(सम्पादकीय) टालटुले कामले बन्दैन मुलुक


विकासका आधारहरुमध्ये नागरिकहरुलाई रोजगारी दिनुु पनि हो ।

जब शारीरिक र बौद्धिक क्षमताका नागरिकहरु नै कहाँ जाँउ र के गरौं भनेर भौंतारीइरहने अवस्थामा विकासले फड्को मार्न सक्दैन । विकासका लागि केही दिनको रोजगारी, भाषणमुखि क्षमता विकास र उचित अवसरका लागि राजनैतिक नेतृत्वको चाकडी गर्नुपर्ने अवस्था लगायतका क्रियाकलाप रहुन्जेलसम्म विकासले गति लिन सक्दैन ।

कतिपयले अहिलेकै विकासलाई पनि निकै बढी भएको भनेर प्रसंसा गरिरहेका छन् । तर नेपाल संगसंगै विजुली बालेका देशहरुमा आज हामिले कल्पनै गर्न नसक्ने विकास भएको छ । हामी भने कछुवाको गतिमा दौडिरहेका छौं ।

एउटा मानब जन्मेपछि उमेर बढ्दै जाँदा स्वभाविक रुपमा उसको केही उचाई बढ्छ, तौल बढ्छ, शरीरका अंगहरुको विकास हुुन्छ, जुंगा दाह्रि आउछन् र क्रमशः उसको शारीरिक विकास भईरहेको हुन्छ । जसले पोषणयुक्त आहारको प्रयोग गरेको हुन्छ, उ स्वस्थ र बलियो हुन्छ , तर जसले पोषणयुक्त खाना पाएको हुदैन, उ कमजोर हुन्छ । हामी नेपाली नागरिकहरु पनि त्यस्तै छौं । समय वित्दै जाँदा केही हुनैपर्ने कुराहरु भयो ।

तर जुन रुपमा हुुनुपर्नेथियो, त्यो रुपमा भएन । भर्खर जन्मेको बच्चा १० वर्ष पार गरेपछि पक्कै ठूलो भएको हुन्छ, त्यसैलाई महान उपलब्धी हो भन्नेरुपमा हाम्रा परिवर्तनकारी शक्तिहरुले दावि गर्ने गरेका छन् ।

समय वितेपछि क्रमशः जनसंख्या बढ्यो, मानिसका आवश्यकता बढे, बजार बढ्यो, केही यातायातको विकास भयो, केही संचार र प्रविधिको विकास भयो र यी सवै सामान्य कुुरा हुन् । यीनलाई नै महान उपलब्धी भनेर भन्न मिल्दैन । आज छिमेकी देशहरुले कति धेरै विकास गरिसकेका छन् । त्यतातिर सोच्न जरुरी छ ।
हामी त्यस्तै विकास किन गर्न नसक्ने ? प्रश्न यहिनेरै हो । अहिलेसम्म सडकहरुको अवस्था नाजुक छ ।

कृषकले मल नपाएर प्रत्येक वर्ष हैरानी भोगेका छन् । स–साना कुराहरुमा पनि नागरिकहरुले निकै कष्ट भोगीरहेका छन् । विजुलिबत्तिको विस्तार भर्खरै अगाडि बढेको छ । अलि सन्तोष गर्नलायक विकास भनेको सञ्चारक्षेत्रको हो ।

बाँकी विकासका कामहरु दयनीय नै छन् । यसर्थ अब पनि नागरिकलाई केही दिनको रोजगारी, क्षमता विकासका नाममा बजेट मात्रै सक्ने काम वा अनुदानका नाममा कनिका छर्नुभन्दा सवै रकम जम्मा गरेर ठूला उद्योगधन्दामा लगानी गर्न वा विदेशबाट आयात गर्नुपर्ने वस्तुहरुको नियन्त्रण गर्न सक्ने उत्पादनमा जोड दिन जरुरी छ । टालटुले कामकाज र गतिविधि बन्द गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस

<