिक दिन नसकिरहेको अवस्थामा अँझ थप सेवा सुविधा कसरी दिने ? यसले गर्दा अब बरु उद्योग धन्दा नै नगरेर बस्ने अवस्था कतिपयलाई हुँदैछ ।
निजी व्यवसायमा अहिले सोचेजस्तो सफलता छैन । कुनै कुनै उद्योगधन्दाबाहेक अधिकांश उद्योग धन्दाहरु बल्ल तल्ल सञ्चालन गरेको अवस्था  छ । नेपालका कुनै पनि निजी क्षेत्रका कर्मचारी र कामदार सन्तुष्ट छैनन् र पनि चुपचाप बस्न बाद्य हुनुपरेको छ । किनकी लगानिकर्ताले आफू टाट पल्टिने अवस्थामा कामदार घटाउनुपर्ने हुन्छ या थोरै पारिश्रमिकमा काम गर्नुपर्ने समझदारी गर्नुपर्ने हुन्छ ।

सरकारी स्तरमा भएको तलब बृद्धिले किसानहरु समेत खुशि छैनन् । किनकी नेपालका अधिकांश कृषक वर्षदिन सम्म खाना समेत नपुग्ने अवस्थामा छन् । तलब बृद्धिले बजार भाउ बढ्छ र बढेको बजारभाउ अनुसार आफूलाई समायोजन गर्न मुश्किल पर्ने देखिएको छ । तलब बृद्धिले सवै कर्मचारीहरुलाई समेत समेटेको देखिएन । विद्यालय कर्मचारीहरुको सेवा सुविधा नथपिएको भनेर जताततै गुनासो बढिरहेको छ । तलब बृद्धिले सर्वसाधारण नागरिकहरु पनि चिन्तीत बन्दै गएका छन् । अब सरकारले करको दर पनि पक्कै बढाउनेछ । लाखौं डेरावालहरुको कोठाभाडा दर बढ्नेछ ।
सरकारी स्तरमा भएको तलब बृद्धिले बेरोजगारहरुलाई पनि निराशा बनाएको छ । थप उद्योग धन्दाहरु खुल्नुपर्नेमा प्रशासनिक खर्चमै अधिकांश बजेट सिद्धिने भएपनि आगामी वर्षपनि धेरै उद्योगधन्दाहरु थपिने संकेत देखिदैन । श्रम बजारमा आएका युवाहरु फेरी पनि विदेशकै लाईनमा लाग्नुपर्ने अवस्था देखिन्छ ।

निष्कर्षमा भन्नुपर्दा कर्मचारीको तलब बढ्नुलाई अन्यथा मानिएको छैन ता पनि राज्यको माथिल्लो तहमा बस्नेहरुले किसान्, मजदुर लगायत आम नागरिकको हितमा हुने गरी काम गर्नुपर्ने हुन्छ । सवै नागरिकहरुलाई समान दृष्टिकोणले हेर्नुपर्दछ । एउटै देशका नागरिक कोहि सुविधाभोगी बन्दै जाने र कोहि दिनरात कसरी विताउने भनेर छट्पटाउनुपर्ने अवस्था बनाईनुहुँदैन । बरु थप उद्योगधन्दाहरुमा लगानी गरेर नयाँ नयाँ युवाहरु वा बेरोजगार युवाहरुलाई काम उपलब्ध गराउनु सरकारको जिम्मेवारी हो ।

प्रतिक्रिया दिनुहोस

<