राष्ट्रलाई केक बनाएर काट्नु गलत नै हो

 

केही दिनयता प्रधानमन्त्री केपी ओलिले जन्मदिन मनाउने क्रममा केकमा देशको नक्सा बनाएर काटेको र त्यहि केक खाएको कुराबारे राष्ट्रिय अन्तर्राष्ट्रिय चर्चा पाइरहेको छ । केकमा आफ्नो नाम लेखेर काट्ने, देशको नक्सा बनाएर काट्ने लगायतका विविध कुराहरु हाम्रो संस्कृतिसित मेल खाँदैनन् । हाम्रा केही अलग्गै विशेषता छन् । कतिपय संस्कृति, संस्कार, आचरण, व्यबहार अरुको भन्दा फरक नै छन् । तर नेपालका अधिकांश नेतृत्व र उच्च पदस्थहरुले कुनै कुराको मतलब गरेको देखिदैन । अहिलेको लडाई त्यहिनेरै हो । विदेशी संस्कृतिलाई अंगालेर नेपाली संस्कृति कमजोर बनाउदै गएको नेपालीहरुलाई मन परेको छैन ।

हामी संकेतमा विश्वास गर्छौ, हामी सपनामा पनि केही विश्वास गर्छौ, हामी प्रकृतिलाई पुजा गर्छौ, नाता अनुसार ढोग दिन्छौं, रक्त नातामा विवाह गर्दैनौं । आफ्नै देशको नक्सा बनाएर काटेर कुपुकुपु खानुलाई हामी राम्रो अर्थ लगाउन सक्दैनौं । अँझ हाम्रो पूर्विय संस्कृतिमा बालेका बत्ति निभाउने प्रचलनलाई पनि राम्रो मानिदैन । जन्मोत्सवको समयमा केकमा आफ्नै नाम लेखेर काट्ने, बालेका बत्ति भुतुभुतु निभाउने लगायतका प्रचलन नेपाली संस्कृतिसंग मेल खाँदैनन् । कतिपयले अन्तराष्ट्रिय प्रचलन भनेर आफूलाई अग्रगामी देखाउन खोजेको पाईन्छ, तर ठूला देशको प्रचलन, शक्तिराष्ट्रको प्रचलन र बाह्य प्रचलनलाई नै महत्व दिने हो भने नेपालको पहिचान, नेपालका मुल्यमान्यता र नेपालको संस्कृति सखाप हुुन केही बेर लाग्दैन । यस विषयमा नेपाली जनता सचेत छन् र सजग छन् । नेतृत्वले जे गर्यो, त्यसैमा रमाएर बस्न सक्दैनन् । नेपाली संस्कृतिलाई नै नेतृत्वले महत्व दिनुपर्छ । कतिपय कुराहरु साझा बन्न सक्लान् तर स्वदेशी संस्कारलाई महत्वहीन बनाएर बाह्य संस्कारलाई मूल्यवान सम्झदै हिड्ने कुरामा नेपाली जनताले साथ दिन सक्दैनन् ।

विदेशतिरै हेर्ने हो भने त कतै गाई खान्छन्, कतै सर्प खान्छन्, कतै कुकुर विराला खान्छन्, कतै हाडनातामै विवाह गर्दछन्, जुन कुुरा हाम्रो व्यबहार र संस्कृतिसित मेल खाँदैनन् । नेपाली जनतालाई स्वीकार्य नहुुने कुराहरुलाई प्राथमिकता दिदै हिड्ने हो भने भोलि कुुनै पनि कुरामा देशको पहिचान र अस्तित्व रहदैन । भूगोल छिमेकीले मिच्दैछन्, संस्कृति पश्चिमाहरुले मिच्दैछन्, सीप र श्रम बाह्य देशले प्रयोग गरीरहेका छन्, भाषा अन्तराष्ट्रियलाई महत्व दिने नाममा नेपाली त्यसै पनि कमजोर बन्दै गएको छ । राष्ट्रिय पोशाक नै नबनाएका कारण पोषाकले समेत पहिचान गुमाएको छ । मूर्तिहरु बाह्य देशमै तस्करी भईरहेका छन् । युवाहरु बाहिरै जीवन विताउनुुपर्ने अवस्था छ । यसरी नेतृत्वकै कमीकमजोरीले आज मुलुक विभिन्न कुराहरुमा पहिचान र अस्तित्वविहीन बन्दै गएको छ । स्वाभिमानी नेपालीहरु अँझै पनि देशको पहिचान र अस्तित्व जोगाउनुपर्छ भनेर आवाज उठाईरहेका छन् । अहिले सामाजिक सञ्जालहरुमा धेरैले नेतृत्वलाई सुझाव दिइरहेका छन् । यसलाई नेतृत्वले स्वीकार गर्नुपर्छ र आगामी दिनमा यसप्रकारका गल्ती दोहोर्याउनुहुदैन ।

प्रतिक्रिया दिनुहोस

<