रथी शर्मालाई दर्ज्यानी चिन्ह

शर्मा ९६ हजार फौज रहेको सैनिक संगठनका तेस्रो ठूलो शक्तिशाली सैनिक अधिकृत भएका छन् ।

काठमाडौँ — वर्तमान प्रधानसेनापति पूर्णचन्द्र थापापछि रोलक्रम अनुसार प्रधानसेनापतिको दाबेदार मानिएका उपरथी प्रभुराम शर्मालाई आइतबार सैनिक मुख्यालयमा रथीको दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।

रथीमा पदोन्‍नती भएका उपरथी प्रभुराम शर्मालाई दर्ज्यानी चिन्ह प्रदान गर्दै प्रधानसेनापति महारथी पूर्णचन्द्र थापा । तस्बिरः नेपाली सेना ।प्रधानसेनापति थापाले शर्मालाई एक कार्यक्रमको आयोजना गर्दै रथीको दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् । मन्त्रीपरिषद् बैंठकको वैशाख १४ गतेको निर्णय अनुसार शर्मालाई उपरथीबाट रथीमा बढुवा गरिएको थियो ।

सेनामा दुई रथी हुनेमा दोस्रो वरियताका रथी (बलाध्यक्ष) गौरब तण्डुल उमेर हदका कारण वैशाख १९ बाट अनिवार्य अवकाश पाएपछि शर्मा करिब ९६ हजार सैनिक संगठनको तेस्रो शक्तिशाली बन्न सफल भएका हुन् ।

सैनिक ऐन अनुसार रथीको उमेर हद ५८ वर्ष रहेको छ । तण्डुलले सोहि ऐन अनुसार अनिवार्य अवकाश पाएका हुन् । सेनाका पहिलो वरियताका रथी (बलाधिकृत) शरद गिरीले पनि उमेर हदका कारण यहि असार ६ गते अनिवार्य अवकाश पाउँदैछन् ।

गिरीले अवकाश पाएसँगै शर्मा पहिलो वरियताका रथी अर्थात् प्रधानसेनापतिपछि संगठनमा सबैभन्दा शक्तिशाली सैनिक अधिकृत हुने छन् । शर्माको रथीको कार्यकाल दुई वर्षसम्म रहने छ ।

त्यस अवधिमा सैनिक ऐन अनुसार वर्तमान सेनापतिको तीन वर्षे कार्यकाल २०७८ भदौं २४ मा सकिने छ । त्यस बेलासम्म हालको ऐन संशोधन भएर नयाँ व्यवस्था नभए वा अन्य कुनै तलमाथि नभएमा वरियताका आधारमा शर्मा प्रधानसेनापति बन्ने छन् ।

शर्मा अहिले नेपालको सबैभन्दा महत्वपूर्ण र शक्तिशाली सम्भाररथी विभागमा छन् । उनले यस अघि युद्धकार्य महानिर्देशकको विभाग पनि सम्हालिसकेका छन् ।

सेनाका जनसम्पर्क तथा सुचना निर्देशनालयका अनुसार प्रधानसेनापति थापाले शर्मासँगै आइतबार संजय थापा र आनन्द कुमार अधिकारीले उपरथीको दर्ज्यानी चिन्ह प्रदान गरेका थिए ।अधिकारीलाई उपत्यका पृतनाका पृतनापति र थापालाई मध्य पृतनाका पृतनापतिको जिम्मेवारी दिइएको छ ।

ekantipur.com

प्रतिक्रिया दिनुहोस

<