अँझै कठिन नै छ, नेपाललाई विकासशील राष्ट्र बनाउन

नेपाललाई अल्पविकसितबाट विकासशील राष्ट्रमा स्तरोन्नतिका लागि संयुक्त राष्ट्रसंघको एउटा समितिले भर्खरै मात्र सिफारिस गरेको छ । विकासशील राष्ट्र बन्न आवश्यक तीनवटा मापदण्डमध्ये दुईवटा सहजै पूरा गरे पनि प्रतिव्यक्ति आयको सन्दर्भमा भने नेपालले निर्धारित लक्ष्य भेटाउन सकेको छैन ।

उद्योग तथा कलकारखाना स्थापना प्रक्रियामा लागेको ब्रेक, बढ्दो बेरोजगार दर तथा न्यून आर्थिक क्रियाकलापका कारण प्रतिव्यक्ति आम्दानीको लक्ष्यमा पुग्न कठिनाइ भईरहेको छ । तर नयाँ उद्योग स्थापनाका लागि सरकार आफैंले पहल गरेर उद्योगी–व्यवसायीलाई आकर्षित गराउन पहल गर्नुुले केही आशा भने जगाएको छ ।

नेपालमा पहिलोपटक २०१९ सालमै बालाजु औद्योगिक क्षेत्र स्थापना भएको थियो । त्यसपछि विभिन्न समयमा मुलुकको सबैजसो क्षेत्रको प्रतिनिधित्व हुनेगरी १० वटा यस्ता औद्योगिक ग्राम खुलिसकेका छन् । २०४५ सालदेखि त औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड नै स्थापना गरेर औद्योगिक क्षेत्रहरूको व्यवस्थापन भइरहेको छ ।

तैपनि छिमेकी भारत तथा चीनलगायत विश्वका अधिकांश मुलुकमा तीव्र गतिमा औद्योगिक विकास भइरहे पनि मुलुकभित्र भने यसले अपेक्षाकृत गति लिन नसकेको तीतो यथार्थ छ ।

अहिलेसम्म बालाजु, भक्तपुर, पाटन, धरान, बुटवल, नेपालगञ्ज, पोखरा, वीरेन्द्रनगर, हेटौंडा र राजविराजमा औद्योगिक क्षेत्र स्थापना भइसकेका छन् ।

पछिल्ला दुई साताभित्रमा कन्चनपुर, मकवानपुर, झापा, बाँकेमा नयाँ औद्योगिक क्षेत्रको शिलान्यास गरिएको छ र अन्य स्थानमा पनि खुल्ने प्रक्रियामा छ ।

औद्योगिक क्षेत्र खोल्दा मुलुकको भौगोलिक सन्तुलन कायम गरिएको छ । तर औद्योगिक क्षेत्र खुुल्दैमा मात्रै लक्ष्य हाँसिल नहुने भएकोले औधोगित उत्पादन र बजार विस्तारको पनि त्यत्तिकै खाँचो रहन्छ ।

नेपालको कुल गार्हस्थ उत्पादनमा पछिल्लोपटक उद्योगको हिस्सा पाँच प्रतिशत रहेको सरकारी तथ्यांक छ । विगतमा यो प्रतिशतमा केही बढिरहे पनि क्रमशः घट्दो क्रममा छ ।

नयाँ औद्योगिक क्षेत्र स्थापना प्रक्रिया अघि बढाउँदै गर्दा पुरानामा के–कस्ता समस्या थिए र यस्तो किन भइरहेको छ भन्ने विषयमा पनि अध्ययन हुनु आवश्यक छ । यसअघि स्थापना भएकामध्ये अधिकांश औद्योगिक क्षेत्र विदेशी सहायतामा निर्माण भएका छन् ।

यसपटक भने सरकारी लगानीमै स्थापना हुन लागेका हुन् । तर ठाउँ तोक्दैमा उद्योग कलकारखाना स्थापना हुन्छ, रोजगारी वृद्धि हुन्छ र मुलुकको आर्थिक कायापलट हुन्छ भन्नेमा ढुक्क हुनुहुँदैन । औद्योगिक क्षेत्रलाई गोदाम वा विदेशबाट ल्याइएको सामग्री भण्डारण केन्द्रमा परिणत हुन दिनुहुन्न । स्वदेशी उत्पादनलाई बढावा दिने कार्यक्रम ल्याउनुपर्छ ।

रोजगारी सिर्जनादेखि मुलुकको कुल गार्हस्थ उत्पादनमा समेत महत्वपूर्ण योगदान पु¥याउने गरी सवै कामकुराहरु अगाडि बढाउन जरुरी छ । यसले जनताको आय स्तरमा वृद्धि भई मुलुकको अर्थतन्त्र उकास्न समेत महत्वपूर्ण भूमिका खेल्नेछ । यसका लागि विगतमा खोलिएको औद्योगिक क्षेत्रमा देखिएको कमीकमजोरी सच्याएर नयाँ परिवेशमा सकारात्मक सोचका साथ अघि बढ्न जरुरी छ ।

प्रतिक्रिया दिनुहोस