बागचौरमा ‘भ्यु टावर’ बन्ने, परिकल्पना सहितको मार्गचित्र सार्वजनिक

फागुन १७, सल्यान ।

सल्यानको बागचौर नगरपालिकामा भ्यु टावर बन्ने भएको छ । नगरपालिकाको वडा नम्बर २ मा अग्लाटाकुरा भ्यु टावर तथा पार्क बन्ने भएको हो । डाँगी बन्धुहरुको उदगम स्थल रहेको यो ठाउँमा पर्यटकीय स्थल बनाउनको लागि भ्यु टावर बनाउन लागिएको हो । भ्युटावरको परिकल्पनाको डिपिआर भिडियो बुधबार एक कार्यक्रमका बीच सार्वजनिक समेत गरिएको छ । भिडियोमा विभिन्न सुन्दर बोट बिरुवाहरु, भवन, सौचालय, पदमार्गको सिढी, हेलिकप्टर अवतरण गर्ने मैदान र राष्ट्रिय भण्डा फरफराइरहेको भ्यु टावर लगायतका दृष्यहरु देखाइएको छ । भिडियो सार्वजनिक भएपछि बागचौर नगरपालिकाका नगरप्रमुख लोकमान बुढाथोकीले भ्यु टावर तथा पार्क निर्माणको लागि ६ करोडभन्दा धेरै रकम खर्च हुने बताएका छन् । उनले अबको ३ बर्ष भित्र यो काम सम्पन्न भइसक्ने बताए । यसको लागि प्रदेश र संघीय सरकारसँग बजेट बिनियोजन गर्न माग पनि गरिएको उनले बताए । प्रदेश र केन्द्र सरकारले बजेट नदिएमा काम हुन्छ की हुदैन भन्ने पत्रकारको प्रश्नको जवाफ दिदै मेयर बुढाथोकीले भने– “हामी पहिले दुईवटै सरकारसँग आग्रह गर्छौँ, यदि दुवैबाट सहयोग नभएपनि नगरपालिकाको बजेटबाटै काम पुरा गछौँ । एक बर्षमा २ करोडको काम हुनेगरी ३ वर्षमा काम पुरा गरिन्छ ।”
भ्यु टावर बनाउनुको मुख्य उद्देश्य भनेको यस क्षेत्रलाई चिनाउनु र आन्तरिक तथा बाहृय पर्यटक भित्र्याएर आम्दानीको श्रोत बनाउनु रहेको मेयर बुढाथोकीले बताए । पार्क निर्माणमा भौतिक निर्माणका सबै बस्तुहरु बनाउन सकिए पनि बोट बिरुवाहरु हुर्काउन मुख्य चुनौती भएको उनको भनाई छ । अहिले यसको काम थालनीको लागि सतहको काम भएको उनले बताए । जसको लागि फिल्ड खनिएको छ । फिल्ड निर्माणमा करिब ५० लाख जति रकम खर्च भएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस

<