धर्म परिवर्तन यो देशको हितमा छैन

कुनै पनि देशमा आ–आफ्नै प्रकारको संस्कृति, परम्परा र मूल्य मान्यताहरु विकास भएको हुन्छ । जसको लामो इतिहास नै बनिसकेको हुन्छ । धर्मले संस्कार निर्धारण गर्छ, संस्कारले जीवनशैली निधारण गर्दछ । जीवनशैलिले उत्पादन र बजार समेत निर्धारण गरेको हुन्छ । यसलाई खल्बल्याउन खोज्नु भनेको एउटै परिवारका सन्तानलाई भिन्न गराएर वा आपसमा लडाएर फाईदा लुट्न खोज्नु हो । हामी नेपालीहरु विभिन्न जातजाति र धर्म मान्ने भएपनि आजसम्म मिलेर बसेका छौं । जसको बर्चस्व छ, उसलाई पनि सम्मान गरेका छौं र अल्पमतमा रहेकाहरुलाई पनि संरक्षण गर्ने संस्कार बसेको छ । तर जवर्जस्त रुपमा बहुमतमा रहेकाहरुलाई अल्पमत बनाएरै छाड्छौं र तीनलाई कुल्चेर अगाडि बढ्छौं भन्ने कसैले कुदृष्टि राख्छ भने त्यो असफल नै हुन्छ । अहिलेको अवस्था त्यतैतिर सोझिदैछ । एकथरी मानिसहरु बजारमा बस्तुभाउको खरिदविक्री झैं तिम्रो भन्दा हाम्रो धर्म राम्रो, तिम्रो भन्दा हाम्रो संस्कार राम्रो, तिम्रा भन्दा हाम्रा मूल्य मान्यता उत्कृष्ट, तिम्रो देवता भन्दा हाम्रो देवता ठूला भन्ने जस्ता कुराहरु प्रचार प्रसार गरेर अरुलाई होच्याउदै अगाडि बढ्न खोज्ने र अरुधर्मप्रति आलोचना गर्न थालेका छन् । यो भनेको मिलेर बसेका नेपालीहरुलाई एकताबद्ध हुनै नदिने विदेशी षड्यन्त्र हो । आफ्नै धर्म, संस्कृति र संस्कारले पुरै संसार ढाक्नुपर्छ भन्ने साम्राज्यबादी र विस्तारबादीहरुको षड्यन्त्र हो । भर्खरै मात्र आफ्नो सनातन धर्म त्यागेर अन्य धर्म अंगालेका र त्यहाँका सवै कुराहरु बुभिसकेकाहरुको समेत भनाई यस्तै पाउन सकिन्छ ।
धर्म परिवर्तनले परिवारभित्र बेमेल बनाएको छ, समाजमा छिमेकी छिमेकीबीच द्वन्द्व निम्त्याएको छ , एकअर्कामा बैमनश्यता कायम गरेको छ । अरुको धर्म धर्म नै होईन भनेर जसरी समाजमा वितृष्णा फैलाउने काम हुँदैछ, त्यसले स्वयं धर्म परिवर्तनकारी र राज्यको लागि पनि घातक हुने निश्चित छ । धर्म समुदायको जीवनशैली समेत भएकोले यहाँको उत्पादन, रोजगार, सम्यता र संस्कृतिका लागि पनि अनिवार्य जस्तै बनेको छ । हिन्दु धर्मका केहि यस्ता पर्वहरु छन्, जसले सिंगो नेपाल र नेपालीहरुलाई जोडेका छन् । बैशाखमा नयाँ वर्ष शुरु हुन्छ । नयाँ वर्षको समयमा सवैले मिठो खाने र राम्रो लगाउने संस्कार बसेको छ । शनिवार पिपलपुजा, सोमबारे औंशी व्रत, एकादशी ब्रत, बैशाख शुक्ल तृतिया अक्षय तृतिया, जेष्ठमा दशहरा पर्व, श्रवन महिना हरिया चुराले महिलाहरु सिंगारिने समय हो । भाद्र शुक्ल तृतीयामा पर्ने महिलाहरुको तीज पर्वले खानपान र पहिरनको व्यापार ह्वात्तै बढ्छ । भाद्र कृष्ण जन्माष्टमी, गाइजात्रा, कृष्ण जन्माष्टमीले सवैलाई खुसी बनाएको हुन्छ । आश्विनमा सम्पूर्ण नेपालीहरु रमाउने दशै पर्व जसमा अरबौं रुपँयाको व्यापार विजनेश पनि भईरहेको हुन्छ । कार्तिकमा तिहार पर्व जसमा देश विदेशबाट हर्षोल्लासपूर्वक नेपालीहरु भित्रिन्छन् र आन्तरिक तथा बाह्य रुपमा अरबौंको व्यापार विजनेश समेत भईरहेको हुन्छ । तिहारपछि छठ पर्वले राजधानी काठमाडौं र तराईका जिल्लाहरुमा झिलिमिलि नै बनाएको हुन्छ । त्यसपछि मंशिर शुक्ल पञ्चमी विवाह पञ्चमी, पौष शुक्ल पुर्णिमादेखि स्वस्थानी ब्रत, माघमा सरस्वती पुजा, फाल्गुन होलिपुन्हि, चैत्रमा रामजानकी लगायतका पर्व, संस्कार, रितिथिति, परम्परा र मुल्यमान्यताअनुरुप अधिकांश नेपालीहरुको दिनचर्या वितेको छ ।
यसरी निष्कर्षमा भन्नुपर्दा वर्षभर नै हाम्रो जीवनशैली सनातन हिन्दु संस्कार, मूल्यमान्यता, परम्परा, मेलापर्व, नाचगान, भजनकृतन, मठमन्दिरमा पुजाआजा लगायतका क्रियाकलापसंगै रमाईरहेको अवस्था छ । यस्तो अवस्थामा यी सवै वाइयात हुन् र हाम्रो छुट्टैखालको संसार निर्माण गर्छौ भन्नु र आजसम्म मानिआएका, रमाईरहेका, पुज्दैआएका धर्म, संस्कार र मूल्यमान्याविरुद्धमा जानु परिवार, समाज र देश कसैको पनि हितमा छैन । बरु केहि कमी कमजोरी भए सुधार गर्ने हो, तर मातृशक्ति र मातृभूमिप्रति घात गर्दै जन्म दिने आमा बाबु र जन्मभूमिप्रति तिरस्कार गर्न हाम्रो नैतिकताले दिदैन । हामी सवै एक भएर अगाडि बढौं । हाम्रा शत्रु भनेका रोग, भोक, अशिक्षा, गरिबी जस्ता कुराहरु नै हुन् । तर आमाबुवा र जन्मभूमि हाम्रो शत्रु होइन र हुनै सक्दैन । अतः धर्म परिवर्तन यो देशको हितमा छैन । आफ्नै धर्म, संस्कृति र मूल्यमान्यता कायम राख्दै समृद्धिको दिशामा लम्किन सक्छौं ।

प्रतिक्रिया दिनुहोस

<