स्वयंसेवक शिक्षक शिक्षालाई तहसनहस पार्ने खेलः पूर्वशिक्षामन्त्री केसी

चितवन, १९ फाल्गुन  ।
पूर्वशिक्षामन्त्री एवं नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले शिक्षकहरुको पेशागत मर्यादा भत्काउन स्वयम् सरकार नै अग्रसर रहेको आरोप लगाउनुभएको छ । नेपाल शिक्षक संघ चितवनको ३० औं प्रतिनिधिसभाको उद्घाटन गर्दै केसीले शिक्षण पेशालाई कमजोर बनाउन र शिक्षा क्षेत्रलाई तहसनहस पार्न सरकार नै क्रियाशील रहेको दाबी गर्नुभएको हो ।

संघीय शिक्षा ऐन ल्याउन ढिलाई गर्दा स्थानीय सरकारहरुले स्थानीय स्तरमै आफुखुसी ऐन नियम बनाउन थालेका भन्दै केसीले शिक्षामा समस्या माथि समस्या थप्ने काम सरकारले गरिरहेको बताउनुभो । ‘भर्खरै अस्थायी शिक्षक समस्या समाधान भएको थियो फेरी स्वयंसेवक शिक्षकका नाममा अर्को अस्थायी शिक्षक समस्या सिर्जना गर्ने काम भएको छ ।’ केसीले भन्नुभयो, ‘स्वयंसेवक शिक्षकका नाममा शिक्षालाई तहसनहस पार्ने खेल शुरु भइसकेको छ ।’

शिक्षक अभाव भएका स्थानमा दरबन्दी सिर्जना गरेर स्थायी समाधान गरिनुपर्नेमा जोड दिँदै उहाँले शिक्षकका नाममा कार्यकर्ता भर्ती गर्न नपाइने जिकिर गर्नुभयो । शैक्षिक गुणस्तर नष्ट गर्दै शिक्षामा राजनीति गर्दा मुलुक वर्षौ पछाडि धकेलिने उहाँको भनाइ थियो ।

विद्यालय कर्मचारी, राहत, इसिडि शिक्षकको स्थायी समस्या समाधान गर्नको साटो सरकार पुनः अर्को समस्या खडा गर्न उद्दत रहेको भन्दै शिक्षक समुदायले नै यसको विरोध गर्नुपर्ने उहाँले बताउनुभयो । आफू शिक्षामन्त्री हुँदा शिक्षकहरुसँग सडकमै गएर सम्झौता गरेको स्मरण गर्दे उहाँले विद्यालय कर्मचारी र इसिडि शिक्षकको समस्या समाधानमा चासो दिन सरकारसँग आग्रह गर्नुभयो ।

नेपाल शिक्षक संघका पूर्व केन्द्रिय अध्यक्ष मोहन ज्ञवालीले शिक्षक खुसी हुँदा बल्ल देश हास्ने बताउनुभयो । विद्यालय छुट्टी भएपनि बालबालिका घरजान मन नगर्ने बालमैत्री वातावरण बनाउन शिक्षकहरुसँग आग्रह गर्दै ज्ञवालीले अधिकारसँगै आफ्नो पेशागत मर्यादालाई भुल्न नहुने बताउनुभयो । शिक्षकका कार्यक्रममा खाली अधिकार र मागका बारेमा मात्रै बहस हुने गरेको प्रति दुख व्यक्त गर्दै उहाँले अब शिक्षा कस्तो बनाउने ? कसरी सुधार गर्ने ? भन्ने विषयमा पनि बहस गर्न आग्रह गर्नुभयो ।

नेपाल शिक्षक संघ बाग्मती प्रदेशका अध्यक्ष नारायण तिमल्सिनाले सरकारले भर्ती गर्न खोजेको स्वयंसेवक शिक्षकले शिक्षामा झनै विभेद ल्याउने र गुणस्तर खस्कने भन्दै चिन्ता व्यक्त गर्नुभयो । संघले यस प्रक्रियाको विरोध गर्दै लिखितरुपमै मन्त्रालयमा पठाइसकेको जानकारी दिँदै उहाँले अपुग शिक्षकको दरबन्दी नै सिर्जना हुनुपर्ने बताउनुभयो । शिक्षकमाथि सरकारले जति प्रयोग र प्रहार गर्छ त्यति नै मुलुक पछि पर्ने भन्दै मुलुक समृद्धिको आधार शिक्षक भएकोमा तिमल्सिनाले जोड दिएनुभयो ।

संघका बाग्मती प्रदेश उपाध्यक्ष नेत्रप्रसाद घिमिरेले शिक्षकले आफूभित्रको प्रतिभा र शक्ति पहिचान गर्दै कक्षाकोठामा त्यसको प्रस्फुटन गर्न आवश्यक रहेको बताउनुभयो । अबको शिक्षक आन्दोलन कक्षाकोठामा राम्रो शिक्षण गरेर हुनुपर्ने र त्यसको शुरुवात चितवन शिक्षक संघबाट हुनुपर्ने उहाँको भनाइ थियो ।

शिक्षक संघ चितवनका अध्यक्ष डा. हरि कँडेलले समयसँगै शिक्षक आन्दोलन र शिक्षाका कोर्षहरु बदलिँदै जाने बताउनुभयो ।अब नेतृत्वका लागि विद्यालय सुधार मापदण्ड बन्नुपर्ने भन्दै कँडेलले शिक्षकको पहिलो कर्तव्य भनेकै कक्षाकोठामा असल शिक्षण गर्नु भएको बताउनुभो।

चितवन संघको आगामी रणनीति सार्वजनिक विद्यालयको सुदृढीकरणमै केन्द्रित रहने स्पष्ट पार्दै सीप र प्रविधियुक्त सिकाइको अभियान सञ्चालन गर्ने तयारी भइरहेको स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया दिनुहोस

<