कविता प्रतियोगिताको नतिजा प्रकाशन,

प्रथम स्थान हासिल गरे भरत रोकायले

 

सल्यान, १५ असोज ।
कुमाख दैंनिक पत्रिकाको आयोजनामा भएको लिखित कविता प्रतियोगिताको नतिजा बिहीवार सार्वजनिक गरिएको छ ।

पत्रिकाले दोस्रो वर्ष पुरा गरी तेस्रो वर्ष प्रवेश गर्दै गरेको अवसरमा आयोजित प्रतियोगिताको शीर्षक कोरानासंग सम्बन्धित हुनुपर्ने, अन्यत्र प्रकाशित नगरेको हुनुपर्ने र निश्चित समयभित्र पठाईसक्नुपर्ने भनी समयसीमा तथा नियमहरु निर्धारण गरिएको थियो ।

त्यस्तै कम्प्यूटर टाईप गरेको वा हस्तलिखित दुवै हुन सक्ने भनी जानकारी गराईएको थियो ।

सूचनाप्रविधिको सहायतामा कविता संकलन तथा मुल्यांकन गरी नतिजा प्रकाशित गरिएको छ । कोरोना महामारीका कारण बाचन गर्न र दर्शक तथा श्रोताहरुहरुका बीच प्रत्यक्ष बाचन गर्ने अवसर भने मिलेको छैन ।

विशेष गरी शीर्षक, शब्द संयोजन र कविताको भावको आधारमा नतिजा प्रकाशन गरिएको छ । निश्चित आधार तोकिए अनुसार जम्मा ८ वटा कविता मात्र मुल्यांकनमा समावेश गरिएका थिए ।

उक्त लिखित कविता प्रतियोगितामा ‘अब अर्को युद्ध लडा’ैं भन्ने शीर्षकमा कविता लेखेर दार्मा गाउपालिका निवासी भरत रोकाय ‘एक्शन’ प्रथम भएका छन् ।

कविता यस्तो रहेको छ ।

  • आकास रोइरहेको छ
    धर्ति चिच्चाईरहेको छ
    रङ्गिन संसार
    रङ हिन भएको छ
    सङ्लो पानी बोकेर
    पोखिने कञ्चन खोलाहरु,
    छहराहरु
    किटाणुका किट बोकेर
    मिश्रित भैरहेछन जिवाणु संग
    स्वदेशी स्वादिष्ट भोज गर्न पाईने
    स्वादिष्ट भोजनालयहरु
    स्वादहीन भएका छन ,
    स्वच्छ गन्ध बोकेर हिड्ने
    हावा पनि
    गन्धहीन भएको छ
    घर घरका
    ढोकाहरू बन्द छन्
    एउटा अनौठो
    त्रास छ मृत्युको
    अलिकती चियाएर हेर्छु बाहिर
    दिउसै सुतेको देख्छु शहर
    सुन्छु
    यो जगतै चिच्याएको आवाज
    सुनामी ऊठेर
    किनार भत्काउथ्थो
    भूईचालोले घरहरु भत्काउथ्यो
    हवा हुरि मडारिएर
    शहर भत्काऊथ्यो
    तर यति वेला नियतीले,
    मान्छेको शरीर र मन भत्काएको छ
    एक्लै एक्लै रोएका दृश्यहरुमा
    भावनाको सगरमाथा पग्लीएर
    जलाम्य छ ।
    यस्तो लागीरहेछ
    अब छिट्टै धर्ती मानव विहीन हुनेछ
    मुसा र बादरहरुको धर्ती हुनेछ ।
    स्याल र व्बासाहरूको पनि देश हुनेछ
    माछाहरू निडर पौडनेछन
    चराहरू निःसन्देह उड्ने छन
    पृथ्वी चलाउने पालो जनावरहरुको हुनेछ ।
    मानव सभ्यता र विकासका
    सबै प्रमाण हरू मेटिनेछन
    धर्ती पुरै हरियो हुनेछ
    समुन्द्र र आकाश सफा हुनेछ
    मौसम बातानुकुलीत भएर
    ग्लोबल वार्मिङ हूनेछैन
    यो धर्ती अति सुन्दर हुनेछ
    जसरी थियो पहिले पनि,
    अफसोच
    यति बेला सुन्दर पृथ्वी हेर्न
    मानव आखाहरू हुनेछैनन ।
    आऊ मान्छेहरु हो
    यो भयानक समय
    डरलाग्दा रात का प्रहरहरु र
    बिषादी वोक्ने हावा विरुद्ध
    अति प्रेमले अति जतनले
    मानवता मुटु भित्रै राखेर
    संहार बोकेर मातीरहेको
    कोरोना संग अब अर्को युद्ध लडौं ।।

त्यस्तै कोरोनाः ‘समस्या र समाधान’ शीर्षकमा कविता लेखेका बागचौर नगरपालिकाका तारादेव शर्मा, प्रदर्शन र कोराना शीर्षकमा कविता लेखेका छत्रेश्वरी गाउँपालिकाका खड्क शाहीले दोस्रो स्थान प्राप्त गरेका छन् ।

त्यस्तै दार्मा गाउँपालिका निवासी रञ्जना चन्द ठकुरीको कोरोनाः ‘असर, उपाय र पाठ’
शीर्षकको कविता तेस्रो स्थानमा परेको छ ।

त्यस्तै राधा ढकाल,  निराजन थापा, इश्वरी शर्मा र लक्ष्मि शर्माका कविताहरु समावेश गरिएका थिए ।

कविता प्रतियोगिताको मूल्यांकनका लागि साहित्यका विभिन्न विधामा कलम चलाउदै आएका सल्यान जिल्लाका अग्रज व्यक्ति एबं जनकल्याण मा.वि.का प्र.अ.डा.पूर्ण भण्डारी पंकज, शिवजन मा.वि. शीतलपाटीका शिक्षक शेरजंग शाह र राप्ती साहित्य परिषद् सल्यानमा लामो समयदेखि क्रियाशिल विष्णु शर्मा कडेलको निर्णायक भूमिका रहेको थियो ।

कवितामा प्रथम, दोस्रो र तेस्रो स्थान प्राप्त गर्ने सर्जकहरुलाई समय सन्दर्भ मिलाएर अर्को कार्यक्रममार्फत पुरस्कृत गरिने जानकारी प्रकाशक तथा सम्पादक गोविन्द शर्माले जानकारी दिएका छन् । छोटो समयमै पनि उक्त प्रतियोगिता सफल बनाउन सहयोग गर्ने सवैलाई उनले धन्यवाद् व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस