यस्तो छ ३६ वर्षदेखि शव जलाउदै आएका बुढाथोकीको यो कोरोना महामारी समयको अनुभव

दामोदर न्यौपाने

काठमाडौँ — पशुपति आर्यघाटमा शव जलाएरै बिदुर बुढाथोकीले ३६ वर्ष बिताइसके । शवसँग उनी कहिल्यै डराएनन् । अचेल डराइ–डराइ शव जलाउँछन् । कारण हो— विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको महामारी ।

‘नगरौं कामै यही,’ बुढाथोकीले भने, ‘गरौं भाइरसको त्रास छ। घाटमा ल्याइएकाहरु अनेक रोगले बितेका हुन्छन् । झन् मलामीले अनेक कुरा गर्छन्।’ मलामी आउनेहरूले निजी अस्पतालले हेर्न नमानेको सरकारीमा पनि राम्रो उपचार नपाएर मृत्यु भएको सुनाउने गरेको उनले बताए। ‘तीन वटा अस्पताल घुमाउँदा पनि उपचार गर्न मानेन् भन्दै ल्याउँछन्। के हो, के हो,’ उनले भने।

दाहसंस्कार अत्यावश्यक सेवाभित्र पर्छ। कोरोनाले विश्वभर त्रास फैलिरहेको बेला बुढाथोकीलाई डर नहुने कुरै भएन। ‘डर त छ नि,’ उनले भने, ‘डर छ भनेर शव बिस्कुन लगाएर सुकाउनु भएन। यो सेवा हो, जीवन नै यसैमा बिताइसकें। अहिले गर्दिन भन्न पनि मनले मानेन।’ जलाउन ल्याएको शव कतै कोरोनाकै कारण मृत्यु भएकाको त होइन भन्ने डर लाग्ने गरेको बुढाथोकीले बताए। ‘माक्स लगाउँछु। मलामीसँग नजिक पर्दिन,’ उनले भने।

घाटसेवामा काम गर्नेमध्ये बुढाथोकी उमेरले पाका छन्। उनीजस्तै दाहसंस्कार गर्ने चितातिर २५ र शवदाहगृहमा ३ जना छन्। ‘अरुलाई गर है भनेर पन्छिन पनि पाइँदैन,’ बुढाथोकीले भने, ‘बिहानै आउँछु, रातिसम्म बस्छु।’

बिहीबार बिहान ६ बजेदेखि नै उनी आर्यघाटमा छन्। राति पनि उनकै पालो परेको छ। ‘शव आए दाहसंस्कार गर्छु,’ उनले भने, ‘आएन भने क्यान्टिनमा खाना खान्छु, यता उता गर्दा दिन कटिहाल्छ।’

लकडाउन अवधिमा खाने बस्ने व्यवस्था पशुपति क्षेत्र विकास कोषले गरिदिएको छ। दाहसंस्कारमा संलग्न सबै घाटसेवाका कर्मचारीका लागि कोषकै क्यान्टिनमा व्यवस्था छ। ‘कोही मिठो भएन भनेर खाँदैनन्,’ बुढाथोकीले भने, ‘म त मिठो नमिठो जे जस्तो भए पनि खाइदिन्छु।’

 

यो अवधिमा कोषले सेवा सुविधा पनि बढाइदिने आश्वासन दिएको छ। शवदाह गरेबापत एउटा शवको १५ सय रुपैयाँ पाउँछन्। त्यसमा ६/७ सय रुपैयाँ बढाइदिने आश्वासन पाएको उनले बताए।

लकडाउन भएको १० दिन भयो। दसै दिन आइरहेका छन् बुढाथोकी। १० दिनमा उनको भागमा भने ५ वटा शव आए। ‘ लकडाउन भएपछि चितातिर शव कम आएका छन्,’ बुढाथोकीले भने, ‘त्यही भएर पनि भागमा कम परेको हो।’

आरुबारी माकलबारीका उनी घाटसेवाको कार्ड गलामा झुण्ड्याएर बिहानै मोटरसाइकलमा निस्कन्छन्। अझ कुनै बेला सुरक्षाकर्मीले झमेला सिर्जना गरिदिन्छन्। ‘मुर्दा जलाउने त हो नि, के गइराख्नु पर्‍यो भनेर रोक्न खोज्छन्,’ उनले भने, ‘म घाटको महत्व बुझाइदिन्छु अनि छाडिदिन्छन्।’

०३३ सालबाट सुरु भएको उनको शवदाह यात्रा निरन्तर छ। के झरी, के चैतको धूप, सधैं आउँछन् उनी। आफ्नो भागमा परेको शव जलाउँछन् अनि घर फर्कन्छन्।

शवदाह गर्न कसरी आइपुगे बुढाथोकी? यसको छुटटै कहानी छन् उनका। ०३३ सालअघि नेपाली सेनामा भर्ना भएका थिए। ४ वर्ष सेनाको जागिरे जीवनको अनुभव गरे। आर्मीको जागिर परिवार धान्न मुस्किल भएको अनुभव भयो उनलाई। ‘जम्मा ७५ रुपैयाँ पाइन्थ्यो,’ उनले सुनाए, ‘त्यति पैसाले परिवार चलाउनै मुस्किल भयो। अनि छाडिदिएँ जागिर।’

नेपाल प्रहरीमा जागिरे उनका बुबा ०२० सालमै बिते। बुबाको मृत्युपछि परिवार पाल्ने जिम्मेवारी उनकै काँघमा आइलाग्यो। घरमा आमा, श्रीमती र छोरी थिए।

जागिर त छाडे तर के गर्ने भन्ने विकल्प थिएन।

जागेर छाडेको ३ वर्षसम्म केही पाएनन्, हल्लिएरै बित्यो। श्रीमतीको माइती पशुपति क्षेत्रमै। त्यही भएर ससुराली आइराख्थे। यहाँ आउँदा आउँदै उनलाई लाग्यो, शव जलाउने काम पो गर्नु पर्छ कि क्या हो? ‘ससुराली आउँदा अरुले यही काम गरेर राम्रो कमाएको देखें, अनि यही काम गर्न सुरु गरें,‘ उनले भने, ‘एउटा शव जलाएको १ सय ५० पाइयो। आर्मीमा महिनाभरिमा ७५ रुपैयाँ, यहाँ एउटै जलाएको १ सय ५०। दिनमा कम्तीमा एउटा त भागमा आइहाल्थ्यो।’ दिन र राति समेत गर्दा दिनमै ३ वटासम्म शव जलाउन पाएको उनले बताए।

यही कमाइले माकलबारीमा तीन तले घर बनाए। कमाइ राम्रो भएपनि यसलाई सम्मानजनक पेशा भने लाग्दैन बुढाथोकीलाई। आफ्नो कारणले भन्दा पनि अरुले हेर्ने दृष्टिकोणको कारणले उनलाई राम्रो नलागेको हो। चिता छेउछाउमा मान्छे आउँछन्, जलाएको हेर्छन्। यो पेशा कस्तो लाग्छ? भनेर सोध्छन्। ‘कस्तो लाग्छ भन्नु?,’ उनले मान्छेलाई दिएको जवाफ सम्झिदै भने, ‘यही पेशाले मेरो रोजीरोटी चलेको छ भने मलाई त संसारको सबैभन्दा ठूलो पेशा लाग्छ।’

कोही बेला राम्रो लाग्छ, कोही बेलाचाही नराम्रो पनि लाग्छ पेशा। ‘मान्छे जलाएर खानु परेको छ, के राम्रो भन्नु जस्तो लाग्छ,’ उनले भने, ‘फेरि त्यस्तो सोचेर पनि भएन। नराम्रो लाग्यो भने त नराम्रो लागेको दिनबाटै चटक्क छाडिदिए भै गो नि। नराम्रो लागि गरेको पेशामा राम्रो सेवा दिन पनि त सकिंदैन।’

बुढाथोकीलाई पेशा सानो ठूलो हुँदैन, सबै पेशाको आफ्नै महत्व हुन्छ भन्ने लागे पनि उनका छोराछोरीले भने मानेका छैनन्। ४ छोराछोरी छन्। दुई छोरी विदेशमा छन्, दुई छोरा काठमाडौंमा। कोही बेला टिभीमा देखिन्छन् बुढाथोकी, त्यतिबेला पनि नराम्रो मान्छन् छोराछोरी।

‘काम गरे पनि टिभीमा त नदेखिनुस् न भन्छन्,‘ उनले भने, ‘काम सानो ठूलो हुँदैन त भनिन्छ तर बाउ मुर्दा पोल्ने भन्दा नमजा लाग्दो रहेछ छोराछोरीलाई।’ छोराहरु सरकारी जागिर खान्छन्। सरकारी जागिरको पनि उपल्लो तहमा छन्, एउटा उपसचिव, अर्को शाखा अधिकृत। ‘कोहीले फलानो त घाटमा मुर्दा पोल्नेको छोराछोरी त हो नि पनि भनिदिँदा रहेछन्,’ उनले सुनाए।

अवकाश पाउन बुढाथोकीको दुई वर्षमात्र बाँकी छ। ‘कुन बेला घाटमा शव आउँछ ठेगान हुँदैन। त्यही भएर घाटमा कुर्न आउनुपर्छ,’ बुढाथोकीले भने, ‘हरेक दिन आउँछु, शव आए जलाएर जान्छु। आएन भने त्यतिकै फर्कन्छु। यसैगरी ३६ वर्ष बिते। अब बाँकी समय पनि यसैगरी बित्नेछन्।’

घाटसेवा समेत ठप्प पारिदिएपछि गत असोजमा घाटमा काम गर्ने मजदुरका समस्या सुन्न बाध्य भयो पशुपति क्षेत्र विकास कोष। पटक–पटक माग राख्दा कोषले सुनेन, बिहान २ घण्टा शवदाह बन्द गरिदिएपछि कोषले हतार–हतार कोषका पदाधिकारीको बैठक बोलायो।

केही माग तत्काल पूरा गरिदियो, केही माग नीतिगत निर्णय गर्नु पर्ने भएका परिषद्‌बाट पास गर्ने गरी पूरा गर्ने निर्णय गर्‍यो। कोषले तत्काल गर्न सक्ने काम अन्तगर्त प्रति शव जलाएको ३ सय रुपैयाँ बढाइदियो। पहिला एउटा शव जलाएको १२ सय रुपैयाँ पाउँथे, त्यसमा ३ सय बढाएर १५ सय पुर्‍याइदियो। प्रकाशित : चैत्र २०, २०७६

from kantipur

प्रतिक्रिया दिनुहोस

<