युवाशक्तिलाई उत्पादन क्षेत्रमा आकर्षित गर्न कपुरकोटमा एक करोड ६ लाखको कार्यक्रम

किसानले पाए ट्यांकी, मिनि टिलर देखि बीउ र विषादी

सल्यान, १८ फाल्गुन ।
सल्यान गर्पाका किसानहरुलाई कृषि यन्त्र तथा सामग्रीहरु वितरण गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तर्गत कृषि ब्लक किसानहरुलाई आवद्ध किसानहरुलाई कृषि सामग्री वितरण गरिएको हो ।

कपुरकोट गाउँपालिका वडा नम्बर १ र २ का किसान समूहलाई ८५ प्रतिशत अनुदानमा ५३ वटा हिल ट्यांकी, ६ हजार मिटर पाईप तथा ५० प्रतिशत अनुदानमा १० वटा मिनि टिलर, तरकारिको बीउ एवम् किटनाशक र रोगनाशक विषादी वितरण गरिएको कृषि ब्लकका अध्यक्ष शेर बहादुर पुनले जनाएका छन् ।

सामग्री हस्तान्तरण गर्दै गाउँपालिका राष्ट्रिय महासंघका अध्यक्ष तथा कपुरकोट गाउँपालिकाका प्रमुख भिम बहादुर सेनले नयाँ ढंगबाट कम लागतमा बढि उत्पादन गर्नका लागि किसानलाई यस प्रकारको कार्यक्रम आवश्यक रहेको बताए । कृषि उत्पादन लागत घटाउन, युवाशक्तिलाई उत्पादन क्षेत्रमा आकर्षित गर्न र माटोको उत्पादकत्व बढाउन कृषि यन्त्र, उपकरण तथा उन्नत जातको बीउ आवश्यक रहेकोमा जोड दिदै उनले व्यवशायीक तरकारी खेतीबाट कपुरकोटको समृद्धि सम्भव रहेको बताए ।

जिल्ला कृषि विकास कार्यालय सल्यानका प्रमुख महेश आचार्यले प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तर्गत यस वर्ष कपुरकोट गाउँपालिकामा १ करोड ६ लाख ५० हजार रुपैयाँ बजेट विनियोजन भएको बताए । कपुरकोटमा ३ वटा ब्लक र ३ वटा तरकारि पकेट क्षेत्र घोषणा भई कार्यक्रम सञ्चालन भइरहेको जनाए ।

कृषि ब्लक कपुरकोट १ र २ मा ४० लाख रुपैयाँ बजेट रहेको जानकारी दिदै उनले १२ वटा प्लाष्टिक पोखरी, १७ वटा सिंचाई ट्यांकी, पानी तान्ने मोटर, वेर्ना उत्पादन गर्ने फलामे घर, ४६ वटा स्प्रे ट्यांकी, एक थान फुट स्प्रे, २ थान डिजिटल काँटा, जिल्ला वाहिरको एउटा भ्रमण र दुई वटा तालिम जस्ता कार्यक्रम यस वर्ष सञ्चालन हुँने बताए ।

कृषिमा आत्मनिर्भर बनाउन र उत्पादनलाई वृद्धि गरी निर्यात बढाउन कृषि क्षेत्रलाई ब्लक तथा पकेट क्षेत्रको रुपमा विस्तार गरी जिल्लाभर कार्यक्रम सञ्चालन भइरहेको प्रमुख आचार्यले जनाए ।

ब्लक तथा पकेट क्षेत्रहरुमा प्रविधि तथा प्राविधिक सहयोग, उत्पादन सामाग्री सहयोग, साना सिँचाई सहयोग, कृषि यान्त्रिकरण लगायतका कार्यक्रम रहेका छन् । यस कार्यक्रमको अनुगमन र कृषि उत्पादनसँगै कृषि उपजको बजारीकरणमा विशेष ध्यान दिनुपर्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस

<