दार्माको किमुटाकुरामा एकल महिलालाई आर्थिक सहयोग

सल्यान, २२ चैत ।

सल्यानको दार्मा गाउंपालिका वडा नं. ६ किमुटाकुराका दुईवटा समुहले सोही ठाउँकी एकल महिला कमला बि क लाई शनिबार आर्थिक सहयोग गरेका छन् ।

पिपल चौतारा बाख्रा पालन समुह र लेक बेसी स्वास्थ्य आमा समुहले केही दिन अघि निधन हुनुभएका टिकाराम थापाकी श्रीमति कमला वि कलाई दुई÷दुई हजारका दरले आर्थिक सहयोग गरेका हुन् ।

दुवै समुहकी सदस्य समेत रहनुभएकी वि.क का छोरा बुहारी रोजगारीका सिलसिलामा केही वर्ष अघिदेखि भारतमा रहेको र घरको आर्थिक अवस्था अत्यन्तै नाजुक भएकोले राहत स्वरुप उक्त आर्थिक सहयोग गरेको पिपल चौतारा बाख्रा पालन समुहका कोषाध्यक्ष गणेश बुढाथोकीले जानकारी दिनुभयो ।

दुवै समुहका पदाधिकारीहरु र सदस्यहरुको उपस्थितिमा वि.कलाई उक्त सहयोग रकम हस्तान्तरण गरिएको बुढाथोकीको भनाई रहेको छ । दुवै समुहले लगानी गरेको व्याजको केही हिस्साको रकमबाट सहयोग प्रदान गरिएको उहाँको भनाई छ ।

यसबाट गाउंसमाजमा सन्चालनमा रहेका विभिन्न समुहहरु नाफामुखि मात्र नभै सेवामुखि पनि बन्दै गईरहेको बुझ्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस