अवरुद्ध सल्ली–चौरजहारी सडक दुई हप्तापछि खुल्यो

सल्यान, १७ भदौ ।
लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण अवरुद्ध सल्ली चौरजहारी सडक दुई हप्ता पछि सञ्चालनमा आएको छ ।
पटक पटक खुल्दै अवरुद्ध हुँदै आइरहेको सडक बन्गाड कुपिन्डे नगरपालिका र कुमाख गाउँपालिकाको समन्वयमा दुई हप्ता पछि पुनः सञ्चालनमा आएको छ ।

भदौ २ गते राती आएको बाढी र पहिरोले सल्ली चौरजहारी सडकखण्डको विभिन्न ठाउँमा बाढीले सडक अवरुद्ध भएको थियो ।

बनगाड कुपिण्डे नगरपालिका र कुमाख गाउँपालिका सयुक्त रुपमा आआफ्नो सिमा क्षेत्रमा पर्ने सडकको पहिरोहरु हटाए पछि बुधबार देखि सडक सञ्लनमा आएको छ ।

बाढीले बगाएको स्थानमा पहिरो स्काभेटर र जेसिबि लगाएर हटाए पछि सडक सञ्चालनमा आएको कुमाख गाउँपालिका अध्यक्ष दिलमाया बुढामगरले जानकारी दिइन ।

सडक अवरुद्ध हुँदा सल्यानका कुमाख गाउँपालिका, बनगाड कुपिण्डे नगरपालिका, रुकुम पश्चिमका सवारी साधन तथा पैदल यात्रुहरु समस्यामा परेका थिए ।

उक्त सडक सन्चालन भएको १५ वर्ष बितिसक्दा समेत स्तर वृद्धिको लागि कतै बाट पहल नहुँदा सडक सधै वर्षा भएको समयमा अवरुद्ध हुने गर्दछ ।

विभिन्न नेताहरूले यस सडकलाई स्तरवृद्धिको लागि आफुँहरुले पहल गर्ने भने पनि अहिले अस्तव्यस्त अवस्था उक्त सडक रहेको छ ।

विगतमा सडक डिभिजन कार्यालय दाङले हेर्दै आएकोमा अहिले कुन निकायले सडक मर्मत गर्ने भन्ने निश्चित नहुँदा सडक जरजर बन्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस

<