जिम्मेवारीबाट कोही पनि पन्छिन मिल्दैन

यतिवेला विश्व नै कोरानो भाइरस (कोभिड—१९) को त्रासले आक्रान्त छ । चिकीत्सक र स्वास्थ्यकर्मी त्रसित छन् । विरामी ओसारपसार गर्ने एम्बुलेन्स चालकहरुलाई पनि यतिवेला निकै सकस् छ । स्वास्थ्य चेक जाँच देखि लकडाउनलाई प्रभावकारी बनाउने काममा सुरक्षा निकाय पनि निकै खटिरहेको अवस्था छ ।
तर जिम्मेवारीबाट भाग्नेहरु पनि छन् । कतिपय सरकारी र निजी क्षेत्रका स्वास्थ्य सेवाप्रदायक निकायले न्यूनतम मानवीय मूल्य र मान्यतासमेत लत्याएका छन् । सरकारले देशका विभिन्न ठाउँमा खडा गरेका क्वारेन्टाइन र कोरोना विशेष अस्पतालमा पुगेका बिरामीले अपमान भोग्नु परेको छ । स्वास्थ्यकर्मी र अस्पतालको चरम लापर्बाहीले यही साता बुटवलस्थित कोरोना अस्पतालमा सामान्य ज्वरो आएका बिरामीले अनाहकमा ज्यान गुमाउनु पर्यो । दुबईबाट फर्केका पाल्पा रिब्दीकोटका बाबुराम थापा ज्वरो आएको भन्दै स्वयं अस्पताल पुगेका थिए । परीक्षणबिना नै कोरोना लागेको आशंकामा बुटबलस्थित उक्त अस्पतालमा राखियो तर चिकित्सक र स्वास्थ्यकर्मीले मानवीय व्यवहारसमेत देखाएको पाइएन । चिकित्सकको लापरबाहीका कारण उनको उपचारबिनै मृत्यु भयो । मृत्युपछि कोरोना परीक्षण गर्दा नेगेटिभ आयो । उनको मृत्युको छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउनुपर्छ ।

कोरोनासँग लड्न सरकारलाई पर्याप्त तयारी गर्ने समय थियो । स्वास्थ्य उपकरण (किट, पीपीई, मास्क आदि) बन्दोबस्त गर्ने, ती उपकरण देशभर वितरण गर्ने, विभिन्न ठाउँमा आइसोलेसन वार्ड बनाउन पर्याप्त समय हुँदाहुँदै पनि सरकारले चासो देखाएन । स्वास्थ्य उपकरण खरिदमा उठेका प्रश्नले सरकार समयमा सक्रिय नहुनुको कारण स्पष्ट भयो । एक अर्बभन्दा बढीको खरिदमा ५५ प्रतिशत अनियमितता भएको प्रारम्भिक तथ्यांकले देखाएका छन् । बजार भाउभन्दा सात गुनासम्म महँगोमा सामान खरिद गरिएका समाचार सार्वजनिक भए । आम नागरिकको जीउज्यान जोखिममा परेका बेला सरकार कमिसन खेलमा लिप्त हुनु कुनै दृष्टिले पनि क्षम्य हुन सक्दैन ।
अहिलेको महामारी नेपालको सन्दर्भमा बाजा बजाएरै आएको हो । चिनमा महमारी फैलिएपछि नै सतर्क हुनुपर्नेमा त्यसो देखिएन । अहिले आवश्यक पीपीई अभावमा चिकित्सक र स्वास्थ्यकर्मी उपचार गर्न डराईरहेका छन् । यहाँनेर सरकार नै जिम्मेवारी देखिएन । उता ज्वरोका विरामी समेत उपचार गर्न डराउने चिकित्सक जिम्मेवारी देखिएनन् ।
इटालीमा ५० भन्दा बढी चिकित्सक कोरोनाकै कारण मृत्युवरण गर्न पुगे । यसबाट हामीले शिक्षा लिनुपथ्र्यो ।
निजी अस्पतालको दुव्र्यवहार पनि सधैंका लागि स्मरणीय हुने भएको छ । राज्यले व्यवस्था गर्न नसकेका महँगा उपकरण राखी बिरामीबाट महंगो रकम असुल्ने निजी अस्पतालले पीपीई र किट छैन भन्दै बिरामीलाई छिर्न दिएका छैनन्, यो उनीहरुको गैरजिम्मेवारी पना हो । अब निजी अस्पत्ताल पनि राज्यको नियन्त्रणमा हुनुुपर्ने बेला आएको छ । त्यस्तै विश्व स्वास्थ्य संगठनको चेतावनीलाई व्यवास्ता गर्नले हाम्रो जस्ता देशले अँझ बढि दुुःख पाईरहेको अवस्था छ । यसमा कतिपय शक्ति राष्ट्रहरु पनि चुकेका छन् । अमेरिकाले एक महिनामा गर्न नसकेको कोरोना परीक्षण दक्षिण कोरियाले १० दिनमै गर्यो । यो सिकाई अरुलाई पनि हुन जरुरी छ । परीक्षण नै नगरी कोरोना छैन भन्ने, मृत्यु भएकाहरूको नेगेटिभ रिपोर्ट देखाउने, अस्पतालमा बिरामी भर्नै हुन नपाउने, भर्ना गरिएकालाई अपमानित गर्ने यस्ता कार्य निन्दनीय छन् । तसर्थ जनताको जीउज्यानको सुरक्षा गर्नुपर्ने दायित्वबाट राज्य विमुख हुनु हुँदैन । त्यति मात्रै होइन नेपालीहरु अहिले विभिन्न देशमा अलपत्र अवस्थामा छन्, सीमा क्षेत्रमा अलपत्र छन्, ती सवैको यथोचित व्यवस्थापन गर्न जरुरी छ । आ आफ्नो जिम्मेवारी सवैले पुरा गर्नैपर्दछ ।

प्रतिक्रिया दिनुहोस

<