मल कारखाना स्थापनाबारे परामर्श सुरू

पाँच वर्षभित्रमा कारखाना सञ्चालनमा ल्याउने तयारी

 

सिरहा, १९ मंसिर  ।

रासायनिक मलको अभाव अन्त्य गर्न सरकारले नेपालमै कारखाना स्थापना गर्ने विषयमा परामर्शको प्रक्रिया अगाडि बढाएको छ । कृषि मन्त्रालयका पूर्वसचिव राजेन्द्र भारीको संयोजकत्वमा गठन गरिएको अध्ययन कार्यदलले बुझाएको प्रतिवेदनका आधारमा मन्त्रालयले छलफल अगाडि बढाएको हो ।

सो प्रतिवेदन तयार गर्दा विगतमा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) र लगानी बोर्ड नेपालले नेपालमा रासायनिक मल कारखाना खोल्नका लागि विगतमा गराइएको अध्ययनलाई आधार मानेको छ । सरकारले स्थापना गर्ने कारखानाले युरिया मल उत्पादन गर्नेछ ।

कृषि मन्त्रालयका सचिव डा. योगेन्द्र कार्कीले पाँच वर्षभित्रमा रासायनिक मलको कारखाना सञ्चालनमा ल्याउने गरी अध्ययन र छलफल अगाडि बढेको बताउनुभयो । रासायनिक मलको कारखाना खोल्ने मनस्थिति सरकारले बनाइसकेको र त्यसको अध्ययनलाई तीव्रता दिएको छ । कृषि मन्त्रालयले अर्थ र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग छलफल गरिरहेको छ ।

मोडालिटी, लगानी, ठाउँलगायतका विषयमा छलफल चलिरहेको कृषि मन्त्रालयका सहसचिव कञ्चन पाण्डेले जानकारी दिनुभयो । कोइला, ग्यास, पानी केबाट मल उत्पादन गर्नेे छलफलको विषय बनेको छ ।

प्रारम्भिक छलफलको क्रममा सबैभन्दा सस्तो र सुलभ ग्यास नै हुनसक्छ । कोइलाबाट कारखाना सञ्चालन गर्न गाह्रो हुने बताउँदै उहाँले भन्नुभयो, ‘कोइला त महँगो पर्नुका साथै ढुवानी पनि निकै झन्झटिलो छ । कोइलाले वातावरणमा पनि प्रतिकूल असर पार्ने भएकाले कोइला उपयुक्त नहुने प्रारम्भिक निष्कर्ष हो तर निर्णय चाहिँ भइसकेको छैन ।’

पानीबाट सञ्चालन गर्ने प्रविधि एकदमै हाइटेक हो । यो प्रविधि ठूलाठूला विकसित देशले प्रयोगमा ल्याउन सकिरहेका छैनन् । विद्युतीय शक्तिको प्रयोगबाट पानीलाई विच्छेदन गरी हाइड्रोजन र अक्सिजन निकालिन्छ ।

वायुमण्डलीय हावाबाट नाइट्रोजन शोषित गरिन्छ । हाइड्रोजन र नाइट्रोजनको ग्यांसलाई धेरै तापक्रम र प्रेसरमा प्रतिक्रिया गराई एमोनिया उत्पादन गरिन्छ । एमोनिया र सिमेन्ट उद्योगबाट निस्कने कार्बनडाइअक्साइडलाई प्रतिक्रिया गराई युरिया उत्पादन गरिन्छ । सबै विकल्पबारे अध्ययन गर्दा ग्यास नै सस्तो र सुलभ हुने देखिएको उहाँको भनाइ छ ।

संसारका अन्य मुलुकमा चलेको विधिमा प्राकृतिक ग्यासबाट हाइड्रोजन र कार्बनडाइअक्साइड निकालिन्छ । नाइट्रोजन हावाबाट शोषित गरिन्छ । हाइड्रोजन र नाइट्रोजनको ग्यासलाई धेरै तापक्रम र प्रेसरमा प्रतिक्रिया गराई एमोनिया उत्पादन गरिन्छ । एमोनिया र सिमेन्ट उद्योगबाट निस्कने कार्बनडाइअक्साइडलाई प्रतिक्रिया गराई युरिया उत्पादन हुने गरेको प्रतिवेदनमा उल्लेख छ ।

नेपालमा वार्षिक करिब सात लाख मेट्रिक टन युरिया मलको आवश्यकता पर्छ । जाइकाले प्रतिदिन २७५ मेट्रिक उत्पादन गर्ने क्षमताको कारखाना सञ्चालन गरिने प्रतिवेदनमा उल्लेख गरिएको छ । यो कारखाना हेटौँडा सिमेन्ट उद्योगको आसपास राखिने छ । त्यो कारखानामा पाँचवटा विभिन्न प्लान्ट स्थापना गरिने छ ।
त्यस्तै, लगानी बोर्डले गराएको अध्ययनमा धनुषाको ढल्केबर, उदयपुरको जलजले र नवलपरासीको बर्दघाटमध्ये ढल्केबरलाई उपयुक्त ठहराइएको छ । त्यसका लागि १६० हेक्टर जमिन चाहिने प्रतिवेदनमा उल्लेख छ ।

लगानी बोर्डले पनि मल उत्पादन गर्ने विधिमा ग्यासलाई नै उपयुक्त मानेको छ । यसका लािग भारतबाट ग्यासको पाइपलाइनबाट ग्यास ल्याउनुपर्ने छ । ग्यास पाइप भारतको बिहारस्थित जगदीशपुरसम्म आइसकेको छ ।

कारखाना स्थापना गर्न सबै कागजात पूरा भयो भने तीन वर्षभित्र कारखाना सञ्चालनमा ल्याउन सकिने प्रतिवेदनमा उल्लेख गरिएको छ । ग्यास प्रविधिबाट कारखाना स्थापना गर्न करिब ७३ अर्ब रुपियाँ खर्च लाग्ने अनुमान गरिएको छ ।

कोइलाबाट १०५ र इलेक्ट्रोलाइसिस प्रविधिबाट १४३ अर्ब रुपियाँ खर्च लाग्ने अनुमान प्रतिवेदनमा गरिएको छ । उत्पादन लागतमा ग्यास प्रविधिबाट मल उत्पादन गर्दा शतप्रतिशत क्षमताबाट कारखाना सञ्चालन भयो भने प्रतिमेट्रिक टन युरियाको उत्पादन लागत यूएस डलर २६८ हुने अनुमान गरिएको छ । बिक्री मूल्य २८५ यूएस डलर प्रतिमेट्रिक टन रहेको अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

<