शिव मन्दिरले सवैको ध्यान खिच्दैछ

सल्यानको प्रमुख व्यापारिक केन्द्रबीच रहेको रुद्रेश्वर महादेव शिवमन्दिर पछिल्लो समय सवैको आकर्षणको केन्द्र बन्दैछ । प्रत्येक सोमबार विशेष पुजाआराधना गरिने उक्त मन्दिरमा जुनसुकै चाडपर्व आउदा पनि स्थानीय लगायत श्रीनगर तथा खलंगाबासीहरुको उपस्थिति देख्न सकिन्छ । प्रत्येक सोमबारको दिन १०० भन्दा बढी मानिसहरुले पुजा आराधना गर्ने गरेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष रामसिंह बुढाथोकीले बताए । छेउमा रहेको शितलपाटी पौवाले झनै आकर्षण थपेको छ । जहाँ प्रत्येक दिन बुढापाका र केही अन्य सर्वसाधारणहरु दिउसो बसेर विभिन्न कुराहरुमा छलफल तथा अनुभव आदानप्रदान गर्ने थलो बनेको छ ।

उक्त रुद्रेश्वर महादेव शिव मन्दिरमा करीब विगत २५ वर्षदेखि बेल बहादुर गोसाईले पुजा गर्दै आएका छन् । नित्य पुजाआराधना गरेवापत गुठी संस्थानबाट हाल मासिक एक हजार रुपँया पारिश्रमिक बुझ्दै आएका छन् । त्यस्तै मन्दिरमा अर्का एकजना ब्राम्हण पनि नित्य पुजाआराधना गर्न आउने गरेका छन् । नजिकै रहेको पट्नेरी भन्ने टोलका गणेश प्रसाद उपाध्यायले पनि सानै उमेरदेखि मन्दिरमा पुजाआराधना गर्न आउने गरेको बताए ।

केही वर्ष अघिसम्म मन्दिरक्षेत्रमा झार उम्रिएको, मन्दिर रंगरोगन नगरिएको र निकै जिर्ण अवस्थामा रहेकोमा करीब एक डेढ वर्षयता मर्मत र जिर्णाद्वार गरी झिलिमिलि बन्दै गएको छ । गत वर्ष मात्रै स्थानीय लाल बहादुर पाण्डेको अध्यक्षतामा बसेको बैठकले अहिलेको समिति निर्माण गरेको हो । समितिका अध्यक्षमा रामसिंह बुढाथोकी र सचिव रत्नसिंह श्रेष्ठको अहिले विशेष सक्रियता देख्न सकिन्छ ।

समितिको सक्रियतापछि अहिले विभिन्न क्षेत्रबाट सहयोग समेत पाउन थालेको छ । नयाँ समिति बनिसकेपछि नै अहिलेको चिटिक्क अवस्थाको मन्दिर क्षेत्र बनेको हो । स्थानीय व्यापारी, बुद्धिजिवी, समाजसेवी लगायतले सहयोग गरेका छन् । कसैले रेलिङ, कसैले घण्ट, कसैले साउन्ड सिस्टम, कसैले पाला लगायतका सामाग्रीहरु सहयोग गर्दै गर्दा अहिले सवैको आकर्षणको केन्द्र बनेको छ ।

कतिपय बैंकहरुले पनि सामाजिक कामहरुमा योगदान गरेका छन् । सिविल बैंक, श्रीनगर सल्यानका शाखा प्रमुख विजयराज पाण्डेले आफूले काम गर्ने क्षेत्रमा अलिकति भएपनि सामाजिक काम गर्न पाउदा आफुलाई खुसी लागेको बताए । उनले गत वर्ष उक्त शिव मन्दिर र राधाकृष्ण मन्दिरमा एक एक वटा र खैराबाङ भगवती मन्दिरमा २ वटा डस्टवीन सहयोग गरेको बताए ।

त्यस्तै यस वर्ष पनि तीनको अवसरमा मन्दिरका दर्शणार्थी र भक्तजनहरुको लागि पिउने पानीको व्यवस्था गरिदिएका थिए । उनले बैंकको वार्षिकोत्सवको अवसरमा प्रत्येक वर्ष शारदा नगरक्षेत्रका विद्यालयका एकदेखि २ जना गरीब तथा जेहन्दार विद्यार्थीलाई छात्रबृत्तिको व्यवस्था गर्दै आएको जानकारी दिए । त्यस्तै खैराबाङ मन्दिर क्षेत्रमा मन्दिर दर्शन गर्न जाने दर्शनार्थी तथा भक्तजनलाई सुविधा पुग्नेगरी प्रतिक्षालय बनाउने सोच रहेको र केन्द्रले स्वीकृति दियो भने छिटै काम गर्ने समेत बताए ।

जहाँ इमान्दार तरिकाले काम हुन्छ त्यहाँ मानिसहरु सहयोग गर्दै जान्छन् । रुद्रेश्वर महादेव मन्दिरमा नगरपालिकाले समेत रु. पाँच लाख सहयोग गरेको छ । त्यस्तै मन्दिर क्षेत्रलाई अँझ राम्रो र व्यवस्थित बनाउन, दर्शनार्थी, भक्तजन र मन्दिरका पाहुनाहरुको लागि छेउमा एउटा चर्पि निर्माण गर्नुपर्ने आवश्यकता महशुस गरी नगरपालिकामा माग गरेको अध्यक्ष बुढाथोकीले जानकारी दिएका छन् ।

मन्दिरक्षेत्रको व्यवस्थापन संगै अहिले स्थानीयहरुमा समेत जार्मिक चेतना बढेको र सकारात्मक सोचको विकास हुँदै गएको स्थानीय बुद्धिजिवी एबं शारदा नगरका शिक्षा प्रमुख बीर बहादुर सेजवालले बताएका छन् । उनले मन्दिरक्षेत्रको विकासमा योगदान गर्ने अध्यक्ष बुढाथोकीको समेत प्रशंसा गरे । उनले समाजमा सकारात्मक सोचको विकासका लागि माह्वल बन्दै जानुमा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष रामसिंह बुढाथोकी जस्ता निश्वार्थ तरिकाले काम गर्नेहरु बढ्नुपर्ने बताए ।

 

घटेको छैन तीजको महत्व

 

यसपटकको तीजमा पनि दिदीबहिनीहरु खुवै रमाए । पुजाआराधनादेखि नाचगान र मन्दिर दर्शनमा मानिसहरु झनै उत्सुक बनेका छन् । छत्रेश्वरी ५ घर भएकी हिमा बोहराले तीज पर्वले महिला दिदीबहिनीहरुमा निकै उत्साह थप्ने गरेको बताईन् । एकातिर श्रीमानश्रीमतीबीचको सम्बन्ध सुमधुर बनाउने, अर्कोतिर माईतीतीरका दिदीबहिनीहरुबीचको भेटघाट नाचगान र रमाईलो हुने नेपाली सांस्कृतिक परम्पराहरुको आफ्नै खालको महत्व रहेको उनले बताईन । तर दिदी बहिनीले आफ्ना गीतहरु आउनुपर्नेमा साउन्डसिस्टम र डेक बजाएर मात्रै नाचगान गर्दा मौलिक संस्कृतिहरु हराउदै जाने चिन्ता व्यक्त गरिन् ।

त्यस्तै शारदा नगरपालिका वडा नं. १ घर भएकी भारती के.सी.ले तीज पर्वलाई आफुले पहिलेदेखि नै महत्व दिदै आएको बताईन् । विवाह नहुदै श्रीमान राम्रो पाइयोस् भन्ने सोच अनुसार ब्रत गर्ने गरेको र अहिले श्रीमानको आयु लामो होस् र श्रीमानसितको सम्बन्ध सधैं राम्रो होस् भन्ने कामना गरेर ब्रत बस्ने गरेको बताईन् ।

त्यस्तै शारदा नगरपालिका १ श्रीनगरकै सुस्मिता राईले विवाह गरेदेखि आफूले तीजको व्रत वस्दै आएको र कुनै झन्झट नहुने बताईन् । सवै आफन्तजनले यस्ता पर्वमा आस्थाका देवताप्रति पुजाआराधना गर्ने र रमाउने परम्परामा कुनै कमी नआएको बताईन् ।

कतिपयले श्रीमतीले श्रीमानको आयु र सुस्वास्थ्यका लागि ब्रत बस्दै गर्दा श्रीमानहरुमा पनि सकारात्मक सोचको विकास हुनुपर्ने बताए । सकिन्छ भने बेलाबेलामा श्रीमानसमेतले पनि ब्रत बस्दा स्वास्थ्यलाई समेत फाईदै पुग्ने समेत उनीहरुले बताए । पारिवारीक सम्बन्ध सुधारका लागि श्रीमानले समेत श्रीमतीको हितका लागि ब्रत बस्दा अनोठौ नहुने र कोही पुरुष तीजको अवसरमा ब्रत बस्छ भने अनौठो मान्न नहुने उनीहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस

<