स्वाब रिपोर्ट ढिलो भएपछि क्वारेन्टाइनबाट ६९ जना भागे

सल्यान, १८ असार ।
बनगाड कुपिण्डे नगरपालिकाको एक क्वारेनटाइनमा बसेका ६९ जना भागेका छन् । नगरपालिकाको वडा नं. २ स्थित आधारभूत विद्यालय लाहाघाटको क्वारेनटाइनमा बसेका उनीहरु बिहीबार दिउँसो भागेको नगरपालिकाले जनाएको छ ।

स्वाब संकलन गरेको एक हप्तामा पनि रिपोर्ट नआएको तथा लामो समयदेखि क्वारेनटाइनमा बस्नुपरेको भन्दै उनीहरुले सुरक्षाकर्मीलाई ढुंगा मुढा गरेका थिए ।

नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख बासु पोखरेलका अनुसार गत जेठ १९ गते भारतको गुजरात र गडवालबाट आएका उनीहरुको १४ दिनपछि आरडिटी गर्दा तीन जनामा पोजेटिभ देखिएको थियो ।

पुनः असार १२ गते पिसिआर परीक्षणका लागि स्वाब संकलन गरिएको थियो । रिपोर्ट आउन ढिला भएको भन्दै उनीहरु भागेका पोखरेलले बताए ।

कर्णाली प्रदेशको पिसिआर मेसिन बिग्रिएको र स्वाब नेपालगन्ज पठाइएको थियो । एक दुई दिनभित्रमा रिपोर्ट आउने भन्दै उनीहरुलाई विश्वस्त तुल्याउन खोज्दा पनि नमानेका र भागेका उनको भनाइ छ । क्वारेनटाइनमा बसेका सबै भागेसँगै गाउँमा भने त्रास छाएको छ ।

प्रतिक्रिया दिनुहोस

<