दोभान बजार आगलागी : घर बनाउन सरकारले प्रतिपरिवार ५ लाख दिने

भूकम्पपीडितसरह सहयोग उपलब्ध गराउन माग गर्दै योगेश भट्टराईको नेतृत्वमा गृहमन्त्रीलाई बुझाइयो ज्ञापनपत्र

काठमाडौँ, १९ फागुन ।

ताप्लेजुङको दोभान बजारका अग्निपीडितलाई दीर्घकालीन पुनःस्थापनाको मागसहित गृहमन्त्री रामबहादुर थापालाई ज्ञापनपत्र बुझाइएको छ । ताप्लेजुङका सांसदसमेत रहेका नेकपा नेता योगेश भट्टराईको नेतृत्वमा बुधबार ज्ञापनपत्र बुझाइएको हो ।

ज्ञापनपत्रमा दोभानका आगलागीपीडितलाई भूकम्पपीडितसरह सहयोग उपलब्ध गराउन माग गरिएको छ । मिरिङदेन गाउँपालिका–३ स्थित दोभान बजारमा मंगलबार भएको आगलागीमा ४९ घर जलेका छन् भने डेरावालसहित ७९ परिवार विस्थापित भएका छन् ।

भट्टराईकै नेतृत्वमा दोभान बजार अग्निपीडित राहत तथा सहयोग समिति गठन गरिएको छ । ‘आगलागीका कारण आवासविहीन हुन पुगेकाहरूलाई तत्काल राहत पु¥याउन, पहाडी भेगका बजारहरूमा आगलागीबाट हुने जोखिम र क्षति न्यूनीकरण गर्न दमकल तथा पानी ट्यांकीको व्यवस्थापन गरिदिन तथा पीडितको हितमा व्यवस्थित सहरी विकास आयोजनाको व्यवस्था गर्न माग गरेका छौं,’ उनले भने ।

ज्ञापनपत्र बुझ्दै गृहमन्त्री रामबहादुर थापाले ताप्लेजुङका अग्निपीडितका लागि राहत र उद्धारको काम सुरु भइसकेको बताए । मंगलबार नै टेन्ट, ब्ल्यांकेट पठाइएको र बुधबार खाद्यान्नलगायत अन्य सामग्री पठाइने उनको भनाइ छ । आवासका निम्ति भूकम्पपीडितसरहको मापदण्डका आधारमा आवश्यक रकम उपलब्ध गराइने उनले बताए ।

तत्कालीन राहतका रूपमा गृह मन्त्रालयले प्रतिपरिवार १५ हजार रुपैयाँको दरले पठाइसकेको जानकारी दिँदै मन्त्री थापाले कार्यविधि सच्याएर अग्निपीडितको आवास निर्माणका लागि पााच लाख रुपैयाा उपलब्ध गराउने पनि बताए ।

प्रतिक्रिया दिनुहोस