प्रदेश नं.५ को राजधानी दाङ नै उपयुक्त छ ।

प्रदेश नं.५ को राजधानी दाङ नै उपयुक्त छ ।

यतिवेला फेरी ५ नं. प्रदेशको राजधानीबारे गर्मी चढ्न थालेको छ । कतै सुझाब संकलनका कुरा, कतै प्रदेश संसदको अंकगणितको कुरा त कतै राजनैतिक नेतृत्व र पहुँचको कुरा । यसरी विभिन्न दृष्टिकोणबाट प्रदेश ५ को राजधानीबारे आंकलन गर्न थालिएको छ । तर एकथरी नेतृत्वले दाङलाई राजधानी नबनाउन संविधानसभादेखि नै षडयन्त्र गरिरहेको अवस्था छ । दाङ राजधानी हुने हो भने मुख्य मन्त्री, मन्त्री या सिनियर नेता बन्ने पालो छिटो आउदैन, आफूले राज गर्न पाईदैन भनेर नै दाङलाई राजधानी नबनाउने दाउमा छन् । नेपालको भू बनोट अनुसार उत्तर दक्षिण मिलाएर प्रदेशहरु विभाजन गर्नुपर्नेमा फरक खाले बनाइयो । पहिचान, पायक, सुरक्षा, बजार , भौगोलिक दुरी र केन्द्र मिलाएर राजधानी बनाउनुपर्नेमा पहिचान र आधारहरुको गलत अर्थ लगाईयो र त्यसो हुन दिईएन ।
दाङलाई राजधानी बनाउनुपर्ने आधारहरु अहिले पनि प्रशस्त छन् । साविक राप्ती अंचलका जिल्लाहरुको लागि अहिले पनि दाङ नै केन्द्रविन्दु पर्दछ । सल्यान र दाङ अभिन्न अंग जस्तै हुन् । पूर्वि रुकुमको लागि पनि दाङ नै पाईक पर्छ । प्रादेशिक सीमा रेखा कोर्दैमा दाङसितको निकटता घटेको छैन । रोल्पाली र प्यूठानी जनताको लागि पनि दाङ नै पाईक पर्छ । उता दक्षिण पश्चिम क्षेत्रमा रहेका बाँके र बर्दियाको लागि पनि दाङ नै केन्द्रविन्दु पर्दछ । कपिलबस्तु बीच भागमा पर्दछ । कपिलबस्तुका जनतालाई बुटवल या दाङ जता राजधानी भएपनि खासै फरक पर्दैन । अहिले ५ नं. प्रदेशमा रहेका अन्य जिल्लाहरुको लागि भने बुटवल पाईक पर्छ । रुपन्देही, नवलपरासी र अर्घाखाँची लगायतका जिल्लाहरुको लागि बुटवल पाईक पर्छ । पाईकको हिसावले बुटवल पनि राजधानी बन्नुपर्ने ठाउँ हो तर अन्य कारणहरुले बुटवल राजधानी बन्नुपर्ने त्यति आधारहरु छैनन् । लुम्बीनीको विकास राजधानी नबनेपनि हुन्छ । औधौगिक क्षेत्र राजधानी नबनेपनि हुन्छ । बुटवल त्यसै पनि विकासले धेरै अगाडि बढिसकेको ठाउँ हो । तर राजधानी बन्न सुरक्षाको दृष्टिकोणबाट असम्भव छ । भारतसितको सिमाना नजिकै छ । प्रदेश राजधानी सुरक्षित हुनुपर्छ । फराकिलो भूभाग हुनुपर्छ । भारतसितको खुला सीमानाका कारण भोलि राजधानीबासी असुरक्षित हुनेछन् । भारतको पहिलो निसाना प्रदेशमाथि विभिन्न प्रकारले प्रभाव जमाउदै आफ्नो कब्जामा लिने वा आफूले भनेजस्ता नेतृत्वका लागि लविङ गर्ने क्रम बढ्छ ।
दाङ सवैको लागि केन्द्रविन्दु पर्छ भनेर सल्यानीहरुले पनि संघर्ष, नाराबाजी, जुलुस गरेकै हुन् । जनता स्वतस्फूर्त रुपमा सडकमा निस्केकै हुन् । करीब महिनादिन आन्दोलन गरेका थिए । सल्यानको साविकको काप्रेचौर गा.वि.स. र हालको बन्गाडकुपिन्डेको तल्लो भेगका लागि दाङ केहि अपाइक छ ता पनि बाटो राम्रो बनाएको अवस्थामा दाङ नै उपयुक्त हुनेछ । कालिमाटी रामपुरदेखि दाङ जोड्ने बाटो राम्रो बनाएको खण्डमा सल्यानका कुनै पनि भूभागलाई दाङ अपाइक हुदैन । करीब ७५ प्रतिशत सल्यानीहरुको व्यापार बिजनेस्, घुलमिल, रहनसहन दाङसितै जोडिएको छ । करीब २५ प्रतिशत सल्यानीहरुका घरघडेरी, विहावारी नातासम्बन्ध दाङतिरै जोडिएको अवस्था छ । बन्गाडकुपिन्डे, काप्रेचौरबासी र कुमाखका केहि भूभागबाहेक अन्य भूभागका जनता ५ पटक दाङ पुग्नेवेला एकपटक मात्रै सुर्खेत पुगेको अवस्था छ । प्रादेशिक राजधानी सूर्खेत हुँदैमा सल्यानीहरुको पहुँच त्यता बढेको छैन । सल्यानीहरुलाई  पाइक परेजस्तै दाङ जिल्ला रोल्पा, रुकुम लगायतका माथि उल्लेख गरिएका सवै जनताको लागि पाईक पर्दछ । दाङ निकै फराकिलो भूभाग छ, सुरक्षित छ, धेरैको पाईक पर्ने केन्द्रमा छ, त्यसैले दाङ प्रादेशिक राजधानी बन्नैपर्ने ठाउँ हो । बरु प्रादेशिक संरचना नै हेरफेर गर्न वा प्रदेश नै थप गर्न सकिन्छ । साँगुरो भूभाग र असुरक्षाका बीच पनि राजधानी बनाउनै पर्ने अवस्थामा बुटवल पाईक पर्नेजति त्यतैतिर मिलाउन सकिन्छ । दाङलाई केन्द्रविन्दु पार्ने अर्को प्रदेश निर्माण हुन्छ । अहिले कुनै कारणले भएन भनेपनि कालान्तरमा यो नै सर्वोतम हुनेछ ।

प्रतिक्रिया दिनुहोस

<