बर्दियामा पाटे बाघले मोटसाइकलबाटै झम्टिएर लगेको महिलाको शव भेटियो

बर्दिया, १८ पुस ।

कैलालीको लम्किचुहा नगरपालिका वडा नं. ४ कौवापुरकी ५० वर्षीया नन्दकली थापाको शव फेला परेको छ । थापालाई गएराति बर्दिया राष्ट्रिय निकुञ्जको बाघले मोटरसाइकलबाटै झम्टिएर लगेको थियो ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी प्रवक्ता डिएसपी योगेन्द्र खड्काले शनिबार मध्यान्ह १२ बजेतिर थापाको शव घटनास्थलनजिकै फेला परेको बताए । ‘घटनास्थलभन्दा तीन सय मिटर दक्षिण पश्चिमा उहाँको शव फेला परेको छ,’ डिएसपी खड्काले भने, ‘बाघले अनुहार र दुबै पिडौला खाएको छ । देब्रे खुट्टा शरीरदेखि अलग गरेको अवस्थामा शव फेला परेको छ ।’

शुक्रबार राति पूर्व बाँकेको कोहलपुरबाट पश्चिम कैलालीस्थित घर जान लागेका आमा छोरा सवार मोटरसाइकलमा बाघले झम्टिएर थापालाई घिसार्दै जंगलमा लगेको थियो ।

मोटरसाइकल उनका छोरा २२ वर्षीय सन्तोष थापाले चलाएका थिए । पूर्वपश्चिम राजमार्ग अन्तर्गत शुक्रबार राति दश बजेतिर पूर्वबाट पश्चिम जाँदै गरेको सु.प.प १००८ प. ६८०१ नम्बरको मोटरसाइकलको पछाडि सवार सन्तोषकी आमा नन्दकली सवार थिइन् । छोरा सन्तोषले मोटरसाइकल अलि स्लो भएको समयमा बाघले आमालाई झम्टिएर मोटरसाइकलबाटै लगेको प्रहरी समक्ष बताएका छन् ।

बाघको आक्रमणबाट मोटरसाइकल ढलेको र पछि आफूले निकुञ्जका सुरक्षाकर्मीलाई खबर गरेको सन्तोषले प्रहरीलाई भनेका छन् । घटनास्थल पूर्वपश्चिम राजमार्ग अन्तर्गत निकुञ्ज भित्रपर्ने नेपाली सेनाको अम्रेनी चेकपोष्ट भन्दा करिब ५÷६ किलोमिटर पश्चिममा रहेको जिल्ला प्रहरी प्रवक्ता खड्काले जानकारी दिए ।

बाघले मोटरसाइकलमा झम्टिएर मानिस बेपत्ता पारेपछि निकुञ्जको टोली र निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेना हात्तीबाट खोजीमा निस्केको भए पनि फेला पार्न सकेको थिएन ।

शनिबार बिहानैदेखि थापाको खोजीका लागि नेपाली सेनाको टोली, नेपाल प्रहरीको टोली र निकुञ्जको टोली खोजीमा खटिएपछि थापाको शव बाघले खाएको अवस्थामा फेला परेको डिएसपी खड्काले बताए । बाघले गुडिरहेको मोटरसाइकलमा झम्टिएर मानिस मारेको यस्तो घटना हालसम्म नेपालमा सुनिएको थिएन ।

प्रतिक्रिया दिनुहोस

<