दुई साता लकडाउन गर्न प्रधानमन्त्रीलाई विज्ञहरूको सुझाव

कुरा मात्रै होइन, काम पनि गर्न विपक्षीको आग्रह

काठमाडौं, २० साउन ।
विज्ञहरूले कोरोना भाइरस नियन्त्रण अभियानलाई प्रभावकारी बनाउन कम्तीमा दुई साता लकडाउन गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएका छन् ।

मंगलबार बालुवाटारमा भएको छलफलका क्रममा विज्ञहरुले कम्तीमा दुई साता लकडाउनदेखि आवश्यक परेमा कर्फ्युसमेत लगाउन सुझाव दिएका हुन् ।

प्रधानमन्त्री ओलीलाई प्रमुख प्रतिपक्षी नेता शेरबहादुर देउवा र अर्का प्रतिपक्षी नेता महन्थ ठाकुरले सरकारको काम प्रभावकारी नभएको भन्दै सक्रियता बढाउन आग्रह गरेका थिए ।

कांग्रेस सभापति देउवाले कुरा मात्रै धेरै भएको भन्दै कोरोना नियन्त्रणमा पनि गम्भीर भएर काम गर्न सुझाव दिएका थिए । उनले संक्रमणको अवस्था हेरेर ठाउँ अनुसार लकडाउन गर्नुपर्ने सुझाव पनि दिएका थिए ।

जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले सरकारले लामो समय लकडाउन गरे पनि प्रभावकारी काम गर्न नसकेको भन्दै आलोचना गरे ।

नेता ठाकुरले लकडाउन गरेरमात्रै नहुने देखिएकाले सरकारको आगामी योजना पनि बलियो बनाउनुपर्ने बताए । ‘पहिलो लकडाउनका बेला सरकारको काम गराइ चित्त बुझ्दो भएन । सरकारले त्यसबेला समय खेर फालेको छ’, उनले भने, ‘लकडाउन गरेर मात्रै समाधान हुँदैन ।

सरकारले योजना पनि ल्याओस् । लकडाउन थपेर मात्रै अवस्था उस्तै भए के अर्थ भयो र ? त्यसैले सरकार गम्भीर हुनुपर्छ ।’ त्यस्तै वरिष्ठ चिकित्सक भगवान कोइरालाले लकडाउन नगरी संक्रमण धेरै फैलिएका स्थानमा सबै किसिमको आवागमन बन्द गर्न सुझाव दिएका थिए ।

‘लकडाउन नभनौं, संक्रमण बढेका ठाउँमा आवागमन सबै बन्द गरौं’, उनले सुझाव दिँदै भने, ‘विरामीबाहेक अरु संक्रमितलाई अस्पताल भर्ना नगरौं । घरमै आइसोलेसनमा राखेर उपचारको व्यवस्था गरौं ।’

प्रतिक्रिया दिनुहोस

<