पाँच नं प्रदेशको राजधानीबारे सहि निर्णय


प्रदेश नं. पाँचको सरकारले दाङको भालुवाङ तथा देउखुरी क्षेत्रलाई केन्द्रमा पारी राजधानी बनाउने निर्णय गरेको छ ।मन्त्रि परिषद्बाट पास भएर अब संसद्मा पेश भएको उक्त प्रस्ताव अब पास हुनेमा शंका छैन । किनकी अहिलेको शक्ति संरचनाले त्यो पुष्टि गर्छ । केही असन्तुष्टिका स्वरहरु हुनु स्वभाविक हो । तर उहाँहरुले वास्तविकतालाई स्वीकार्नुको विकल्प छैन ।

राजधानीबारे सल्यानीहरुलाई पनि निकै चासो छ । कतिपय मानिसले कर्णाली प्रदेशका मान्छेले किन पाँच नं. प्रदेशको राजधानीबारे चासो गर्नुपर्यो भन्ने गरेको पनि पाईन्छ । तर आधा भन्दा बढी सल्यानीहरुको साइनो जोडिएको छ दाङ जिल्लासित ।

चाहेर पनि हामी दाङ जिल्लालाई भुल्न सक्दैनौं । राजधानी काठमाडौं जोड्ने बाटो यतै पर्छ । धेरै सल्यानीहरुको व्यापार व्यबशाय दाङ, बुटवल, काठमाडौं र बाँकेसित हुन्छ । आर्थिक साइनो मात्र होइन, बैबाहिक सम्बन्ध पनि सल्यानीहरुको पाँच नं. प्रदेशतिरै बढी छ । करीब एक चौथाई सल्यानीहरुका घडेरी दाङ जिल्लामा छन् । हजारौंको संख्यामा घर समेत बनाएर बसेका छन् सल्यानीले दाङमा ।

सल्यानको बनगाड कुपिन्डे र कुमाख गाउँपालिकाको सम्बन्ध भने सुर्खेततिर बढी देखिन्छ । अन्य सवैका लागि दाङ नै प्रदेश राजधानी पाईक पर्छ । जसले घरघडेरी जोडेको छैन, उसको पनि शिक्षा, स्वास्थ्य, व्यापार व्यबशायको साइनो दाङसितै छ ।

दाङ सल्यानीहरुका लागि मात्रै पाईक पर्ने ठाउँ होइन । बाँके, बर्दिया, रोल्पा, रुकुम, प्यूठान, अर्घाखाँची, कपिलबस्तु लगायतका जिल्लाका लागि पनि पाईक पर्छ । एशियाकै दोस्रो ठूलो उपत्यका भनेर दाङलाई भन्ने गरिन्छ । फराकिलो भूभाग र उपयुक्त हावापानीले सवैको मन जितेको छ ।

सल्यानीहरुले अहिले पनि दाङ र सूर्खेतमध्ये कसलाई रोज्ने भनेर जनमत लिने हो भने एकतिहाई सल्यानीले दाङ नै रोज्दछन् । पहिलेको राप्ती अंचलभित्र पर्ने जिल्लाहरुको केन्द्र हो दाङ । लामो समयदेखि निर्णय हुन नसकेको प्रदेश राजधानी र नामाकरण बल्ल टुंगो लागेको छ र यो खुसीको कुरा भएको छ ।

ढिलै भएपनि प्रदेश पाँचको सरकारले उपयुक्त निर्णय गरेको छ । यसको नेतृत्व गरेका प्रदेश पाँचका मुख्यमन्त्री शंकर पोखरेललाई धन्यवाद् दिनैपर्छ । भौगोलिक, आर्थिक, सामाजिक, औद्योगिक लगायत विभिन्न आधारलाई हेर्दा पनि प्रदेश ५ को राजधानी दाङ नै उपयुक्त छ ।

जसरी सूर्खेतको उत्तरतिर रहेका जिल्लाहरु दैलेख, जाजरकोट, कालिकोट लगायतका जिल्लाहरुका लागि सूर्खेत अत्यन्तै पाईक पर्छ, त्यसैगरी सल्यानी जनताका लागि दाङ पाईक पर्छ । सल्यानीहरुले दाङतिरै जाने प्रयत्न नगरेका होइनन्, प्रदेश राजधानी दाङ नै हुनुपर्छ भनेर पनि नभनेका होइनन्, तर नेतृत्व तहमा बस्नेहरुको स्वार्थका कारण आज सल्यानीहरु कर्णालीतिर परेका हुन् ।

पदीय जिम्मेवारी पाएकाहरु कर्णालीमै परेकोमा गर्व गर्छन्, तर जसलाई कुनै पद्को आशा छैन, केवल आर्थिक सामाजिक स्तर सुधारको खाँचो छ, त्यस्ताहरुका लागि दाङतिरै पाईक पर्छ । कतिपयको बुझाईमा दंगालीहरुले सल्यानीहरुलाई कुनै स्थान दिदैनन् भनेर कुतर्क गर्छन्, तर धेरै सल्यानीहरुले दाङमा बलियो अवस्था बनाएर बसेका छन् ।

यसर्थ यदि जनमतको कदर गर्ने र जनमत लिने हो भने अहिले पनि सल्यानीहरुले दाङसितको सम्बन्ध तोड्न चाहदैनन् । आज विभिन्न कामले दाङ महिनाको ५ पटक झर्नेबेला सूर्खेत वर्षमा १ पटक पुग्ने अवस्था छ । तर पदिय जिम्मेवारीमा बसेकाहरुभने निरन्तर आवतजावत गरेका छन् ।

यसर्थ सल्यानी जनताका लागि दाङसितको सम्बन्ध निकट छ भने कर्णाली प्रदेशको नाममा नेतृत्व तहमा पुग्नेहरुको लागि सल्यान सूर्खेतको निकट छ । साँचो र झूठो इतिहासले पनि बताउला, तर विषयवस्तु सवैले मनन् गर्न जरुरी छ ।

प्रतिक्रिया दिनुहोस