बझाङ पहिरोमा बेपत्ता ७ मध्य ६ जनाको शव फेला, गाउँ सोकमा डुब्यो


बझाङ, २० असार ।
बझाङमा शुक्रबार राती गाउँमाथिबाट आएको पहिरोमा परेर हराएका ७ जना मध्ये ६ जनाको शव फेला परेको छ । एक जना अझै बेपत्ता रहेको र खोजि कार्य भइरहेको प्रहरीले बताएको छ ।

आफ्नै घरभित्र पुरिएको अवस्थामा ४४ वर्षीया राममती जेठारा र उहाँकी १५ बर्षीया छोरी शान्ती जेठारा, ११ वर्षीय छोरा प्रयागराज जेठारा र छोरी ७ वर्षे अस्मीताको शव निकालेको घटना स्थलबाट प्रहरी असई रायभान सिंह ऐरीले बताउनुभयो ।

उहाँका अनुसार ८० वर्षका दले जेठारा, १२ बर्षीय सन्तु जेठाराको शवपनि निकालिएको छ भने २० बर्षीय गिरीजा जेठारा भने बेपत्ता रहेको र खोजि भईरहेको छ ।

अविरल वर्षापछि केदारस्यँ’ गाउँपालिका ८ मल्लेसी गाउँ माथिबाट आएको पहिरोमा परी १८ घर पहिरोले बगाएको थियो । ‘राती अविरल बर्षा सहित गाउँ माथीबाट अलि अलि पहिरो आउँदा जानकारी भएपछि हल्लाखल्ला गरेर राती सवै घरबाट वाहिर निस्कियौ’ स्थानीय सुरेश जेठाराले भन्नुभयो, ूउनीहरु भाग्न नसकेर पहिरोमा पुरिएका हुन ।’

गाउँको माथी पट्टी रहेको रातो पड सामुदायिक वनबाट पहिरो आए पछि १८ घरमा पुर्ण रुपले क्षति भएको छ । उहाँले भन्नुभयो, ‘गाउँ माथिको सामुदायिक वनमा पनि खुल्ला चरिचरन बन्द गरेको झण्डै एक दशक भई सकेको थियो । पहिरो आउने कुनै पनि सम्भावना थिएन ।

राती सुतेको अवस्थामा एकाएक पहिरो आउँदा आफुहरु बाँच्नै मुस्कील भयो ।’ उहाँका अनुसार पहिरोमा परी २२ वटा भैसी , ६५ वटा बाख्रा , २४ वटा गाई गोरु समेत बगाएको छ ।

पहिरोले गाउँको बीच भाग हुँदै १८ घरहरु बगाएपछि मल्लेसी गाउँ शोकमा डुबेको छ । यसरी एक्कासी पहिरोले गाउँ बगाए पछि मल्लेस गाउँका १८ परिवारको उठीबास भएको छ ।

स्थानीय नरेश बोहराले भन्नुभयो, ‘शरिरमा लगाएका लुगा कपडा बाहेक सबै पहिरोले लगेर गयो । घर भित्रको खाद्यान्न,लत्ता कपडा, धन सम्पती र गाई गोरु समेत सबै बगाएर लियो ।’ पहिरो गएपछि गाउँ अगाडीको झण्डै २० रोपनी जग्गामा लगाएको धान बाली पुरेको छ ।

हिले पनि गाउँमा पहिरो बग्न रोकिएको छैन् । जुईली गाड र सुङरी गाडको बिचमा रहेको उक्त गाउँसम्म सहजै पुग्न सकिएको छैन् । दुवै गाडमा अत्याधिक मात्रामा पानीभए पछि अरु गाउँ समेत जान समस्या छ । गाउँमा ९० परिवारको बसोवास छ ।

प्रतिक्रिया दिनुहोस

<