सल्यानमा प्रहरी जवान पदमा नयाँ भर्ना खुल्यो

सल्यान, १६ कात्तिक ।

सल्यानमा प्रहरी जवान पदमा नयाँ भर्ना खुलेको छ । कात्तिक १६ देखि मंसिर २३ गते सम्म जिल्ला प्रहरी कायार्लय सल्यानमा फारम भर्न सकिने कार्यालयले जनाएको छ ।

प्रहरी जवान पदका लागि न्यूनतम योग्यता दरखास्त फाराम दर्ता गर्ने अन्तिम मितिसम्म १८ वर्ष उमेर पूरा भई २३ वर्ष ननाघेको हुनुपर्ने जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता इनिस्पेक्टर लक्ष्मण ओलीले जानकारी दिनुभयो ।

दरखास्त दिनको लागि कम्तीमा ८ कक्षा वा सो सरह उत्तीर्ण भएको, नैतिक पतन देखिने फौजदारी अभियोगमा सजाय नपाएको, कुनैपनि राजनीतिक दल तथा आतङ्ककारी सङ्गठनको सदस्य नरहेको हुनुपर्ने उहाँले बताउनुभयो ।

जिप्रकाको सूचनाअनुसार भविष्यमा सामान्यतया सरकारी नोकरीको निमित्त अयोग्य ठहरिने गरी नोकरीबाट बर्खास्त नभएको, आँखा माइनस २ वा प्लस २ भन्दा बढी कमजोर नभएको तथा पुरुषको हकमा घटीमा उचाई ५ फिट २ ईन्च, छाती ३१–३३, तौल ५० के.जी. र महिलाको हकमा घटीमा उचाई ५ फिट, तौल ४२ के.जी. भएको हुनुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस

<